धनगढी । राष्ट्रिय जनमोर्चा, कैलालीले मंगलबार धनगढीमा विरोध प्रदर्शन गरेको छ । राजमोले देशब्यापीरुपमा आयोजना गरेको एमसीसी विरुद्धको प्रदर्शन अन्तर्गत धनगढीमा विरोध जुलुश र सभाको आयोजना गरिएको हो ।

राजमो नेता कार्यकर्ताहरुले धनगढीको मुख्य बजारमा विरोध जुलुस प्रदर्शन गरका थिए । त्यसक्रममा ‘राष्ट्रघाती एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय हस्तक्षेप बन्द गर, राष्ट्रिय जनमोर्चा जिन्दावाद, नेकपा (मसाल) जिन्दावाद’ लगायतका नारा लगाइएको थियो ।

जुलुश प्रदर्शनपछि धनगढीको पार्कमोडमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य तथा सूदुपश्चिम अध्यक्ष नन्दराज भट्टले नेपालमा कुनै पनि हालमा एमसीसी पास हुन नदिने भन्दै नेपालको स्वाधिनतामाथि गिद्देदृष्टि नलगाउन अमेरिकी ‘साम्राज्यवाद’ लाई चेतावनी दिनुभयो ।

राजमो कैलालीका जिल्ला सल्लाहकार शेरबहादुर विकको अध्यक्षता, जिल्ला सदस्य तथा अखिल नेपाल युवक संघ सूदुरपश्चिम प्रदेश अध्यक्ष मेयरजंग शाहीको सञ्चालन तथा राजमो जिल्ला सचिवालय सदस्य तथा धनगढी उपमहानगरपालिका अध्यक्ष डबल बोगटीको स्वागतबाट सभा अघि बढेको कार्यक्रममा राजमो जिल्ला सचिव जगत प्रसाद जोशी अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा सूदुरपश्चिमका अध्यक्ष हेमराज भट्टले पनि सम्बोधन गर्नुभएको थियो ।


















