नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा प्रचरात्मक कार्यक्रम सम्पन्न पारिएको छ । चक्रसिंह केसीको अध्यक्षता र शिव केसीको सञ्चालन एवं स्वागत तिलक पाण्डे र कलाकारहरुले गर्नुभएको थियो ।
सभाका विशिष्ठ अतिथि राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले सो सभालाई सम्बोधन गर्दै नेपाली समाजमा मूल प्रवाहले दुई प्रकारको कार्यलाई जिम्मेवारपूर्वक निर्वाह गर्दै आएको बताउनु भयो । पहिलो प्रवासी नेपालीहरुको न्यायलयको र अर्को स्वदेशको क्रान्तिकारी आन्दोलनमा टेवा पुर्याउने जिम्मेवारी ।
‘भारत प्रवासमा मूल प्रवाहले राजनीतिक चेत सहितको जीवनस्तरको विकासमा काम गर्दै आएको छ’ शर्माले अगाडि भन्नु भयो– ‘हाम्रो लडाइँ सबै प्रकारका बिभेदबाट मुक्तिको लागि हो । त्यसका लागि रणनीति वा कार्यनीतिलाई सन्तुलीत रुपमा कार्यान्वयन गर्नु पर्ने हुन्छ ।’
शर्माले मन्तव्य दिंदै पार्टीले बर्तमानमा दुईवटा लडाइँमा एकमुष्ट रुपले नेतृत्व गरेको बताउनु भयो । देशका राजनीतिमा “ठुलो”को हैसियत भएका राजनीतिक पार्टीहरु साम्राज्यवादी देशहरुको सहयोग बिना चल्नै सक्दैनन् । उनीहरु आकारमा ठूला छन् तर दृष्टिकोण सानो छ । मान्छेको पेटको आकार ठूलो हुन्छ, दृष्टि राख्दैन । आँखा सानो भएता पनि संसार देख्ने क्षमता राख्द छ । आफूलाई हात्ति पार्टी भनाउनेहरुले साम्राज्यवादको सहयोग विना नसत्तामा पुग्न सक्छन्, नटिक्न सक्छन् । त्यसैले उनीहरु साम्राज्यवादको इशारामा चल्छन् । देशमा सच्चा क्रान्तिकारी पार्टीले मात्र सामन्तवाद तथा साम्राज्यवादको विरुद्ध सैद्धान्तिक संघर्ष गर्न सक्दछ र त्यो भूमिका नेकपा मसालले निर्वाह गर्दै आएको छ । त्यसैले नेकपा (मसाल) माथि साम्राज्यवादी शक्ति तथा उनका एजेन्टहरुले हमला गर्दै आएका छन् ।’ शर्माले पार्टीलाई फूटपार्न चाहने फूटपरस्त तत्वहरुमाथि कटाक्ष गर्दै ‘भारतीय साम्राज्यवादका दलालहरुले मात्रै यो पार्टी –संगठनको विकास चाहदैनन् ।’
पार्टीको हेडक्वाटर, मिडिया, आर्थिक सबै जिम्मा दिंदासम्म पनि नेतृत्वले बिश्वास गरेन भन्ने हल्ला चलाइयो र पार्टी माथि हमला गरियो । बुर्जुवा पार्टीको जत्तिको पनि नैतिकता र दृष्टिकोणसम्म नराख्ने व्यक्तिहरुले नै पार्टी माथि हमला गर्ने कोशिस गरेको शर्माको भनाई थियो ।
प्रमुख अतिथिको आसनबाट समाजका महासचिव ठाकुर खनालले मन्तव्य दिनुभएको थियो । खनालले भन्नु भयो– ‘भारतस्थित नेपालीहरुको हकहित र संरक्षणको लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको भूमिका कसैबाट लुकेको छैन । निशंदेह यो नेपालीहरुको हकहितको लागि संघर्ष गर्ने अभिभावकीय संगठन नै हो । यसको गठन सामाजिक संगठनको रुपमा भएता पनि भारतस्थित नेपालीहरुको समस्या राजनीतिक समस्या भएको हुनाले स्थापना कालदेखि नै यसले नेपालको राजनीतिक आन्दोलनलाई सहयोग र समर्थन गर्दै आएको छ । यो संगठनलाई सहयोग गर्न नेपालका राजनीतिक व्यक्तित्वहरुले पनि भूमिका रहेको छ भने यस संगठनबाट तयार भएका हजारौं कार्यकर्ताहरु स्वदेशमा राजनीतिक गतिविधिमा संलग्न भएर काम गर्दै आएका छन् । संगठनलाई आफू अनुकुल बनाउन समय समयमा महत्वाकांक्षी अवसरवादीहरुले दुष्प्रयास गरे, कैयौं पटक संगठनले फूटको सामाना गर्नु पर्यो । अहिले पनि केही व्यक्तिहरुले संगठनमा भ्रम सिर्जना गरि फूटपार्ने प्रयत्न गरिरहेका छन् । आठौं अखिल भारत सम्मेलनको तयारीको लागि भोपालमा भएको भेलाले फुटपरस्त तत्वहरुको वास्तविक स्थितिलाई उजागर गर्दै दुईचार जनाको महत्वाकांक्षी गतिविधिले मूल प्रवाहको स्प्रीटलाई कम्जोर गराउन सक्दैन भन्ने कुरा प्रमाणित गरेको छ ।’
‘फुटपरस्तहरुले संगठनको नाम, झण्डा, यहाँसम्म की दर्ता नम्बर समेत दुरुपयोग गर्ने कोशिस गरेका छन्’ महासचिव ठाकुर खनालले भन्नु भयो– ‘तर यो लामो समयसम्म नरहने छैन ।’
संगठन निर्माण कार्यमा धेरै साथीहरुको योगदान हुन्छ, तर त्यही योगदानको आधारमा महत्वाकांक्षा पाल्नु हुँदैन । कैयौं साथीहरूको महत्वाकांक्षा हाम्रो संगठनमा पूरा हुन सकेन त्यसैले संगठन छोडेर गए । छोडेर जानेहरुले आफू गलत भएको कहिल्यै पनि भन्दैनन्, संगठन माथि दोषारोपण गर्ने गर्दछन् । अहिले पनि केही साथीहरुले त्यसैलाई निरन्तरता दिने कोशिस गरेका छन् । तर त्यस प्रकारको सबै खाले भ्रमहरुलाई सचेत कार्यकर्ताहरुले चिरेर संगठनको विकास गर्ने गरेको इतिहाँस हाम्रो सामु छ । अहिले पनि त्यसले निरन्तरता पाउनेमा कुनै शंका छैन । कैयौं साथीहरु फूटको दौरानमा निराशाको शिकार भई पलाएन भएका छन् । अहिले संगठन माथि हमला गर्नेहरुको राजनीति टाटपल्टि सकेको अवस्था छ । यो अवस्थामा कैयौं साथीहरु आफूले बाटो विराएको महशुस समेत गर्नुभएको छ, तर हिचकिचाहट छ । संगठन कुनै पनि साथीहरुप्रति पूर्वाग्रही छैन । आफ्ना कम्जोरीहरुको आत्मालोचना गर्ने संगठन भित्र परम्परा नै छ । अहिले पनि आत्मालोचना गरेर आएको खण्डमा कुनै पनि साथीहरुको लागि संगठनको ढोका खुल्ला छ, भन्दै आठौं अखिल भारत सम्मेलन ऐतिहाँसिक रुपमा सम्पन्न गर्न सबै भारतस्थित नेपालीहरुलाई खनालले आव्हान गर्नु भयो ।
नन्दा शर्माले सभामा मन्तव्य राख्ने दौरानमा अखिल भारत सम्मेलन एउटा ऐतिहाँसिक पर्व भएकोले यसलाई पर्व कै रुपमा मनाउनु पर्ने हुन्छ भन्नु भएको थियो ।
त्यस्तै केन्द्रीय सदस्य राम बहादुर विकले मन्तव्य दिंदै अहिलेसम्म सबै खाले अबसरबादलाइ जितेरै मूल प्रवाह अगाडी बढेको र अबका दिनमा पनि अगाडि बढने विश्वास व्यक्त गर्नुभयो । विकले दलित जातिहरुका बीचमा फूटपरस्तहरुले धेरै भ्रम छर्ने कोशिस गरेता पनि जातिबादबाट माथी उठेर बिचारलाई बुझ्नु पर्ने आबस्यकता औल्याउनु भयो ।
‘सबै भन्दा माथी बिचार हो, बिचार मजबुत भएमा कसैले भ्रम दिंदैमा भ्रमित भईंदैन’ सुरेश कुमार पाण्डेले बताउनु भयो– ‘व्यक्तिहरु आउँछन्, जान्छन् तर संस्था नीति र पद्धती अनुसार चिलिरहेकोले संस्था रहिरन्छ ।’
नई दिल्ली नगर समितिबाट बिन बहदुर केसी, फरीदाबादबाट विष्णु बिसी, भिवानीबाट मोहन विक, रोहतक सुभास गौतम, ओखला कृष्ण कुँवर, गुडागाउँबाट दल बहादुर जिसी, दिल्लीबाट रामु धमाला, आगराबाट राम बहादुर केसी, करनालबाट टिकाराम विक, पुर्वी दिल्ली नगर समितिबाट भानु श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य दिनुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य धनवीर पुनको पनि आतित्थ्यता रहेको थियो ।
सभामा सम्मेलन सफल पार्नका लागि विक्रम सिंह राणाको संयोजकत्वमा १५१ सदस्यीय सम्मेलन सहयोग समिति गठन गरिएको छ । साथै रण बहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय आर्थिक उप समिति, तिलक पाण्डेको संयोजकत्वमा २१ सदस्यीय स्वंयम सेवक उप समिति, सुरज गतराजको संयोजकत्वमा ९ सदस्यीय साँस्कृतिक परिचालन समिति, शालिकराम आचार्यको संयोजकत्वमा ११५ सदस्यीय सम्मेलन प्रचार प्रसार उप समिति निर्माण गरिएको छ ।