कठिन यात्रामा निरन्तर अघि बढ्न सहज छैन, कैयौं मानिस बिचमै थाक्छन् : केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सही नीति, सिद्धान्त र विचार बोकेर निरन्तर अघि बढ्ने काम धेरै नै गाह्रो कुरा भएको बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चा सिद्वार्थनगर नगर समिति रूपन्देहीले आयोजना गरेको प्रशिक्षणात्मक भेलालाई सम्बोधन गर्दै अध्यक्ष चित्रबहादुर केसीले निरन्तर संघर्ष गर्नुपर्दा कैयौं मान्छे थाक्ने र सजिलो बाटो रोज्ने गरेको बताउनुभयो । उहाँले हामी किन र के का लागि राजनीति गर्ने भन्ने स्पष्ट हुनुपर्ने पनि बताउनुभयो ।

‘देशमा करिब २५० पार्टी रहेका छन् । ती पार्टीहरुको नीति सिद्वान्त के हो ? आचारण कस्तो हुनुपर्दछ थाहा हुनु पर्छ । हामी किन राजनीतिमा लाग्नु पर्छ ? समाजको अवस्था कस्तो छ ? सामाजिक परिवर्तन कसरी हुन्छ ? त्यो राजनीतिमा लागेपछि मात्र थाहा हुन्छ ।’
अध्यक्ष केसीले बलिदानी बिना जनताले चाहेजस्तो परिवर्तन सम्भव नहुने भन्दै जहिले पनि आफ्नो लागि होइन, बहुसंख्यक जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो ।

केसीले भन्नुभयो, ‘परिवर्तन त्याग वलिदान नगरी सम्भव हुन्न । पार्टीको तात्कालिन परिस्थिति र रणनीतिक लक्ष्य थाहा नभै कुनै अर्थ छैन । आफूलाई होइन बहुसंख्यक जनताको हितलाई केन्द्रमा राखेर राजनीति गर्नुपर्छ ।’

भेलमा कम्युनिस्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले संगठनात्मक अनुशासनबारे र राजमो जिल्ला अध्यक्ष बद्रे आलमले पार्टी भित्रको समस्याबारे प्रशिक्षण दिनु भएको थियो ।

राजमो सिद्धार्थ नगर नगर समितिका अध्यक्ष नेत्र आचार्यको अध्यक्षतामा सम्पन्न प्रशिक्षणात्मक भेलाको सञ्चालन हरिलाल धामी र स्वागत मनबहादुर कुँवरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार