पार्टीमा फुट पार्न मात्रै ठूला-ठूला क्रान्तिकारी कुरा गरेको प्रष्ट भएको छ (अन्तर्वार्ता)

नेकपा (मसाल) ले कारबाही गरेका वा फुटेर गएका कतिपय व्यक्तिहरुले केही समयअघि एउटा भेला गरेर समानान्तर समिति बनाएको घोषणा गरेका थिए । सो समूहबाट चोइटिएर कतिपय व्यक्तिहरु विभिन्न पार्टीमा सामेल भएको समाचार सार्वजनिक भएका छन् । समानान्तर समिति बनाउनेहरु वा बेग्लै पार्टीमा सामेल भएका व्यक्तिहरु नेकपा (मसाल) को राजनीतिबाट किन विमुख भए ? मूलतः यही विषयमा हामीले नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहसँग विज्ञासा राखेका छौं ।

त्यसका साथै, देशको समसामयिक अवस्था र नेकपा (मसाल) को भूमिका, एमसीसीविरुद्धको संघर्ष, संघीयता खारेजीको प्रश्न, आशन्न राष्ट्रिय सभाको निर्वाचन तथा पाँच दलीय गठबन्धनको भूमिका र औचित्यलगायतका विषयमा मसालको धारणा बुझ्ने प्रयास गरेका छौं । प्रस्तुत छ, महामन्त्री सिंहसँग लिइएको अन्तर्वार्ता – (सम्पादक) ।

केही समययता नेकपा (मसाल) का कतिपय कार्यकर्ताहरू पार्टी छोडेर अन्य विभिन्न पार्टीमा प्रवेश गरेको भन्ने समाचारहरू आइरहेका छन् । यस्तो अवस्था किन आयो ?
केही समय यता मात्र होइन, दशकौँदेखि नै त्यस्तो हुँदै आएको छ । विभिन्न समयमा राजापरस्त, कांग्रेसपरस्त, उग्र‘वामपन्थी’, दक्षिणपन्थी, मध्यपन्थी आदि पक्ष वा व्यक्तिहरूले पार्टी छोडेर जाने गरेका छन् । कतिपयले अन्य दलहरूमा सामेल भएर व्यक्तिगत महत्वकांक्षा पूरा गर्नको लागि पनि हाम्रो पार्टीबाट अलग हुने गरेका छन् । पार्टीको अनुशासनमा बस्न नसकेकाले पनि कतिपय पक्ष वा व्यक्तिहरूमाथि हामीले कारबाही गर्नु परेको छ । पार्टीमा समाज वा अन्य राजनीतिक दलहरूमा देखा पर्ने विकृतिकहरू पनि एक वा अर्काे रूपमा प्रतिविम्बित हुने गरेका छन् । त्यसले गर्दा पार्टीमा विभिन्न प्रकारका राजनीतिक भड्काव, अनुशासनविहीनता वा फुटका समस्याहरू देखा पर्ने गर्दछन् । पार्टीमा हुने त्यस प्रकारका सबै फुटहरूलाई हामीले एकै श्रेणीमा राखेर हेर्नु हुँदैन । विभिन्न अनुशासनविहीनता वा फुटका बेग्लाबेग्लै कारणहरू हुन्छन् । त्यसैले हालसालै देखा परेको फुटको पनि आफ्नै कारण छ र अहिले हामीले त्यसको मात्र चर्चा गर्नेछौँ ।

