राजेश विश्वकर्मा बने राष्ट्रियसभाका उम्मेदवार

काठमाडौं । राष्ट्रिय जनमोर्चाले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि राजेश विकलाई अगाडि सारेको छ । पाँच दलीय गबठबन्धनमा भएको सहमति अनुसार राजमोले पाउने एक सिटमा विकलाई उम्मेदवार बनाउने निर्णय गरिएको उपाध्यक्ष दुर्गा पौडेलले बताउनु भयो ।

‘हाम्रो तर्फबाट तुलप्रसाद विश्वकर्मा (राजेश विक) लाई उम्मेदवार बनाउने निर्णय भएको छ’ पौडेलले भन्नुभयो, ‘राजमोको भागमा परेको दलित क्लस्टर अन्तर्गत लुम्बिनी प्रदेशबाट पार्टीले उहाँलाई उठाउने निर्णय गरेको हो।’

विक राष्ट्रिय जनमोर्चा निकट जातीय समता समाजका केन्द्रीय अध्यक्ष तथा रक्तिम सांस्कृतिक अभियानका सल्लाहकार हुनुहुन्छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धन बैठकले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने सहमति गरेको थियो। सोही अनुसार १९ सिटमध्ये खाली भएका एमालेका ८ सिटमा भागबण्डा भएको हो।

बाँकी सिटमा गठबन्धनका जुन दलको सिट खाली भएको छ, सोही दललाई सघाउने निर्णय भएको पौडेलले बताउनु भयो ।

एमालेका ८ सिटमा मिलेर लड्ने सहमति

पाँच दलीय गठबन्धनले आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको भागवण्डा मिलाएका हुन् । पाँच दलको सहमति अनुसार यसअघि जुन पार्टीबाट निर्वाचित भइ अहिले  खाली भएका छन् ती स्थानमा छ त्यही पार्टीलाई दिएर सघाउने निर्णय भएको छ।

सहमति अनुसार माओवादीलाई ४ वटा, नेकपा एकीकृत समाजवादीलाई चारवटा र काङ्ग्रेसलाई ६ वटा सिट उसैलाई दिएर गठबन्धन दलहरुबीच एकअर्कालाई सघाउने निर्णय भएको छ।

प्रमुख प्रतिपक्षी एमालेको भागमा रहेको ८ सिटमध्ये कांग्रेसले ३, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एक/एक, जसपालाई २ र राष्ट्रिय जनमोर्चाले १ सिट बाँडफाँट गर्ने सहमति गरेका हुन्।

उता प्रमुख प्रतिपक्षी एमालेले पनि राष्ट्रियसभा निर्वाचनमा एक्लै लड्ने निर्णय लिइसकेको छ। एमालेले कर्णालीका उम्मेदवारको टुंगो गरिसकेको छ।

राष्ट्रियसभामा एक मनोनीतसहित ४ वर्षे कार्यकाल पूरा गरेका २० जनाको पद आगामी फागुन २० गतेदेखि रिक्त हुँदैछ। राष्ट्रियसभा निर्वाचन प्रक्रिया अन्तर्गत पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ। राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार