निरू सारू ##
हे…कोरोनाकै कहर छ अहिलेको तिजमा नि
त्यसैमाथि महिला हिंसा मुटु ब्युँझाउनी ।।
हे… आधा धर्ती आकाश ढाकेका नारीलाई
पुरुषसरह अधिकार छैन बरिलै ।।
हे…नारीमुक्ति आन्दोलन कति भए कति,
अझै पनि पीडित नै छौ नारी जाती ।।
हे…नारी पुरुष बराबरी भन्न कति सजिलो,
व्यवहारमा ल्याउँन परे मान्छन् बोझिलो ।।
हे…अधिकार पायौँ भन्छन् हेर त नारीले,
छोरा र छोरीमा विभेद गरिने ।।
हे…संस्कार र संस्कृतिको दिएर बहाना,
नारीलाई घरमै थुन्ने यिनको चाहना ।।
हे…कति चेली बलात्कार त कति चेली मारिए ,
कति चेली घरभित्रै बन्दक पारिए ।।
हे…सबै दिदीबहिनी एकजुट भएर
नबसौँ है घरभित्र पीडा सहेर ।।
हे…कहिलेसम्म घरमा बस्ने चुलोचौको गरेर
मुक्तिको लडाइँ लडौँ अघि बढेर ।।
हे… पुरुषसरह कानुन छ हाम्रो संविधानमा
त्यहीँ कानुन प्राप्त गर्न लडौँ समाजमा ।।
हे… राष्ट्रपति महिला भए न्यायाधीश महिला,
समाज आफै बदलिन्न सोच बदलौँ पहिला ।।















