धनबहादुर गाहाप्रति राजमो पाल्पाद्वारा श्रद्धाञ्जली

पाल्पा । राष्ट्रिय जनमोर्चा पाल्पाका जिल्ला सचिव एवम् मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता केशव गाहाका बुवा धनबहादुर गाहाप्रति राजमो पाल्पाले श्रद्धाञ्जली अर्पण गरेको छ । धनबहादुरको निधन भएको १० औँ दिनमा राजमोले स्मृति सभाको आयोजना गरी सम्मान प्रकट गरेको हो ।

राजमो सदस्यसमेत रहेका धनबहादुर विगत एक वर्षदेखि पेटको समस्याबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको उपचारको क्रममा गत भदौ २७ गते निधन भएको थियो । मंगलबार आयोजित स्मृति सभामा राजमो केन्द्रीय सदस्य सोमकुमार कार्कीले उहाँको योगदानबारे चर्चा गर्नुभयो । नेता कार्कीले भन्नुभयो, ‘धनबहादुर गाहा राजमोका एक इमान्दार र असल कार्यकर्ता हुनुहुन्थ्यो ।

शोक सभामा अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे, राजमो जिल्ला कोषाध्यक्ष टिकाराम पौडेल, जातीय समता समाजका अध्यक्ष धनकुमार ठडराई र राजमो वडा समितिका अध्यक्ष गम्भिर आलेलगायतले शोक मन्तव्य व्यक्त गर्दै गाहाको स्मरण गर्नुभयो ।

राजमो जिल्ला अध्यक्ष विशाल दर्लामीको अध्यक्षता तथा उत्तम ठडराइको सञ्चालनमा शोक सभा सम्पन्न भएको थियो । सचिव केशव गाहाले पुरानो संस्कारलाई तोड्दै प्रगतिशील ढंगले बुबाको अन्तिम संस्कार गर्नुभएको थियो । उहाँले परम्परागत काजक्रिया समेत गर्नुभएन ।

शोक सभामा सचिव गाहाले भन्नुभयो, ‘बुवा आमालाई जीवित छँदैमा माया र सम्मान गर्नुपर्छ । उहाँहरुको सेवा सत्कार गर्नु पर्छ । तर मृत्यु भएपछि गरिने काजक्रिया जस्ता रुढीवादी संस्कारको कुनै अर्थ छैन । यस्ता परम्परालाई बदल्न हामी सबैले प्रयास गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार