३ वाम १ नेका विजयी

कास्की निर्वाचन क्षेत्र २ मा भट्टराई अधिकारी

पोखरा । कास्की निर्वाचन क्षेत्र २ बाट नेकपाकी विद्या भट्टराई अधिकारी प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएकी छन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खेमराज पौडेलको भन्दा ८ हजार ४ सय ३ मत बढी ल्याएर भट्टराई सांसद बनेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत ल्याउँदा पौडेलका लागि १५ हजार ९ सय ९१ मत खसेको थियो ।

उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको एकमात्र क्षेत्र हुनुका साथै दिवंगत रवीन्द्र अधिकारीले तीन पटकसम्म जितेको ठाउँ भएकाले यहाँको मतपरिणाममाथि सबैको चासो थियो । यस क्षेत्रबाट अधिकारी दुइटै संविधानसभाको निर्वाचन र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । अधिकारी पत्नी भट्टराईले उपनिर्वाचन जितेसँगै श्रीमानको विरासत जोगाएकी छन् ।

उपनिर्वाचनमा समाजवादीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत ल्याए । राप्रपाका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत पाए । साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मतमा चित्त बुझाउनुर्पयो ।

बागलुङ क्षेत्र नं. २ (ख)मा शाही

बागलुङ । गण्डकी प्रदेशसभाका लागि बागलुङ क्षेत्र नं. २ (ख)को उपनिर्वाचनमा वाम गठबन्धनको उम्मेदवार खिमविक्रम शाही विजयी भएका छन् । राष्ट्रिय जनमोर्चाको तर्फबाट उनी उम्मेदवार थिए । शाहीले कांग्रेसका जितबहादुर शेरचनलाई पराजित गरेका हुन् ।

शाहीले ११ हजार २ सय ३५ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी शेरचनले ९ हजार १ सय ३८ मत ल्याएका थिए ।

यो क्षेत्रमा ३५ हजार १ सय ८४ मतदाता थिए । शनिवार भएको निर्वाचनमा २१ हजार ४ सय जना मात्र मतदानमा सहभागि भएका थिए । ८ दल र २ स्वतन्त्र सहित १० उमेदवार भएपनि अन्यले नगन्य मत ल्याए ।

राजमोका जिल्ला सचिवालय सदस्य शाही बिद्यार्थी र युवा संगठनमा पनि सक्रिय थिए । गत वर्ष यहाँका टेकबहादुर घर्तीको निधन भएपछि उपनिर्वाचनमा शाहीलाई अगाडि सारिएको हो ।

दाङ क्षेत्रनम्बर ३ (ख)मा खत्री

घोराही । दाङ क्षेत्रनम्बर ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा निवार्चित भएकी छन् ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजार बढी मत अन्तरले हराएकी हुन् ।

ओलीले २४ हजार २ सय ८६ मत ल्याइन् । कांग्रेस उम्मेदवार आचार्यले १९ हजार १ सय ८२ मत पाएका छन् ।

२०७४ सालको चुनावमा पनि सो क्षेत्रबाट तत्कालीन एमालेका उत्तरकुमार ओली प्रदेशसभा सदस्यमा विजयी भएका थिए । अहिले उपनिर्वाचनमा निर्वाचित विमला उत्तर कुमारकी जीवनसंगीनी हुन् । उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन भएपछि सो भएको स्थानमा उपनिर्वाचन भएको हो ।

दाङ क्षेत्रनम्बर ३ (ख) मा कूल ६८ हजार ७ सय १९ मतदाता भएकामा ४५ हजार ७ सय १८ मत खसेको थियो । ७ सय ९७ मत बदर भएको छ ।

भक्तपुरमा भँडेल

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ४४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।

२०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा (एमाले) बाट हरिशरण लामिछाने निवार्चित भएका थिए । लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको हो ।

http://nepaliekta.com/%E0%A4%85%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B7-%E0%A4%95%E0%A5%87%E0%A4%B8%E0%A5%80%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%A7%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A4%B5/

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार