गणेश अधिकारी,
पोखरा । पोखरामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । पाँच विद्यार्थी संगठनले देशब्यापीरुपमा आयोजना गरेको मसाल जुलुश प्रदर्शनका क्रममा पृथ्वीनारायण क्याम्पस अगाडि झडप भएको हो ।
विद्यार्थीहरुले पीएन क्याम्पस भित्रबाट मसाल जुलुस निकालेका थिए । प्रहरीले विद्यार्थीको हातबाट मसाल खोस्न खोज्दा झडपको स्थिती पैदा भएको हो । त्यसलगत्तै विद्यार्थीहरुले सडकलाई चक्काजाम समेत गरेका थिए ।
कार्यक्रमलाई संयुक्त विद्यार्थी संगठनका पृथ्वीनारायण क्याम्पसका विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए ।अखिल (छैठौं) का सोमनाथ अधिकारी, अनेरास्ववियुका सन्तोष न्यौपाने, अखिल (क्रान्तिकारी)का कासी पौडेल , नेबिसंघबाट विधान लामिछाने र समाज बादीका तेजेन्द्र भट्टराईले सम्बोधन गर्नुभएको हो ।
सम्बोधनको क्रममा विद्यार्थी नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम, संसद विघटन, स्वच्छाचारी तरिकाले संविधान मिच्ने काम, निरंकुश कदम, पेट्रोलियम पदार्थलगायत खाद्यान्न तथा उपभोग्य वस्तुको मूल्य वृद्धि फिर्ता लिन माग गरेका थिए ।
साथै जनतालाई अबिलम्ब कोभिड खोप उपलब्ध गराउन, निजी स्कुल तथा शैक्षिक माफियाहरुले बन्दाबन्दी समयमा उठाएको शुल्क तुरुन्त फिर्ता लिन, चुरेका ढुंगा, गिट्टी निकासीको निर्णय र काली गण्डकी डाइभर्सनको निर्णय फिर्ता लिनसमेत माग गरेका थिए ।
















