राष्ट्रियसभा र उपनिर्वाचनमा पाँच दलले सहकार्य गर्ने

काठमाडौँ । प्रतिगमनको विरुद्धमा सहकार्य गरिरहेका पाँच राजनीतिक दलहरू राष्ट्रियसभाको चुनाव र उपनिर्वाचनमा मिलेर जाने भएका छन् ।

त्यस्तै, उनीहरूले आगामी आम निर्वाचनमा पनि सहकार्य गर्ने प्रारम्भिक समझदारीतर्फ अघि बढेका छन् ।

‘आज बालुवाटारमा बसेको बैठकमा आगामी राष्ट्रियसभाको चुनाव र उपनिर्वाचनमा मिलेर जाने निर्णय भएको छ’ राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले भन्नुभयो– ‘आगामी आम चुनावमा पनि मिलेर जाने मोटामोटी धारणा कायम भएको छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा २०७८ कात्तिक २२ गते साँझ बसेको पाँच दलसम्बद्ध समितिको बैठकले सो निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

सचिव पुरीले पाँचदलीय गठबन्धन निर्माणको पृष्ठभूमि, वर्तमानमा त्यसको औचित्य, जनतालाई दिनुपर्ने सेवासुविधा र राष्ट्रियस्तरको नीतिनिर्माण गर्दा सामूहिक निर्णयलगायतका विषयमा भोलि अपिल जारी गरिने जानकारी दिनुभयो ।

त्यसैगरी, आजको बैठकले गठबन्धनमा आबद्ध दलहरू सम्मिलित समन्वय समिति निर्माण गरेको उहाँले बताउनुभयो ।

समितिमा नेपाली काङ्ग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्ण सिटौला, नेकपा (माओवादी केन्द्र) बाट पुष्पकमल दहाल प्रचन्ड, नेकपा (एकीकृत समाजवादी) बाट माधवकुमार नेपाल, जनता–समाजवादी पार्टीबाट उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहनुभएको छ ।

समितिमा सरकारको प्रतिनिधिको रूपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहनुभएको छ ।

समितिमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाले एक एक सदस्य तोक्न बाँकी छ ।

बैठकमा राष्ट्रिय जनमोर्चाको तर्फबाट केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा सांसद दुर्गा पौडेल र केन्द्रीय सचिव हिमलाल पुरीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार