ने.क.पा. (मसाल) समन्वय समितिको नाममा क्रान्तिकारी लफ्फाजी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले बुटवलमा ‘ने.क.पा.(मसाल) समन्वय समिति’को नामबाट गरिएको आजको पत्रकार सम्मेलनले मसालसित कुनै सम्बन्ध नराख्ने स्पष्ट पारेको छ।

विभिन्न समयमा पार्टीबाट निष्काशित व्यक्तिहरूले आफ्नो फुटपरस्त उद्देश्यलाई केही वर्ष पहिलेदेखि सफल पार्नका लागि गरिएको अन्तिम प्रयासको रूपमा त्यो पत्रकार सम्मेलनको रुपमा व्यक्त भएको मसालले जनाएको छ।

लामो समयसम्म चुनाव उपयोग गरेका कारणले र जनसङ्घर्षको नीति लिएकोले मसाललाई दक्षिणपन्थी बताउँदै आएको सो समूहले पत्रकार सम्मेलनमा ‘चुनावलाई कार्यनीतिक र जनसंघर्षको बाटो आफ्नो कार्यक्रम हुने’ बताएको र यसबाट उनीहरूको क्रान्तिकारी लफ्फाजीको पर्दाफास भएको मसालले जनाएको छ ।

प्रवक्ता रामप्रकाश पुरीले प्रेशित गर्नुभएको विज्ञप्तिमा उनीहरूमा आत्मकेन्द्रित, महत्वाकांक्षा र नेतृत्वको कुण्ठाका कारणले पार्टीमा फुटपरस्तको बाटो लिएको कुरा छर्लङ्ग भएको बताउनुभएको छ।

वक्तव्यमा भनिएको छ :

‘बुटवलमा ने.क.पा.(मसाल) समन्वय समितिको नामबाट गरिएको आजको पत्रकार सम्मेलनप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ ।

उक्त पत्रकार सम्मेलनले हाम्रो पार्टी ने.क.पा.(मसाल)सित कुनै सम्बन्ध राख्दैन । विभिन्न समयमा पार्टीबाट निष्काशित व्यक्तिहरूले आफ्नो फुटपरस्त उद्देश्यलाई केही वर्ष पहिलेदेखि सफल पार्नका लागि गरिएको अन्तिम प्रयासको रूपमा त्यो पत्रकार सम्मेलनको रुपमा व्यक्त भएको कुरा स्पष्ट छ ।

यो कुनै लुकेको कुरा होइन कि हाम्रो पार्टीका विरुद्ध उनीहरूले विभिन्न फुटपरस्त अभियान चलाउँदै आएका थिए र त्यही सिलसिलामा त्यो पत्रकार सम्मेलन भएको छ । उनीहरूको राजनीतिक र सैद्धान्तिक समस्याबारे हामीले विस्तृत रुपले आगामी दिनहरूमा स्पष्ट गर्दै जाने छौँ । तर अहिलेलाई हामीले उनीहरूको पत्रकार सम्मेलनबाट कोही कसैलाई भ्रम नहोस् भन्ने स्पष्ट गर्दछौँ ।

लामो समयसम्म चुनाव उपयोग गरेका कारणले र जनसङ्घर्षको नीति लिएकोले उनीहरुले हाम्रो पार्टीलाई दक्षिणपन्थी बताउँदै आएका थिए । तर आजको आफ्नो पत्रकार सम्मेलनमा भने उनीहरुले चुनावलाई कार्यनीतिक रुपमा र जनसंघर्षको बाटो नै अहिलेको आफ्नो कार्यक्रम हुने बताएका छन् ।

यसबाट उनीहरूको क्रान्तिकारी लफ्फाजीको पर्दाफास हुन पुगेको छ । उनीहरूमा आत्मकेन्द्रित, महत्वाकांक्षा र नेतृत्वको कुण्ठाका कारणले पार्टीमा फुटपरस्तको बाटो लिएको कुरा छर्लङ्ग भएको छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार