मसाल विभाजन : एउटा बहुलट्ठीपन

नेकपा (मसाल)मा विभाजन ल्याउनको लागि विगत लामो समयदेखि ठूलो मेहनत भएको थियो । नेताकार्यकर्ताको सुझबुझका कारण हालसम्म विभाजन रोकिएको थियो । तर विभाजनको विरुद्धमा उभिएका कार्यकर्ताको प्रयत्न सफल हुन सकेन ।अन्ततः पार्टीबाट निष्काशित व्यक्तिहरुले नयाँ पार्टी घोषणा गरेका छन् । राष्ट्रिय भेला गरेर नयाँ पार्टी घोषणा गरिसकेर पनि हामीले पार्टी बनाएका होइनौं भनिरहेका छन् । त्योभन्नु निकै हास्यास्पद कुरा हो ।

पार्टीभित्र विगत लामो समयदेखि केन्द्रीय सम्पर्क केन्द्र बनाएको कुरा पत्रकार सम्मेलनमा स्वीकार गरेका छन् । हालसम्म त्यसलाई गोप्य राखिएको थियो । केन्द्रीय सम्पर्क केन्द्र अब ‘नेकपा (मसाल) केन्द्रीय समन्वय समिति’मा रुपान्तरण भएको छ । त्यही केन्द्रीय सम्पर्क केन्द्रले राष्ट्रिय भेलाको आयोजना गरेर पार्टी गठन गरेको कुरालाई अश्वीकार गर्ने कुरा इमान्दारिता होइन । हामीले नयाँ पार्टी घोषणा गरेका छौं, अब हाम्रो उद्देश्य यो हो, हाम्रा नीति र कार्यक्रमहरु यी हुन् भनेर जानु इमान्दारिता हो ।

पार्टीविभाजन हुनै हुँदैन भन्ने पनि होइन । दर्शन, विचार, सिद्धान्त, नीति, कार्यक्रम, संगठनात्मक प्रणाली आदि कुरामा मिल्नै नसक्ने गरी भिन्नता आयो भने पार्टी अलग हुनु राम्रो कुरा हो । यदि साथीहरुका दर्शन, विचार, सिद्धान्त, नीति, कार्यक्रम, संगठनात्मक पद्धतिहरु फरक छन् भने उनीहरुको पार्टी घोषणा कार्यक्रममा नेकपा (मसाल)का प्रवक्ता गएर शुभकामना दिंदा पनि फरक पर्दैन ।

उही विचार, उही सिद्धान्त, उही नीति, उही कार्यक्रम, उही संगठनात्मक प्रणाली अपनाएर पार्टी विभाजन गर्नु गम्भीर भुल र बहुलट्ठीपना हो । साथीहरुले अहिले त्यही बहुलट्ठीपना प्रदर्शन गरिरहेका छन । उनीहरुको क्रान्तिकारी लफ्फाजीको पर्दाफास भएको छ भनेर नेकपा (मसाल)का प्रवक्ताबाट जुन वक्तव्य प्रकाशित भएको छ, त्यो सही छ ।साथीहरुमा आत्मकेन्द्रित, महात्वाकांक्षा, नेतृत्वको कुण्ठाका कारण फुटपरस्त बाटो लिएका हुन् भनेर वक्तव्यमा भनिएको छ । कुरा त्यति मात्रै होइन, त्यो भन्दा अझै धेरै हो । साथीहरुमा देखा परेको कुरौटेपन, खुराफात, गालीगलौज, गैरराजनीतिक चरित्र, पार्टीले दिएका जिम्मेवारीहरुलाई पूरा गर्न नसक्ने गरी उनीहरुको क्षमतामा आएको ह्रास, बढ्दै गएको नैरास्यता, ग्लानी आदि धेरै कारणहरुले काम गरेको छ ।

पार्टी फुटेको हो कि होइन ?

कुरा प्रष्ट छ, पार्टी फुटाइएको हो । नेकपा (मसाल)बाट निस्कासित व्यक्तिहरुले २०७८ मंसिर ९ र १० गते चितवनमा राष्ट्रिय भेला सम्पन्न गरिसकेका थिए । मसालको विभाजन निश्चय पनि पार्टीका सम्पूर्ण नेताकार्यकर्तालाई पीडादायी हुनेछ । भविष्यमा उनीहरुले पनि त्यसको पीडा भोग्नेछन् ।

नयाँ पार्टी गठन गरेका साथीहरुले पार्टीले उनीहरुमाथि कारवाही गरेको आरोप लगाएका छन् । एकछिनलाई उनीहरुकै आरोपलाई सही मानौं । पार्टीले एकै पटक कसैलाई पनि कारवाही गरेको होइन । केही महिना निलम्बन गरेको कुरा उनीहरु आफैले सार्वजनिक गरेका थिए । निलम्बनको केही महिना पनि कुर्न किन सकेनन् ?पार्टीले जिम्मेवारी नदिएको अवधिसम्म काम नगरी बस्न साथीहरुलाई के कुराले बाधा हालेको थियो ? साथीहरुले केही महिना काम नगर्दा वित्तिकै क्रान्तिलाई ठूलै नोक्सान पुग्ने थियो ? कारवाही भएकामध्ये धेरै साथीहरुले पहिले पार्टीबाट ६ महिना, १ वर्ष विदा लिने गर्दथे । पार्टीको कारवाहीलाई विदाकै रुपमा लिएर उनीहरुले आफ्ना व्यक्तिगत कामहरु गर्न सक्दैन थिए ? पढेर, लेखेर, पार्टीको प्रचार कार्यमा लागेर, उत्पादनका केही काम गरेर बस्न सक्दैन थिए ? उनीहरुले त्यो काम गरेनन् । किनभने कुरा कारवाहीको मात्रै थिएन, कुरा साथीहरुको भित्र लुकेको नियतको थियो । नियत बोलीमा भेटिंदैन, व्यवहारमा देखिंदै जाने कुरा हो ।

साथीहरुको अहिलेको उद्देश्य पार्टीलाई आगामी चुनावमा जहाँ जसरी सकिन्छ, हराउने हो । त्यसको लागि साथीहरुले तयारी गरिसकेका छन् । नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने र चुनाव लड्ने । एउटै पार्टी दुई वटा भएर चुनाव लड्दा निर्वाचनमा हार्ने कुरा स्वभाविकै हुन्छ । यहाँ यो पनि उल्लेखनीय छ कि पार्टीले चुनावलाई रणनीतिक बनाएको हुनाले त्यसलाई कार्यनीतिक बनाउनको लागि पार्टीलाई दर्ता गर्ने बताएका छन् । साथीहरुको पार्टीले चुनावमा भाग लिंदा कार्यनीतिक हुने, राष्ट्रिय जनमोर्चाले चुनावमा भाग लिंदा रणनीतिक हुने ? यस्ता तर्कहरु गरेर दुनियाँलाई मुर्ख बनाउने प्रयत्न गरिरहेका छन् ।

पार्टीमा फरक मत हुँदा वित्तिकै पार्टी अलग गर्ने धेरै पुरानो रोग हो । अहिले पार्टीबाट अलग भएको समूहले जुनसुकै तर्क गरे पनि उनीहरुका कुराहरु पुष्टि हुन सक्ने आधारहरु छैनन् । एउटै विचार, सिद्धान्त, राजनीति र कार्यक्रमलाई अगाडि बढाउनको लागि पार्टी अलग बनाउनुपर्ने कुनै आवश्यकता थिएन । बहुमतको निर्णयलाई स्वीकार गर्ने कुरामा उनीहरु सैद्धान्तिक रुपमा सहमत छन् । तर व्यवहारमा त्यही कुरालाई कार्यान्वयन गर्ने गरेका थिएनन् । पार्टीले गर्ने गरेका सामान्य कारवाहीलाई सार्वजनिक गर्दै पार्टी खराब हो भनेर प्रचार गर्ने गरेका थिए । वास्तवमा कारवाही आफै सार्वजनिक गर्ने ठूलो विषय होइन ।उनीहरु आफैले मलाई कारवाही भयो भनेर बहादुरी प्रदर्शन गरिरहेका थिए । पार्टीको कारवाहीमा परेपछि बहादुरी प्रदर्शन गर्नु सही तरिका थिएन। कारवाही ठीक थियो कि बेठीक थियो भन्ने कुरा समयले पुष्टि गर्दै लैजान्छ । कतिपय कारवाही गलत रहेछन् भने पनि समयले पुष्टि गर्दछ ।पार्टीले गरेको कारवाहीलाई गलत पुष्टि गर्नको लागि नेताकार्यकर्ताले धैर्यता देखाउन सक्नुपर्दछ । यदि पार्टीले गरेको कारवाही गलत छ भने पार्टीभित्रै लड्न सक्नुपर्दछ । कारवाही गलत छ भनेर पार्टीभित्र सफाई दिन सक्नुपर्दछ । तर उनीहरुले पार्टीलाई गलत देखाउँदै आफू सही भएको सार्वजनिक गर्दै आएका थिए । साथीहरुमा धैर्यताको छेउटुप्पो पनि देखिएन । परिवर्तनको लामो यात्रामा हिंडेका साथीहरुले ६ महिना पनि कुर्न नसक्ने गरी कुन चाहिं ग्रन्थीले काम ग-यो भन्ने कुरा आफै जाँच गरेर हेर्दा पनि पत्ता लगाउन सक्नेछन् ।

गालीगलौजको नशामा डुबेपछि…

हाँक साप्ताहिक कब्जा गरिनु पार्टीमा सामान्य घटना थिएन । पार्टी निर्णयको गम्भीर उल्लंघन थियो । हाँक साप्ताहिक पार्टीको वैधानिक पत्रिका थियो र त्यही पत्रिकाले नेकपा (मसाल)को प्रचारकार्यमा प्राण धानेको थियो । पत्रिका सबैथोक होइन, तर पार्टीमा विचार प्रवाह गर्ने महत्वपूर्ण साधन भने अवश्य हो । हाँक साप्ताहिक व्यक्तिको नाममा रहेको पत्रिका थियो । तर व्यक्ति एक्लैको निर्णयले मात्रै हाँकसम्बन्धी पार्टी निर्णय उल्लंघन भएको थिएन । पार्टीभित्र रहेका धेरै साथीहरुको सहयोगकै कारण हाँकसम्बन्धी निर्णयको उल्लंघन भएको थियो ।

हाँक साप्ताहिकनेकपा (मसाल)विरुद्धको अखडा बनेको छ । पार्टीको वैधानिक पत्रिकालाई पार्टीविरुद्धको अखडा बनाइएपछि र त्यही अखडामा पार्टीका पूर्व पोलिटव्युरो सदस्यहरु, पूर्वकेन्द्रीय सदस्यहरु, वैधानिक मोर्चाका पूर्वप्रमुखहरुले लेखेका लेखहरु प्रकाशित भइरहेका छन् । नियोजित प्रकारले मसालका विरुद्धमा प्रहार गरिएको छ । सार्वजनिक रुपमा पार्टीका विरुद्धमा प्रहार गरिएपछि पार्टी कमजोर हुुन्छ भन्ने कुरा थाहा नभएको होइन ।

हाँक साप्ताहिकमा मसालका विरुद्धमा लेख्न सक्ने जति सबै लेखिसकिएको छ । त्यहाँ लेख्ने व्यक्तिहरु लेख लेख्दालेख्दै वाक्क दिक्क भइसकेका छन् ।किनभने तिनीहरुले पार्टी एकताको कुरा गर्न थालेका छन् । करिब दुई वर्ष पार्टीको विरुद्धमा प्रहार गरिरहेको हाँक साप्ताहिकमा किन पार्टी एकताको कुरा गर्न थालिएको छ ? किनभने तिनीहरु थाकिसकेका छन् । पहिले पार्टीका विरुद्धमा विद्रोह गर्नुपर्छ भन्नेहरु अहिले एकता गर्नुपर्छ भन्न थालेका छन् । तर समस्या के छ भने, उनीहरुलाई गालीगलौजको नशा लागेको छ । कुनै पनि व्यक्ति गाँजा, चरेस, रक्सी, खैनी, चुरोटको नशामा परेपछि ऊ शारीरिक र मानसिक रुपमा थकित र कमजोर हुन्छ । धेरै कमजोर भएपछि उसले ‘अब मैले गाँजा, चुरोट, रक्सी खान छोड्छु’ भनेर कसम पनि खान्छ । तर उसले छोड्दैन, खाइरहन्छ । किनभने उसलाई छोड्नै नसक्ने गरी नसा चढेको हुन्छ । एक जनाले खैनीको नशाबारे मसँग भनेका थिए, ‘म ढाकाबाङ हिंडेको मान्छे, खैनीको नशामा नुवाकोटको अर्काे डाँडातिर हिंडेछु, माथि टाकुरोमा पुगेपछि बल्ल ए म त ढाकावाङ जानको लागि पो हिंडेको थिएँ, कसरी यहाँ आइपुगेछु भनेर झसङ्ग भएँ ।’ अहिले साथीहरु गालीगलौज र चरित्रहत्याको त्यस्तै नशामा डुबेका छन् । नशाको तालमा उनीहरु कहाँ जान हिंडेका छन् भन्ने आफैलाई थाहा छैन ।

अहिले पार्टीबाट निश्कासितमध्ये केही व्यक्तिहरुले बेलाबेलामा अब यसो गर्नु हुँदैन, पार्टी एकता गर्नुपर्छ पनि भन्छन् । तर गालीगलौजको नशामा डुबेको हुनाले गालीगलौज गर्न छोड्दैनन् । त्यसैले उनीहरु समाप्तिको दिशामा अगाडि बढिरहेका छन् । गालीगलौजको घोडा चढेर उनीहरुले आफ्नो गन्तव्य धेरै अगाडि लैजान सक्ने कुनै सम्भावना छैन । उनीहरुले गालीगलौजको घोडा जति धेरै रफ्तारमा दौडाउनेछन्, उनीहरु त्यत्ति छिटो पछारिनेछन् वा उनीहरु चढेको घोडा नै भीरबाट खस्नेछ । पार्टी एकताको पहिलो शर्त पार्टीबाट निश्कासन गरिएका व्यक्तिहरुले पार्टीका विरुद्धमा सार्वजनिक लेख प्रकाशन गर्न र आरोपहरु लगाउन बन्द गर्नुपर्दछ । पार्टीका विरुद्धमा सार्वजनिक लेखहरु प्रकाशन गर्ने र दुनियाँथरी आरोपहरु लगाउने नशा उनीहरुको शरीरबाट नउत्रिंदासम्म पार्टी एकताको कुनै सम्भावना छैन भन्ने कुरा बुझ्न आवश्यक छ ।

पार्टी एकताको बाँसुरी

निश्चित रुपमा पार्टी एकता हुनुपर्दछ । त्यसै कारण उनीहरुले पार्टी एकताको बाँसुरी बजाइरहेका छन् । ताल मिलेको बाँसुरीको आवाजले मान्छेलाई मुग्ध पारिदिन्छ । जब डाँडाकाँडामा कोही कसैले ताल मिलाएर बाँसुरी बजाउँछ, वनजंगल गएका वा गाउँघरमा बसिरहेका व्यक्तिहरुले एकोहोरो भएर सुन्ने गर्दछन् । चौपाया, जनावर र रुखमा बसेका चराचुरुङ्गीहरुले पनि बाँसुरीको ताल सुन्छन् । बाँसुरीको आवाज निकै सुमधुर सुनिन्छ । गीतप्रति आकर्षित गर्नको लागि सुरुमै बाँसुरीको समुधुर ताल बजाइन्छ र बल्ल अरु बाजाहरु बजाउने गरिन्छ ।साथीहरुले पार्टी एकताको बाँसुरी त बजाइरहेका छन् । तर ताल मिलाएर होइन, जथाभावी फुकीरहेका छन् । जब बाँसुरीलाई जथाभावी फुकिन्छ, त्यसको आवाज निकै भद्दा र रुखो सुनिन्छ । कोही कसैले राम्रोसँग सुन्दैन । ठीक अहिले साथीहरुले गरेको पार्टी एकताको बाँसुरी बजाइलाई पार्टी एकता हुनुपर्छ भनेर धारणा राख्ने साथीहरुले पनि सुन्न छोडेका छन् । सुरुमा उनीहरुले बाँसुरी बजाउन सिक्दै होलान् भन्ने लागेको थियो र पार्टीले पार्टीले वार्ता समिति बनायो । जब उनीहरुले पहिले भन्दा झनै जथाभावी र भद्दा तरिकाले बाँसुरी फुक्न थाले, त्यसपछि बाँसुरीको तालले ध्वनि प्रदुषण गर्न थाल्यो । ध्वनि प्रदुषण हुन थालेपछिपार्टीले वार्ताको ढोका बन्द गरिदियो । तैपनि उनीहरुले सुमधुर स्वरमा ढंग पु¥याएर वार्ताको बाँसुरी बजाउन थाले भने पार्टी वार्ताको लागि तयार हुनुपर्दछ । त्यसैले उनीहरुले वार्ताको बाँसुरी बजाउने तालिम लिन जरुरी छ ।

पार्टी एकता तिनीहरुले भनेबमोजिम होइन, पार्टीका शर्तबमोजिम हुनुपर्दछ भनेर पार्टीले सार्वजनिक गरेको छ । केही मान्छेहरुले जुनसकै हालतमा पार्टी एकता हुनुपर्छ भनेर धारणा राख्ने गरेको पाइन्छ । तर व्यवहारमा कैयौं बाधाहरु उत्पन्न हुने गरेका छन् । बाहिर बाहिर जतिसुकै चर्का कुरा गरे पनि साथीहरु थाकिसकेका छन् । पार्टीका विरुद्धमा प्रचार गरेर, पार्टी नेताहरुलाई गालीगलौज गरेर केही पनि प्राप्त हुने रहेनछ भनेर तिनीहरुलाई बोध भइसकेको छ । तर उनीहरुलाई नशा लागेपछि जबर्जस्ती पार्टीका विरुद्ध लेख्नु वा गालीगलौज गरिरहनु परेको छ । नशा जसले खाएको छ, उसैलाई लाग्ने र उसैलाई असर गर्ने हो, नशा नखाएको व्यक्तिलाई लाग्दैन भन्ने कुरा पनि बुझ्नु पर्दछ ।

बाटो एकताको हो कि फुटको ?

पार्टीबाट निस्कासित समूहले मंसिर ९ र १० गते चितवनमा आफ्नो भेला सम्पन्न गरिसकेको छ । त्यो समूहले ५६ जनाको केन्द्रीय समिति गठन गरेको छ । त्यो एकताको होइन, फुटको बाटो हो । त्यो समूहको दस्तावेजमा चुनावको लागि नयाँ पार्टी दर्ता गर्ने, जनवर्गीय संगठनहरु निर्माण गर्ने, संयुक्त मोर्चा बनाउने, चुनावमा भाग लिनेसम्मको कार्यनीति बनाइएको छ । पार्टीले सशस्त्र संघर्षको कुनै तयारी नगरेको र चुनावलाई रणनीति बनाएको आरोप लगाए पनि समूहले मसालकै शान्तिपूर्ण जनसंघर्ष र चुनावमा भाग लिने कार्यनीति अबलम्बन गरेको छ । संघीयताको खारेजी, एमसीसीको खारेजी, नेपाली भूभाग फिर्ताजस्ता मागहरु नेकपा मसालले लगातार उठाउँदै आएका मागहरु हुन् ।

नेकपा (मसाल)ले पार्टीबाट निस्काशित व्यक्तिहरुसँग वार्ता गर्नको लागि वार्ता समिति बनाएको थियो । तर निश्कासित व्यक्तिहरुले वार्ता गर्नतिर होइन, समानान्तर भेला गर्न, वक्तव्य निकाल्न र कब्जा गरिएको पत्रिकामा पार्टीका नीतिहरु¥का विरुद्ध लेखहरु लेख्न थाले । समानान्तर भेला गर्न, गाउँगाउँमा पुगेर गुटबन्दी गर्न, पार्टीले दक्षिणपन्थी दिशा समातेको घोषणा गर्ने कुरामा कुनै कमी ल्याएनन् । सार्वजनिक रुपमा शर्तहरु तेस्र्याउन थाले । पार्टीले कुनै पनि व्यक्तिसँग सार्वजनिक रुपमा तेस्र्याइएका शर्तहरुलाई मानेर वार्ता गर्ने कुरा थिएन ।

अन्ततः निष्काशित व्यक्तिहरुको पार्टी बनाउने योजना पूरा भएको छ । अब पार्टी एकता हुने सम्भावना टाढा देखिंदै गएको छ । साथीहरुको मागबमोजिम पार्टीले विशेष महाधिवेशनको आयोजना गर्दैन भन्ने कुरा साथीहरुलाई राम्रोसँग थाहा छ । साथीहरुले चार पानको वक्तव्य निकालेर घुक्र्याउँदैमा विशेष महाधिवेशन गर्नु पनि हुँदैन । भोली अर्काे समूहले केही असन्तुष्टि जनाएर पार्टी घोषणा ग¥यो भने तिनीहरुको लागि पनि विशेष महाधिवेशन बोलाइदिनुपर्ने हुन्छ । यसरी पार्टीको काम हरेक वर्ष विशेष महाविधेशन गर्दै बस्ने हुन जान्छ । पार्टीलाई यस्तो गोलचक्करमा फसाउनु हुँदैन ।

पार्टी एकता गर्ने हो भने बाटो सरल छ, पार्टी विरुद्धका सम्पूर्ण गतिविधिहरु बन्द गर्ने, उनीहरुले बनाएका सम्पूर्ण समितिहरु भंग गर्ने, पार्टीले दिएका जिम्मेवारीअनुसार काम गर्दै जाने । पार्टीका विधिहरु मान्दै नमान्ने, पार्टीका निर्णयहरु मान्दै नमान्ने हो भने साथीहरुको पार्टी बनेकै छ, त्यही पार्टी चलाएर बस्ने गर्नुपर्छ । दस्तावेजमा वाम धुब्रीकरण भनिएकै छ, कहाँ कहाँ धु्रबीकरण गर्ने हो गर्ने कुरामा स्वतन्त्रता प्राप्त भइसकेको छ । अब साथीहरुको बाटो स्वतन्त्र र खुला भएको छ । स्वतन्त्र र खुला बाटो भएपछि जहाँको गन्तव्य पहिल्याउन पनि सकिन्छ ।

लेखक अिखल छैठाैं का पूर्व केन्द्रिय अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार