काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले पाँच दलीय गठबन्धनले निर्माण गरेको उच्चस्तरीय समन्वय समिति सरकार सञ्चालनको विषयसँग सम्बन्धित रहेको स्पष्ट पार्नुभएको छ ।
कतिपय सञ्चारमाध्यमले सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति बनेको भन्ने समाचार प्रकाशित गरेपछि युगदर्शनले राखेको जिज्ञासामा उहाँले सरकारसम्बन्धी समितिमा राजमो नबस्ने बताउनुभयो ।
‘सरकार सञ्चालन वा सरकारलाई सहयोग गर्ने संयन्त्रमा राष्ट्रिय जनमोर्चा बस्दैन । त्यो सरकारमा बसेका चार दलको कुरा हो’ पौडेलले भन्नुभयो, ‘पाँच दलीय गठबन्धन जे कारणले बनेको थियो, त्यसैका लागि समन्वय समिति बनाइएको हो । यसले संविधान कार्यान्वयन, राष्ट्रियताको रक्षा तथा जनजीवीकाको लागि काम गर्नेछ ।’
उपाध्यक्ष पौडेलले न्यूनतम साझा कार्यक्रमको कार्यान्वयन, राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्षा तथा संस्थागत सुदृढिकरण, सुरक्षा, सुशासन, सेवा, विकास र संविधानअनुसार हुने चुनाव सफलतापूर्वक सम्पन्न गर्नु समन्वय समितिको काम भएको बताउनुभयो । त्यस सम्बन्धमा पाँच दलीय गठबन्धनले छिट्टै एक अपील पनि प्रकाशित गर्ने उहाँले जानकारी दिनुभयो ।
सत्तारुढ दलका नेताहरुले सरकार सञ्चालनसम्बन्धी राजनीतिक संयन्त्र बनाउन आग्रह गरेपनि आफूहरुले त्यसलाई अस्वीकार गरेको उपाध्यक्ष पौडेलले बताउनुभएको छ ।
‘सरकार कसरी सञ्चालन गर्ने, को को मन्त्री बन्ने, कहाँ कसलाई नियुक्ति गर्ने जस्ता विषय सत्तारुढ दलको सरोकारका विषय हुन् । त्यसखाले छलफलमा हामी सहभागी हुँदैनौँ’ पौडेलले भन्नुभयो, ‘त्यसकारण सरकार सञ्चालनका लागि बन्ने संयन्त्रमा राष्ट्रिय जनमोर्चा नबस्ने हामीले स्पष्ट पारिसकेका छौँ ।’
सोमबार बसेको पाँच दलीय गठबन्धनको बैठकले ११ सदस्यीय समन्वय समिति बनाएको थियो । सो समितिमा राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सदस्य रहनुभएको छ ।
समितिमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला सदस्य रहनुभएको छ । यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष उपेन्द्र यादव सदस्य रहनुभएको छ भने ती दलले एक एक जनाको नाम पछि दिने बताएका छन् ।
समन्वय समितिको बैठकको संयोजन हरेक पार्टीले दुई–दुई महिना गर्ने सहमति भएको छ । त्यसअनुसार पहिलो बैठकको संयोजन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गनुहुने छ ।
समितिमा प्रधानमन्त्री देउवा भने बस्नुभएको छैन । तर, उहाँले हरेक बैठकमा आउने प्रतिवद्धता जनाउनुभएको छ । सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुनुहुन्छ ।















