समन्वय समिति सरकारको संयन्त्र होइन, आपसी छलफल र विचार विमर्शद्वारा सहयोगको लागि हो ।

काठमाडौ कार्तिक 23 गते प्रतिगमन विरुद्धको सहकार्यको फैलिएको भ्रमबारे प्रस्ट पार्न राष्ट्रिय जनमोर्चाले एक वक्तव्य जारी गरि अहिले बनेको समन्वय समिति सरकारको संयन्त्र होइन, नभए पनि आपसी छलफल र विचार विमर्शद्वारा सहयोग पुर्याउन सक्नेछ छ । केन्द्रिय उपाध्यक्ष, प्रवक्ता तथा सांसद दुर्गा पौडेलद्वारा कार्तिक 23 गते प्रेस वक्तव्य जारी गरि सार्वजनिक जानकारी दिनु भएको छ ।
प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ ।

१. हिजो २०७८ साल कार्तिक २२ गते बसेको पाँच दलीय बैठकले गरेका कतिपय निर्णयहरूबारे उठेका प्रश्नहरूमा प्रकाश हाल्नका लागि यो वक्तव्य जारी गरिएको छ । १. हिजो बसेको पाँच दलीय बैठकले पाँच दलको गठबन्धनको कामलाई अरू व्यवस्थित र प्रभावशाली बनाउनको लागि एउटा समन्वय समिति बनाउने निर्णय गरेको छ । पहिले सरकारको सञ्चालनको लागि पाँच दलीय संयन्त्र बनाउने कुरा उठेको थियो । तर हाम्रो पार्टी सरकारमा सामेल नभएको हुनाले हामीले त्यस प्रकारको संयन्त्रमा नबस्ने कुरा स्पष्ट गरेका थियौँ । तर अहिले बनेको समिति सरकारको सञ्चालन सम्बन्धी संयन्त्र नभएको कुरा हामीले स्पष्ट गर्न चाहान्छौँ । कतिपय सामाजिक सञ्जाल, पत्र–पत्रिका वा व्यक्तिहरूले त्यो समितिलाई सरकारको सञ्चालन सम्बन्धी संयन्त्र नै भएको बताइरहेका छन् । तर त्यो भ्रामक टिकाटिप्पणी हो ।

२. आज बिहान कान्तिपुरको अन्तवार्तामा माओवादी नेता का. नारायणकाजी श्रेष्ठ (प्रकाश) ले पनि त्यो विषयमा प्रकाश हाल्दै त्यो समिति सरकारको संचालन सम्बन्धी संयन्त्र नभएको कुरा प्रष्ट गर्नु भएको छ ।

३. विघटित संसदको पुनस्र्थापना भएको भए पनि र ओली सरकार खारेज भएको भए पनि देशमा अझै प्रतिगमनको खतरा छ भन्ने हाम्रो स्पष्ट सोचाइ छ । ओलीले अहिले पनि संसदलाई असफल पार्न पूरै प्रयत्न गरिरहेका छन् । उनको योजना चुनावमा गएर दुई तिहाई बहुमत प्राप्त गर्ने र त्यसपछि संसदमा संविधान संशोधनका लागि प्रयत्न गर्ने नै रहेको छ । उनको कार्यशैलीमाथि विचार गर्दा उनले प्रतिगमनलाई मदत पुग्ने, राष्ट्रियतामाथि आघात पु¥याउने तथा देशलाई अधिनायकवादतिर लैजाने दृष्टिकोणले नै संविधानमा संशोधन गर्न प्रयत्न गर्ने नै बढी सम्भावना देखिन्छ । त्यसैले त्यस प्रकारको खतराबाट देशलाई बचाउन चुनावसम्म नै अहिलेको गठबन्धनको एकतालाई कायम राख्नुपर्ने आवश्यकता छ ।

४. कतिपय मानिसहरुले नेका, माओवादी समेतसित गठबन्धन गर्ने हाम्रो पार्टीको नीतिको पनि आलोचना गरेको देखिन्छ । वस्तुस्थितिको आवश्यकता अनुसार विश्वभरमा नै र नेपालमा पनि बेग्लै राजनीतिक चरित्र भएका अन्य राजनीतिक शक्तिहरूसित त्यस प्रकारको संयुक्त मोर्चा वा कार्यगत एकता गर्ने अभ्यास रहँदै आएको छ ।

५.यो इतिहासद्वारा प्रमाणित भएको कुरा हो कि २०४६ सालमा वामपन्थीहरूले नेका समेतसित कार्यगत एकता नगरेको भए निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थालाई समाप्त गर्नु सम्भव हुने थिएन । त्यसै गरेर २०६२÷०६३ सालमा वामपन्थी, नेका र मधेशवादीहरू समेतसित सहकार्य नगरेको भए प्रतिगमनलाई पराजित गर्नु र पछि संविधान सभाको चुनाव सम्पन्न गर्नु तथा राजतन्त्रलाई समाप्त गरेर गणतन्त्र कायम गर्नु सम्भव हुने थिएन । त्यही प्रकारले अहिले पाँच दलीय गठबन्धन नबनेको भए ओलीको प्रतिगमनलाई पराजित गर्नु सम्भव हुने थिएन ।

६. त्यसरी इतिहासका बेग्लाबेग्लै कालखण्डहरूमा विश्वभरमा र नेपालमा पनि संयुक्त मोर्चा वा कार्यगत एकताको पनि ऐतिहासिक महत्व रहने गरेको छ । प्रतिगमन पक्षधर वा पिछडिएको राजनीतिक सोचाइ भएका व्यक्तिहरूले नै संयुक्त मोर्चा वा कार्यगत एकता र तिनीहरूद्वारा प्राप्त उपलब्धिहरूको महत्व लाई ठिकसँग बुझ्न सक्दैनन् ।

७. हिजो बसेको पाँच दलीय बैठकमा उपनिर्वाचन वा राष्ट्रिय सभाका चुनावहरूमा मिलेर जाने सहमति भएको छ । हाम्रो स्पष्ट मत छ कि त्यसरी नै प्रतिगमनलाई पराजित गर्नु सम्भव हुनेछ । विभिन्न चुनाव वा आन्दोलनहरूमा भएका सहमतिहरूलाई दृढता र इमान्दारितापूर्वक पालन गर्ने हाम्रो पार्टीको इतिहास रहेको छ। तर हामीलाई यो कुराको पनि कटु अनुभव रहने गरेको छ कि स्वयम् वामपन्थी शक्तिहरुले पनि गतकालमा राष्ट्रिय सभा, संसद वा स्थानीय तहमा भएका कतिपय सहमतिहरूको उलङ्घन गर्ने गरेका छन् र सहमतिमा खडा भएका हाम्रो पार्टीका उम्मेद्वारहरू बाहेक अन्य पक्षहरूलाई मतदान गरेर सहमतिका उम्मेदवारहरुलाई पराजित र्ने पनि गरेका छन् ।

८. सँधै त्यस्तो हुने गरेको छ भन्ने हाम्रो निष्कर्ष छैन । तर कतिपय बेला त्यस्तो पनि हुने गरेको छ । तैपनि देशको राष्ट्रिय आवश्यकताअनुसार हामीले अन्य पक्षहरुसित पनि आन्दोलन वा चुनावमा सहमति गर्दै आएका छौँ । त्यही प्रकारले पाँच दलीय सहमतिलाई पनि इमान्दारितापूर्वक कार्यान्वय गर्ने हाम्रो प्रयत्न हुनेछ र त्यसरी नै पाँच दलीय एकतालाई कायम राख्नु तथा प्रतिगमनमाथि निर्णायात्मक विजय प्राप्त गर्नु सम्भव हुनेछ भन्ने हाम्रो विश्वास छ ।

९. हाम्रो पार्टी गठबन्धनको सरकारमा सामेल नभएपनि बाहिरबाट त्यसलाई समर्थन गर्ने हाम्रो नीति रहेको छ । त्यस अनुसार समन्वय समितिले पनि गठबन्धनको सरकारलाई सहयोग पु¥याउने प्रयत्न गर्नेछ । तर त्यसका साथै सरकारका गलत प्रकारका कार्यशैली वा क्रियाकलापहरूलाई संसदभित्र वा बाहिर आलोचना वा विरोध गर्ने हाम्रो नीति रहने कुरा पनि हामीले स्पष्ट गर्दै आएका छौँ । त्यसरी सरकारको नीति वा कार्यशैलीका नीतिहरूमा भएका गल्ती वा कमजोरीहरूलाई सुधार्न सकिन्छ र त्यसलाई (सरकारलाई) अरु बढी सहयोग पु¥याउन सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ । अहिले बनेको समन्वय समिति सरकारको सञ्चालनको संयन्त्र नभएपनि त्यसले आपसी छलफल र विचार विमर्शद्वारा सरकारलाई सहयोग पु¥याउन सक्नेछ भन्ने हाम्रो विश्वास छ ।

मिति : २०७८ कार्तिक २३ गते

  दुर्गा पौडेल उपाध्यक्ष, प्रवक्ता तथा सांसद

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार