आफ्नो प्रतिगामी कदमलाई टिकाउन गालीगलौजमा उत्रिए ओली

काठमाडौँ ।  दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि झन् संकटमा पर्दै गएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना निर्णयहरूको बचाउ गर्न विपक्षी गठबन्धनका नेताहरूमाथि मात्र होइन, संसद् र सर्वोच्च अदालतको नेतृत्वप्रतिसमेत गालीगलौज र आक्षेप लगाउन थालेका छन् ।

उनको स्वभावै तिखो बोल्ने हो तर पछिल्ला दिनमा बोलीको लय झन् बदलिएको छ । जबकि धेरैपटक बोल्दा र लेख्दा प्रयोग गर्ने भाषाको शिष्टताप्रति उनी नै बुद्धिजीवी, लेखकलगायतलाई प्रशिक्षणको शैलीमा सिकाउन खोज्थे ।

ओलीको बोलीको सीमाको कुन तहमा पुगेको छ भन्ने पछिल्लो उदाहरण हो– उनले आफ्नो विरोधी कित्तामा रहेका नेता, सर्वोच्च अदालतका न्यायाधीश र संसद्का सभामुखप्रति सोमबार गरेको टिप्पणी । एमाले नेता–कार्यकर्ताले आफ्नो वैचारिक धारको आदर्श व्यक्ति मानेका मदन भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रत्येक व्यक्तिको नाम किटेर टिप्पणी गरेका थिए । भण्डारी आफ्नो राजनीतिक एजेन्डा बोकेर प्रतिस्पर्धाबाट विपक्षीमाथि विजय हासिल गर्नुपर्छ भन्ने मान्यता राख्थे तर आफूलाई तिनै भण्डारीको खास उत्तराधिकारी ठान्ने ओली राजनीतिक सीमा नाघ्दै व्यक्तिगत टिप्पणीमा चर्को रूपमा उत्रिए ।

उनको शब्दवाणको मुख्य निसाना माधव नेपाल र पुष्पकमल दाहालमा थियो जोसँग उनी निकट विगतसम्म काँध मिलाएर कम्युनिस्ट आन्दोलनलाई समाजवादमा लैजाने सपना देख्थे । ओलीले सोमबार कांग्रेस र कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र सर्वोच्च अदालतका न्यायाधीशमाथि टिप्पणी गरे ।

ओलीले कसलाई के भने ?

नेपाल– ‘पुच्छर, लाजसरम पचेको’

प्रधानमन्त्री ओलीले झन्डै ५ दशकदेखि एउटै राजनीतिक आन्दोलन र पार्टीमा बसेर काम गरेका नेता माधवकुमार नेपाललाई ‘पुच्छर’ को सज्ञा मात्र दिएनन्, ‘लाजसरम पचेको’ समेत भने । नेता नेपालका विषयमा उनले भने, ‘एक ढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन् । पुच्छर भएपछि जन्तु पूर्वतिर फर्कियो भने त्यो पश्चिमतिर हुन्छ । पश्चिमतिर फर्कियो भने पूर्वतिर हुन्छ । पछाडि–पछाडि सँगै हुन्छ त्यो । यतायता जाऔं भन्यो भने यतै पछिपछि लाग्छ ।’

केही दिनअघि नेता नेपालले आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको अभिव्यक्ति दिएका थिए । त्यसक्रममा नेता नेपालले आफूले विपक्षी गठबन्धनलाई धोका दिएर नहिँड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपालको त्यही अभिव्यक्तिलाई ओलीले जवाफ दिए । ‘अहिले धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर । मलाई बहुला कुकुरले टोकेको छ र ?’ ओलीले भने, ‘कोही काम नपाएर, कोही मान्छे नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?’ नेता नेपालले कहिले अध्यक्षको प्रस्ताव राखेको त कहिले प्रधानमन्त्रीको प्रस्ताव राखेको भनेर आफ्नो महत्त्व बढाउन खोजेको ओलीको टिप्पणी थियो । ‘माधव नेपाल भन्ने एक जना कांग्रेसका पछाडि कुद्ने मान्छे छन् । नेपालको राजनीतिमा उनलाई सबैजसोले चिन्छन् । असाध्यै चर्चा भइरहेको छ । मान्छे यतिसम्म पनि पतन हुँदो रहेछ,’ उनले भने, ‘आफ्नो सरकार ढाल्ने र प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने कम्युनिस्ट आन्दोलन सिध्याउने, अर्कोतर्फ लाग्ने अनि एमालेको वरिष्ठ नेता भनेर हिँड्ने यस्तो लाजसरम पचेको मान्छे ?’

दाहाल– ‘छेपारो, नील वर्णस्य शृंगाल’

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई रङ फेर्ने ‘छेपारो’ र संस्कृत नीतिकथा ‘नील वर्णस्य शृंगाल’ (नीलो रङको स्याल) को चरित्रसँग तुलना गरे । ओलीको आक्रोश दाहालले राष्ट्रपतिप्रति दिएका पछिल्ला अभिव्यक्तिसँग बढ्ता थियो । ‘प्रचण्डले अस्ति राष्ट्रपतिभन्दा त राजै राम्रो के–के भने क्यार… मान्छेले छक्क माने । किन छक्क मान्ने ? छेपारोले रङ एक–एकछिनमा फेर्छ त । खैरो मुढामा गयो भने खैरो–खैरो खालको रङ बनाउँछ । हरियोमा गयो भने हरियो–हरियो रङ बनाउँछ । अलि कालो बोक्रो भएको ठाउँमा पुग्यो भने कालो–कालो बनाउँछ,’ ओलीले भने । केही दिनअघि दाहालले राष्ट्रपतिले यति धेरै असंवैधानिक काम गरेको र त्यसले राष्ट्रपतिको मान राजाहरूको जति पनि हुन नसकेको भन्दै तुलना गरेका थिए ।

कांग्रेसजस्तो पार्टीले दाहाललाई गुरु थापेर हिँडेको ओलीको टिप्पणी थियो । आफैंले पार्टी एकता गरेर माओवादी आन्दोलनका सबै क्रियाकलापलाई वैधानिक अनुमोदन गरेका ओलीले सोमबार सशस्त्र द्वन्द्वकालका घटनासमेत खोतले । ‘कहिले विदेशबाट हतियार ल्याएर नरसंहार गर्छन् । नेपाली जनताले दुःखले थुपारेको पैसा बैंकका बैंक लुटेर सखाप पार्छन् । स–साना कृषि सहकारी लुटेको हुन्छ । संरचना ध्वस्त पारिदिएको हुन्छ । निर्दोष, बालबालिकासमेत ध्वस्त पार्ने अमानवीय जघन्य अपराध गरेको हुन्छ,’ दाहाललाई इंगित गर्दै ओलीले भने, ‘कहिले बाँदरमुढे घटाउँछ । मानिसलाई महिनौंसम्म नियन्त्रणमा लिएर जघन्य अपराध गर्छ ।’

पहिलोपटक प्रतिनिधिसभा विघटन भएपछि दाहालले ओलीको विकल्पमा देशी/विदेशी सबैका लागि आफूहरूले ‘कम्फर्टेबल’ हुने खालको सरकार बनाउने धारणा राखेका थिए । ओलीले सोमबार त्यो प्रसंग पनि उप्काए । ‘कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छन्, कहिले यस्तो हुँदा पनि हाम्रा छिमेकी के हेरेर बसेका छन् भन्छन् । कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छन् । अहिले गणतन्त्रभन्दा त राजतन्त्र नै राम्रो भन्छन् । कहिले यो राष्ट्रपति भन्ने संस्थाभन्दा त राजा नै ठीक भन्छन् । यो भन्नु कुन ठूलो कुरा हो र प्रचण्डलाई ? अगाडि बस्दैमा आफूले नेतृत्व गरेको भन्ने हुँदैन, गोरु हलीको अगाडि नै हुन्छ ।’

देउवा– ‘प्रचण्डपथको यात्रामा’

नेकपाको एकीकरण भंग हुनुअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग ओलीको विशेष खालको सम्बन्ध थियो । सत्ता र विपक्षी दलका नेताहरूको गठजोडले राजनीतिक चर्चासमेत पाउँथ्यो । तर अहिले ओली देउवाप्रति पनि उत्तिकै आक्रोशित छन् । उनले सोमबार देउवाले राजालाई आफ्नो सत्ता बुझाएकोदेखि आफ्नो हत्या गर्ने योजना बनाएर प्रचण्डपथको हिंसात्मक बाटोमा हिँडेको समेत आरोप लगाए । ‘प्रचण्डपथमा हिँडेपछि कांग्रेसका नेताहरू नै नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने आफैं नाथुराम गोड्से हुने भन्ने तहमा पुगेका छन् । त्यो भनेको प्रचण्डपथ नै अँगालेको हो,’ ओलीले भने, ‘यसै त अराजनीतिक, अस्थिरताको खेती, देश कता जान्छ भन्ने कुराको मतलव छैन । त्यो कुरामा पुग्ने भनेको स्वाभाविक रूपमा प्रचण्डपथमै पुग्नु हो ।’

कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले गत महिना वाग्मती प्रदेशसभामा अहिलेको नेतृत्वलाई विस्थापित गर्न आफू ‘नाथुराम गोड्से’ बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । भारतीय स्वतन्त्रता संग्रामका नेतृत्वकर्ता महात्मा गान्थीको हत्या गरेका नाथुराम गोड्सेको प्रसंग वैद्यले उठाएपछि विरोध भएको थियो । वैद्यले आफूले गल्ती बोलेको भन्दै माफी मागिसकेका छन् । यही प्रसंगलाई ओलीले आफ्नो हत्या गर्ने प्रयत्नमा कांग्रेस रहेको भन्ने संकेत गरेका हुन् । ओलीले देउवाको प्रधानमन्त्री बन्ने उत्कट अभिलाषाका कारण कांग्रेसले लोकतान्त्रिक बाटो बिराएको आरोप लगाए ।

देउवालार्ई साथ दिनेहरूलाई ओलीले ‘जाली फटाहा’ को संज्ञा दिए । ‘प्रधानमन्त्री हुने उत्कट इच्छाले शेरबहादुरजीले लोकतान्त्रिक मार्ग छाड्नुभयो । केही जाली फटाहा टिपेर कृत्रिम र अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री बन्न खोज्नुभयो,’ उनले भने, ‘संसद्बाट बनेको भए हुन्थ्यो, जनतामा जाने बाटो अवरोध गरेर अन्तैबाट प्रधानमन्त्री बनाउने ?’ त्यस सन्दर्भमा ओलीले २०५९ असोज १८ र २०६१ माघ १९ का घटनाक्रम पनि सम्झिए । ‘जनतामा जाने कुरालाई कांग्रेसले कू भन्यो । जनतामा जानु कू हो भने २०१७ सालको अभ्यासचाहिँ लोकतान्त्रिक हो ? कांग्रेसले कू भनेको के हो बिर्सिसकेछ,’ ओलीले भने, ‘शेरबहादुरलाई सोध्न चाहन्छु, माघ १९ के थियो ? असोज १८ के थियो ?’

सर्वोच्च अदालत/न्यायाधीश– ‘हिंसा दुरुत्साहनका साक्षी’

सर्वोच्च अदालतले एकपछि अर्को गर्दै असंवैधानिक कदम खारेज गरिदिएपछि ओलीको निसानामा सर्वोच्च अदालत र त्यहाँका न्यायाधीशहरू पनि परेका छन् । अदालतमा सेटिङ भइरहेको आशंकासमेत गर्दै आएका ओलीले वकिलहरूले हत्या प्रसंगका उदाहरण दिँदै इजलासमा गरेका तर्कहरूलाई अदालतले किन नरोकेको भनी प्रश्न गरे । ‘फ्रान्स र बेलायतमा राजाहरू किन काटिन्थे, अहिलेका प्रधानमन्त्री र राष्ट्रपतिले गरेजस्तै गर्दा रहेछन् र पो काटिँदो रहेछ । अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ । यो कुरा प्रचण्डका एक जना कार्यकर्ताले सर्वोच्च अदालतमै भने । कांग्रेसका कार्यकर्ताले नाथुराम गोड्से म बन्छु भनेर अर्को ठाउँमा भने,’ ओलीले भने, ‘आश्चर्य लाग्छ, सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन । यस्तो हिंसालाई दुरुसाहन अदालतमा गर्नु हुन्न अथवा विद्वान् अधिवक्ताजी आफ्नो वक्तव्य सम्हालेर राख्नुहोस् भनेर के न्यायमूर्तिहरूले त्यो सुझाव पनि राख्न सक्नुहुन्न र ?’

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस गर्ने क्रममा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति तथा प्रधानमन्त्रीका भूमिका र कामकारबाहीको उदाहरण दिने क्रममा फ्रान्स र बेलायतका घटनाहरूको प्रसंग उप्काएका थिए ।

सभामुख– ‘प्रचण्डका कार्यकर्ता मात्र’

अग्निप्रसाद सापकोटा सभामुख नियुक्त हुनुअघिदेखि नै ओलीसँग उनको सम्बन्ध राम्रो थिएन । प्रतिनिधिसभा नै भंग गरेपछि त ओली र सापकोटा झगडिया भइहाले । ओलीले सभामुखलाई संसदीय मर्यादा राख्न नसकेको आरोप लगाउँदै आएका छन् । सोमबार भने उनले विपक्षी गठबन्धनलाई संसद् भवन परिसरमा अन्तरक्रिया र भेटघाटका लागि हल र कोठा उपलब्ध गराएको भन्दै सभामुखको आलोचना गरे । त्यहाँ भइरहेका पत्रकार सम्मेलन र अन्तरक्रियालाई ओलीले ‘तथाकथित बकवासी’ को संज्ञा दिए । ‘संसद् भवनलाई संसदीय क्रियाकलापबाहेक अरूमा प्रयोग गर्न दिइँदैन । तर तथाकथित बुद्धिजीवी भेला, तथाकथित पत्रकार सम्मेलन, तथाकथित नागरिक समाजका अन्तरक्रिया… के अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसद्ले भाडामा लिएको यस खालका बकवासी कामका लागि हो ?’

ओलीले भने, ‘यसै गर्ने हो भने अरूले किन नपाउने ? प्रचण्डका कार्यकर्ता सभामुख हुनेबित्तिकै अनि प्रचण्डले जे भन्यो त्यो कानुनभन्दा माथि अभ्यासभन्दा माथि हुने ? यसैमा मेरो टाउको दुखाइ होइन । मेरो चिन्ता लोकतन्त्रको भविष्यप्रति हो । यस अभ्यासले लोकतन्त्रको भविष्य कहाँ पुर्‍याउँछ ?’

छुद्र बोल्नेले देश चलाउन सक्दैन : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘छुद्र भाषा बोल्नेले देश चलाउने नसक्ने’ टिप्पणी गरेका छन् । ओलीले सोमबार विपक्षी गठबन्धनका नेताहरूप्रति लक्षित अभिव्यक्ति दिएपछि सोमबारै बुद्धिजीवीहरूसँगको अन्तर्क्रियामा देउवाले ओलीप्रति संकेत गर्दै यस्तो बताएका हुन् । ‘सम्मान गर्न सक्ने व्यक्तिले मात्र देश चलाउन सक्छ, छुद्र बोल्नेले देश चलाउँछ ?’ उनले भने । उनले राष्ट्रपतिले आफ्नो गरिमा कायम गर्न नसकेको बताए ।

ओलीले अझै षड्यन्त्रका गोटी चाल्न सक्छन् : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा टिकिरहनका लागि अझै पनि षड्यन्त्रका गोटी चाल्न सक्ने खतरा कायमै रहेको बताए । उनले अदालतको निर्णयमाथि प्रभाव पार्ने षड्यन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाएका हुन् । उनले सत्ताकेन्द्रित भएर नेपाली राजनीतिमा ठूलो चलखेल भएको गन्ध आफूले पाएको दाबी पनि गरे । प्रधानमन्त्री ओली इतिहासमै सबैभन्दा कलंकित र बदनाम भएको तथा राजनीतिक भविष्य ओरालो लागिसकेकाले अन्तिम समयसम्म पनि षड्यन्त्रका गोटीहरू चाल्न सक्ने खतरा रहेको उनले दाबी गरे । प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउने, तर्साउने र कुनै न कुनै रूपले दबाबमा पारेर, खैजेडीमा पारेर निर्णयमाथि प्रभाव पार्ने खुला षड्यन्त्र गरेको उनले आरोप लगाए ।

‘केपीजी अब सिद्धिनुभयो र नेपालको इतिहासमा सबैभन्दा कलंकित र बदनाम प्रधानमन्त्रीका रूपमा, सबैभन्दा निरंकुशको पनि तुच्छस्तरको निरंकुश, झूट, बेइमानबाहेक केही नजान्ने निरंकुशका रूपमा नेपाली इतिहासमा बदनाम भएर जाने हुनुभयो,’ उनले भने, ‘मलाई त कहिलेकाहीं केपीजीलाई यसो सम्झिँदाखेरी पनि कठै विचरा भन्न मन लाग्छ ।’

ओलीका अभिव्यक्ति मर्यादाहीन : नेपाल

एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले मर्यादाहीन अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । उनले सधैं संस्कार र मर्यादाका कुरा गर्नेले नै अरूको मर्यादा राख्न नसकेको बताए । उनले नेतृत्वको कार्यशैलीलाई नै कार्यकर्ताले अनुशरण गर्ने भन्दै प्रधानमन्त्री ओलीका आइतबार र सोमबारका भाषणहरू रेकर्ड गरेर राख्न सुझाव दिए । ‘हामी आफैं संस्कृति र संस्कारको कुरा गर्छौं, अरूको मान–सम्मानको कुरा गर्छौं तर आफैं त्यस्तो गर्छौं । यसमा नम्बर वान कोही छ भनेर खोज्दाखेरी आजहिजोको हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्ति । उहाँको भाषण तपाईंहरू सबैले रेकर्ड गरेर राख्नुहोला । ध्यान दिन लायक छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार