न्यायपूर्ण आन्दोलनमा मूल प्रवाहको महत्वपूर्ण भूमिका छ : केसी

  • मध्य पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा प्रचारात्मक सभा सम्पन्न
  • पुना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा आगामी फरवरी २७–२८ र १ मार्च २०२२ मा सम्पन्न हुनगइ रहेको आठौं अखिल भारत सम्मेलनको प्रचारात्मक सभा सम्पन्न पारिएको छ ।

    कार्यक्रममा केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीको प्रमुख आतित्थ्यता रहेको थियो । केसीले प्रमुख अतिथिको आसनबाट मन्तव्य दिंदै भारत प्रवासमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापना कालदेखि नै समाजमा भएको विभिन्न खाले कुरिती तथा कुसंस्कारका विरुद्ध संघर्ष गर्दै आएको बताउनु भयो ।

    त्यसका साथै केसीले देशमा चल्ने न्यायपूर्ण संघर्षहरुमा मूल प्रवाहले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोले नै विभिन्न खाले तत्वहरुले आफ्ना एजेण्टहरु घुसाएर मूल प्रवाहलाई धोस्त पार्ने कोशिस गर्दै आएको बताउनु भयो । ‘सबै खाले तत्वहरुलाई मूल प्रवाहका कार्यकर्ताहरुले निर्मतापूर्वक संघर्ष गरेर नै परास्त गर्दै आएका छन् ।’ केसीले भन्नु भयो– ‘संगठनमा आफ्नो इच्छाले भन्दा पनि साहुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीलाई गम्भिरताका साथ अनुसरण गर्नुले नै मूल प्रवाहको वर्तमानको छवि कायम भएको हो ।’

    त्यस्तै अर्का अतिथि केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले संगठन भावना, रिस, आवेश र प्रतिशोधले नचल्ने ठोकुवा गर्नु भयो । ‘कतिपयले अरुलाई देखाई दिने सोंचले गतिविधि गरिरहेका छन्, त्यस प्रकारका सोंच आफै ध्वस्त भएर जान्छन् ।’ त्यस्त प्रकारका गतिविधि गर्नेहरु धेरै पटक देखिएता पनि उनीहरु आफ्नै कारणले परास्त हुने गरेको पौडेलको भनाई थियो ।

    क्षेत्रीय सचिव श्याम त्रामुको सञ्चालन र लिलाम्बर सिंजालीको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा क्षेत्रीय अध्यक्ष तथा केन्द्रीय सदस्य खुम बहादुर पुन, केन्द्रीय वैकल्पिक सदस्य टंक कुँवर, केन्द्रीय प्रतिनिधि अनन्त राहाडी र रक्तिम केन्द्रीय विभागका बोम सेंजापतीले पनि आतित्थ्यता एवं मन्तव्य दिनुभएको थियो ।

    ज्ञात–अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पछि क्षेत्रीय सदस्य सेर बहादुर पुलामीले स्वागत मन्तव्य दिनुभएको थियो । त्यस्तै रक्तिमका कलाकारद्धारा स्वागत गित प्रस्तुत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार