कपिलवस्तु ।
अखिल नेपाल महिला संघका केन्द्रीय सल्लाहकार चन्द्रबदन श्रेष्ठको निधन भएको छ । ८० वर्षीय श्रेष्ठको दमका कारण आफ्नै निवास कपिलवस्तु, बाणगङ्गा–४ जितपुरमा २०७८ मङ्सिर १० गते निधन भएको हो । उहाँको आजै कपिलवस्तुस्थित लक्ष्मणघाटमा दाहसंस्कार गरिएको छ ।
नेत्री श्रेष्ठ करिब तीन महिना अघिदेखि बिरामी पर्नुभएको थियो । गत भाद्रमा करिब एक महिना कोभिडबाट संक्रमित हुनुभएको उहाँको धनगढी र बुटवलका विभिन्न अस्पतालमा उपचार गराइएको थियो । तर, कोभिडपछि स्वास्थ्यमा थप समस्या आएको थियो ।
सेती अञ्चल अस्पताल धनगढीमा उपचारपछि डिस्चार्ज भएकी श्रेष्ठलाई अक्सिजनको समस्याका कारण घरमै अक्सिजन सिलिन्डर राखेर उपचार भइरहेको थियो ।
उहाँ पञ्चायती कालदेखि नै निरङ्कुश तन्त्रका विरुद्ध संघर्ष गर्दै आएकी जुझारु चरित्रकी हुनुहुन्थ्यो । महिला आन्दोलनका अग्रज नेत्री श्रेष्ठले २०६२–०६३ सालको जनआन्दोलनमा कैलालीको धनगढीमा नेतृत्व प्रदान गर्नुभएको थियो । त्यसक्रममा उहाँ दुईपटक जेल पर्नुभएको थियो ।
श्रेष्ठ नेकपा (मसाल)मा आवद्ध रहेर लामो समयदेखि विभिन्न जनवर्गीय संगठनमा कार्यरत हुनुहुन्थ्यो । नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता छविलाल गैरेका अनुसार उहाँ नेकपा (मसाल) को पार्टी सदस्य हुनुहुन्थ्यो ।
उहाँ करिब एक दशकअघि कैलालीको धनगढी उपमहानगरपालिका–३ विशाल नगरबाट कैलालीबाट कपिलवस्तु बसाईं सर्नुभएको हो ।
उहाँको परिवारमा पति कृष्णमान श्रेष्ठका साथै तीन छोरी र एक छोरा रहनुभएको छ । उहाँको निधनप्रति नेकपा (मसाल) सम्बद्ध विभिन्न व्यक्ति, सुभेच्छुक तथा आफन्तले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।
















