कविता : क्षति

– रेशम बिसी

लौ निःशब्द भए यहाँ बचनले, ती शब्द तिता थिए।
तितै भो तनभित्रको मन सबै, खोल्नै नसक्ने भए।।
बारम्बार नसोध जल्छ मुटुमा, आगो लगायौ तिमी ।
कस्तो दानवता रचेछ दिलमा, मान्छे जलायौ तिमी ।।

मान्छे राक्षस नै रहेछ गुणले, भो आज ज्यानै लिने।
कस्तो जन्म भएछ दुष्ट दिनकै, सन्त्रास फैलाउने।।
यस्तो आज भयो ? सोध्छ मनले, त्यो ज्ञान कैले म¥यो ।
मेरो धीर शरीर नै अधर भो, यो ज्यान साह्रै जल्यो।।

कस्तो सङ्कट भो अहो दिनदिनै, हालेर घेरा झनै ।
शङ्का भो झन् सोध्छ लौन मनले, के हुन्छ होला भनी ।।
आगो बल्छ, जल्छ यो मनभरि, लाग्यो डढेलो बनी ।
फैलियो यो मनमा निभाऊँ कसरी, दन्क्यो झनै दन्दनी ।।

मेरो स्वच्छ सचित्र यो जगतले, नै चोट खायो सधैँ ।
मा¥यो दानवले र आज धरती, रोयो रुवायो खुबै ।।
छाती दुख्छ असाध्य यो छिनछिनै, आँखा रसायो घरी ।
कालो बादलबाट झर्छ तनमा, बर्सिन्छ वर्षा झरी ।।

गर्दैछन् किन आज यो शहरमा,काला अनेकौँ छल।
मर्दैछन् किन निर्मला जलधरा, पानी नदीका जल।।
भो निर्लज्ज अहो नि रुन्छ धरती, नौलाख ताराजति ।
आहो मानवता मरेर कि गयो, संस्कारमा भो क्षति ।।
(शार्दूलविक्रिडित छन्द)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार