चितवन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीति गर्ने व्यक्ति नसुध्रिएसम्म जनताले दुःख पाइरहने बताउनुभएको छ । शुक्रबार नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिँदै अध्यक्ष केसीले राजनीतिलाई सेवाको रुपमा नभइ पेशाको रुपमा अँगाल्दा जनता अप्ठेरोमा परेको बताउनुभयो ।
उहाँले राजनीतिक दलहरुले एक अर्कालाई खुइल्याउने र बदनाम गर्ने काम गरिरहेको भन्दै त्यसको दोष बाह्य शक्तिलाई दिएर उम्कन नपाइने बताउनुभयो ।
‘हामी राजनीतिक गर्ने व्यक्तिहरू नसुध्रीकन देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई अगाडि राखेर राज्य र जनताको स्वार्थलाई अगाडि राखेर हामीले राजनीति गरेनौँ, राजनीतिलाई विशुद्ध पेसाको रूपमा अपनायौँ भने नेपाली जनताले यस्तो अप्ठेरो अवस्था देखिरहन्छन्’ केसीले भन्नुभयो, ‘हामीले बाह्य शक्तिलाई दोष लगाउँछौँ । बाह्य शक्ति त खेल्छ त हामीले लडाई गर्नुपर्ने, हामीले एकले अर्कोलाई खुइलाउनुपर्ने, बदनाम गर्नुपर्ने, बाहिरकाले त्यही खोजिरहेका छन् ।’
अध्यक्ष केसीले नेपालमा गणतन्त्र धर्मनिरपेक्षता ल्याएको बताउँदै जसरी देश अगाडि बढ्नुपर्थ्यो त्यो नभएको बताउनुभयो । केसीले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा भएको विसङ्गतिको जिम्मा राजनीतिक पार्टीहरूले लिनुपर्ने बताउनुभयो । केसीले अहिले देशको अवस्था राम्रो नरहेको बताउनुभयो ।
‘संसदमा पनि राम्रो वातावरण छैन, निराशा छ । हामीले प्रजातन्त्रलाई यहाँसम्म ल्यायौँ’ केसीले भन्नुभयो, ‘संसदमा भएको किचलो, कार्यकारिणीतिरको सुस्तताले राम्रो संकेत गर्दैन। हाम्रो अत्यन्तै ठूलो परीक्षा भइरहेको छ, हामी मिल्नुको विकल्प छैन ।’
अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाभित्र भएको अस्तव्यस्तताको जिम्मा लिन आग्रह गर्दै देशमा भइरहेको अराजकता जनतामा रहेको नैरश्यताको कारण राजनीतिक दल भएको केसीको जिकीर थियो ।
उहाँले भन्नुभयो, ‘हामीले नेपालमा गणतन्त्र ल्यायौँ, धर्मनिरपेक्षता स्थापना ग-यौँ, हामी पटक पटक चुनावमा पनि गयौँ । अहिले मुलुक जसरी अगाडि बढ्नुपर्ने थियो त्यसरी गइरहेको छैन । संसद् अस्तव्यस्त छ । कार्यपालिका भित्र पनि राम्रो वातावरण छैन । न्यायपालिका भित्र पनि राम्रो स्थिति छैन निराशा छ । उही मैले भनेजस्तै वारीकाले पारीकालाई कालीपारी र पारीकाले वारीकालाई कालीपारी भनेजस्तै राजनीतिक पार्टीहरू एउटाले अर्कोलाई दोष लगाइरहेका छौँ । यो हाम्रो कारणले भएको हो भनेर हामी राजनीतिक पार्टीहरूले जिम्मा लिन सक्नुपर्छ ।’
अध्यक्ष केसीले जनताले कम्युनिष्टहरु मिलेको देख्न चाहेको पनि बताउनुभयो । उहाँले देशको अखण्डताका लागि सबै वामपन्थी तथा देशभक्त शक्तिहरु मिल्न सक्नुपर्नेमा पनि जोड दिनुभयो ।
‘सबै कम्युनिष्ट मिलुन् भन्ने चाहन्छन् जनता। कतिपय सिद्धान्त, व्यवहार र रणनीतिमा फरक पर्ने रहेछ’ उहाँले भन्नुभयो, ‘संघर्ष र एकता सँगै चलेको छ ।’
















