जनक बिसी,
कोचिन (दक्षिण भारत) । रोजगारीको क्रममा दक्षिण भारतको कोचिन पुगेका प्युठान र रोल्पाका चार जना युवा नोभेम्भर १७, २०१६ का दिन चलिरहेको वाहन समुद्रमा खसी मृत्यु हुन पुगेपछि त्यसमध्ये दुई जनाका परिवारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोचिन नगर समितिको पहलमा ८७ लाख क्षतिपूर्ति दिलाइएको छ ।
मृतकमध्ये दुई परिवारलाई २०७८ कात्तिक ५ गते तदनुसार अक्टोबर २२, २०२१ का दिन मूल प्रवाहका नगर सचिव जनक बिसी, दक्षिण भारत महिला विभागकी क्षेत्रीय सदस्य जानकीदेवी बिसी र नगर उपाध्यक्ष बाबुराम केसीको उपस्थितिमा सुनिल स्मृति गाउँपालिका घोडागाँउ (रोल्पा) निवासी मृतकका बुबा चोपबहादुर खत्री, आमा गङ्गाकुमारी खत्री र पत्नी मधु खत्री (विष्ट) लाई ४३ लाख ९० हजार ७२ रुपियाँ हस्तान्तरण गरिएको छ ।
त्यसैगरी, स्वर्गद्वारी नगरपालिका खाल निवासी चाँदनी घर्तीमगरलाई ४३ लाख १२ हजार चार सय ९९ रुपियाँ हस्तान्तरण गरिएको छ । यसरी दुवै परिवारलाई ८७ लाख तीन हजार दुई सय १९ रुपियाँ हस्तान्तरण गरिएको छ ।
स्मरण रहोस्, पाँच वर्षअघि घटेको उक्त घटनामा कोचिन नगर समितिले खोजबिन गरी मृतकको दाहसंस्कार गरेको थियो । सो घटनालाई न्यायालयसम्म पु¥याएपछि अदालतले क्षतिपूर्ति दिनू भनी दिइएको आदेशअनुसार मृतकका परिवारलाई सो रकम प्रदान गरिएको हो ।















