राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिँदै एमसीसी खारेजीको निर्णय गर्न आग्रह गर्नुभएको छ।
पौडेलले एमसीसी खारेजीका लागि माओवादीलाई निर्णय गर्न आग्रह गर्दा माओवादी कार्यकर्ताले भने समर्थनमा हुटिङ गरेका थिए।
रष्ट्रियता, संघीयता र एमसीसीको विषयमा राष्ट्रिय जनमोर्चाले आफ्ना विचार स्पष्टसँग राखेको उल्लेख गर्दै पौडेलले भन्नुभयो, ‘राष्ट्रघाती एमसीसी खारेज गर्न पनि यो महाधिवेशनले महत्वपूर्ण निर्णय लिनेछ भन्ने विश्वास लिएको छु।’
पौडेलले अहिले पनि प्रतिगमनको खतरा कायमै रहेको भन्दै त्यसका विरुद्धको आन्दोलनलाई उचाइमा पुर्याउन र प्राप्त उपलब्धिको रक्षा गर्न लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने बताउनुभयो। पौडेलले दलीय राजनीतिभन्दा माथि राष्ट्रियतालाई राख्न पनि सबैसँग आग्रह गर्नुभयो।
पौडेलले दिनुभएको शुभकामना मन्तव्यको सम्पादित अंश
२०३१ सालमा केन्द्रीय न्युक्लसले बनारसमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो। त्यो सन्दर्भ आज झल्को लाग्यो । पछि प्रतिनिधिहरु आइसकेपछि केन्द्रीय न्युक्लसले पछि निर्णय गरेर महाधिवेशन गर्ने निर्णय गर्यो। त्यस्तै आज माओवादी केन्द्रले पनि राष्ट्रिय सम्मेलन भनेर निर्णय गर्यो र आज आठौं महाधिवेशन हुन गइरहेको छ। यो महाधिवेशनले त्यही दिनको सम्झना गराएको छ।
यो महाधिवेशन माओवादी केन्द्रको मात्रै होइन, यसले लिने निर्णयले यसका धेरै ठूलो राष्ट्रिय महत्व छ। जनताको धेरै ठूलो बलिदानबाट प्राप्त उपलब्धिहरु गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, समावेशितामाथि धेरै ठूलो हमला भइरहेको छ।
आजको आवश्यकता भनेको हरेक पार्टीहरुमा थुप्रै मतभेदहरु छन्। तर, त्यो मतभेद हुँदाहुँदै पनि यो आन्दोलनलाई सफल बनाउनको निम्ति, प्रतिगमनलाई परास्त गर्नको निम्ति राष्ट्रिय एकताको आवश्यकता छ।
प्रतिगमन चर्को रुपमा अगाडि बढिरहेको छ। त्यो प्रतिगमनलाई रोक्न आज पाँच दलीय गठबन्धनले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। त्यो गठबन्धनलाई अझ अगाडि बढाउनुपर्ने आजको राष्ट्रिय आवश्यकता हो। यो सामान्य कुरा होइन कि उपलब्धिमाथि शिलशिलेबार हमला भइरहेको छ । प्रतिनिधि सभा दुई दुई चोटी विघटन गरियो। त्यसले मात्रै भएन प्रतिनिधि सभा लगातार अवरुद्ध भइरहेको छ। यस्तो अवस्थामा एउटा मात्रै पार्टीले लडेर प्रतिगमनलाई परास्त गर्न सकिँदैन। त्यसैले आज पनि प्रतिगमनको विरुद्धका राजनीतिक दलहरु एकतावद्ध भएर लड्नुपर्ने आवश्यकता छ।
प्रतिगमनलाई परास्त गर्न सकेनौं भने इतिहासले हामीलाई माफी दिने छैन। त्यसैले हिजो २०४६ सालको आन्दोलनमा २०६२/०६३ सालको आन्दोलनमा जस्तै, दुरदर्शिता र परिपक्वताका साथ अहिले पनि प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने आवश्यकता छ।
यो सत्य हो कि हामीबीच विभिन्न राजनीतिक मतभेदहरु छन्। तर राष्ट्रियताका सामु दलीयता प्रमुख कुरा होइन। आफ्नो पार्टीलाई कति फाइदा हुन्छ भनेर हेर्ने होइन, हामी सबैले प्राथमिकता दिने भनेको राष्ट्रियतालाई नै हो। हाम्राबीचमा जतिसुकै मतभेद भएपनि राष्ट्रियताको सवालमा हामी एकजुट हुनुपर्छ। राष्ट्रियताका लागि एक भएर जान राष्ट्रले र इतिहासले माग गरेको छ।
गठबन्धनको पनि एउटा महत्वपूर्ण घटक हो माओवादी केन्द्र। यो महाधिवेशनले निर्णय महत्वपूर्ण हुने छ। रष्ट्रियताको बिषयमा, संघीयताको विषयमा, एमसीसीको विषयमा राष्ट्रिय जनमोर्चाले आफ्ना विचार स्पष्टसँग राखेको छ। राष्ट्रघाती एमसीसी खारेज गर्न पनि यो महाधिवेशनले महत्वपूर्ण निर्णय लिनेछ भन्ने विश्वास लिएको छु।