अहिले पार्टीबाट निष्कासित वा फुटेर गएका साथीहरूको त्यस प्रकारका व्यवहारका पछाडि दुई प्रकारका कारणहरूले काम गरेका छन् । प्रथम, चरम प्रकारको अराजकताबादी, व्यक्तिवादी र अनुशासनविहीन कार्यशैली । द्वितीय, प्रतिगमन दिशाउन्मुख राजनीतिक सोचाइ । पार्टीमा कैयौँपल्ट त्यस प्रकारका गलत राजनीतिक विचार वा अनुशासनविहीनताहरू देखा पर्ने गर्दछन् । तिनीहरूलाई हामीले प्रशिक्षण वा आन्तरिक अनुशासनका कारवाहीद्वारा नियन्त्रण वा सुधार गर्ने प्रयत्न गर्दछौँ । धेरै जसो अवसरमा त्यसरी नै समस्याको समाधान हुन्छ । तर कतिपय अवस्थामा त्यस प्रकारका प्रवृत्तिहरू प्रकट रूपमा बाहिर देखा पर्ने गर्दछन्, जस्तै कि आफ्ना मतभेदहरूलाई सार्वजनिक रूपमा बाहिर लैजाने, खुला प्रकारले गुटबन्दी गर्ने वा समान्तर प्रकारले पार्टी विरोधी गतिविधिहरू गर्ने । त्यो अवस्थामा नै हामीले उनीहरूका विरूद्ध कडा कारवाही गर्नुपर्दछ र उनीहरूलाई पार्टीबाट निष्कासित गर्नुपर्दछ । अहिलेको प्रसङ्गमा कतिपय साथीहरू हाम्रो पार्टीबाट अलग भएर जानुको पछाडि त्यही प्रकारको स्थितिको परिणाम हो ।

अहिले तपाईंहरूको पार्टीबाट फुटेर गएका साथीहरूले प्रतिगमनउन्मुख दिशा समातेको भन्नका लागि के आधार छ ?
प्रकट रूपमा उनीहरूले ‘वामपन्थी’ क्रान्तिकारी कुराहरू गरिरहेका छन् । तर उनीहरूको मुख्य राजनीतिक दिशा प्रतिगमन–उन्मुख नै छ । हामीले अहिलेको आधारभूत कार्यक्रम नयाँ जनवादी क्रान्तिलाई नै मानेका छौँ । तर त्यो हाम्रो रणनीतिक कार्यक्रम हो । उनीहरूले त्यो रणनीतिक कार्यक्रमलाई तात्कालिक कार्यदिशा बताएर क्रान्तिकारिताको प्रदर्शन गर्ने प्रयत्न गरेका छन् । तर नयाँ जनवादी क्रान्तिलाई रणनीति बताएपछि पनि देशको तात्कालिक ठोस राजनीतिक परिस्थिति अनुसार तात्कालिक कार्यनीति निश्चित गर्नु पर्दछ । हामीले एकातिर देशमा बढिरहेको प्रतिगमनको खतरामाथि ध्यान दिँदै त्यसका विरूद्ध संघर्ष गर्ने र, अर्कातिर, तात्कालिक रूपमा लोकतन्त्र, गणतन्त्र, बहुदलीय व्यवस्था, धर्मनिरपेक्षताको रक्षा गर्ने आवश्यकतामा जोड दिइरहेका छौँ । तर उनीहरूले देशमा प्रतिगमनको खतरा भएको कुरालाई अस्वीकार गर्छन् । सामन्तवादसितको अन्तरविरोधलाई गौण बताउँछन्, गणतन्त्र र बहुदलीय व्यवस्थालाई प्रतिक्रियावादी घोषित गर्दै त्यसमाथि आक्रमण गर्ने नीति अपनाउँछन् । उनीहरूको त्यस प्रकारको नीतिले राजावादीहरूको गणतन्त्र र बहुदलीय व्यवस्थामाथिको आक्रमणको नीतिको नै सेवा गर्दछ । त्यो स्पष्ट रूपमा प्रतिगमनउन्मुख राजनीति हो ।

त्यसरी एकातिर चरम प्रकारको अराजकतावादी र अनुशासनविहीन प्रवृत्ति र, अर्कातिर प्रतिगमन उन्मुख राजनीतिक दिशा समातेको हुनाले नै हामीले उनीहरूलाई पार्टीबाट निष्कासित गर्नुपरेको थियो वा उनीहरू हाम्रो पार्टीबाट फुटेर गएका थिए । पहिले उनीहरूले हामीले शान्तिपूर्ण आन्दोलनलाई संघर्षको प्रधान पक्ष बताएको हुनाले र चुनावको उपयोग समेत गरेको हुनाले उनीहरूले हामीलाई दक्षिणपन्थी बताएका थिए । तर अहिले उनीहरूले स्वयम् शान्तिपूर्ण आन्दोलन र कार्यनैतिक रूपमा चुनावको उपयोग गर्ने निर्णय बाहिर ल्याएका छन् । त्यसबाट यो प्रष्ट हुन्छ कि उनीहरूको क्रान्तिकारिताको स्तर वास्तवमा के रहेछ ?

पार्टी छोडेर जाने प्रायः जसोले ‘फरक मत राख्नेहरूमाथि मसालले डण्डा वर्षाउँछ’ भन्ने आरोप लगाउने गरेका छन् । वास्तविकता त्यस्तै हो त ?
त्यो आरोप सत्य होइन । अहिले जसलाई पार्टीबाट निष्काशित गरिएको छ वा जो फुटेर गएका छन्, उनीहरूले धेरै वर्ष पहिलेदेखि पार्टीभित्र विभिन्न प्रकारका मतभेदहरू राख्दै आएका थिए । तर त्यो कारणले कसैलाई पनि पार्टीबाट निकालिएको थिएन । का. चित्र बहादुर केसीकै कुरा गरौँ, उहाँ र मेरा बीचमा गत ५ दशकका बीचमा कैयौँ प्रकारका राजनीतिक वा व्यवहारिक प्रश्नहरूमा गम्भीर प्रकारका मतभेदहरू रहँदै आएका छन् । तर त्यो कारणले हामीले कहिल्यै पनि एक अर्कालाई पार्टीबाट निष्कासित गर्ने वा पार्टीबाट अलग हुने काम गरेनौँ । हाम्रो पार्टीले जनवादी केन्द्रीयताको सिद्धान्तमाथि विश्वास गर्दछ । त्यस अनुसार पार्टीका कुनै पनि सदस्यलाई पार्टीभित्र मतभेद राख्ने वा छलफल गर्ने स्वतन्त्रता हुन्छ । तर निर्णय भइसकेपछि आफ्ना मतभेदहरूका बावजुद सहमति वा बहुमतमा भएको निर्णयलाई अनुशासनमा रहेर कार्यान्वयन गर्नु पर्दछ र आफ्ना मतभेदहरूलाई असम्बन्धित समितिमा लैजान, गुटबन्दी गर्न वा सार्वजनिक गर्न मिल्दैन ।

पार्टीभित्र मतभेद राख्ने कतिपय साथीहरूले महाधिवेशनका निर्णयहरूको विरोध गरेर आफ्ना मतभेदहरूलाई असम्बन्धित समितिहरूमा लगेको, सार्वजनिक गरेको वा समानान्तर गतिविधि पनि सञ्चालन गरेको हुनाले बारम्बार चेतावनी दिँदा वा आन्तरिक कारवाहीहरू गर्दा पनि सुधार नगरेकाले नै उनीहरूलाई पार्टीबाट निष्कासित गरिएको हो । यो सबैलाई थाहा भएको कुरा हो कि त्यस प्रकारको अनुशासनविहीन गतिविधिका लागि बुर्जुवा वा दक्षिणपन्थी संगठनहरूमा छुट हुन्छ । तर एउटा माक्र्सवादी–लेनीनवादी पार्टीमा त्यस प्रकारका अराजकतावादी वा अनुशासनविहीन कार्यहरू अनुशासन वा कारबाहीका विषयहरू बन्दछन् ।

मसालकै नामबाट केही समयअघि सन्तबहादुर नेपाली लगायतको समूहले बेग्लै समिति निर्माण गरेको जनाएको छ । त्यो समूहले अझै पनि ‘पार्टीएकता’मै जोड दिने भनेको छ, उनीहरूसँग एकता कत्तिको सम्भव देख्नुहुन्छ ?
हामीले उनीहरूसित वार्ता वा भेटघाट गर्ने निर्णय गरेका थियौँ तर उनीहरूले कुनै बेग्लै पार्टीले जस्तै हामीसित पार्टी एकता गर्न खोजे, जो विल्कुल गलत थियो । हामीले उनीहरूसित महाधिवेशनका निर्णय, पार्टीका नीति, निर्णय वा अनुशासनलाई मानेर तथा सबै प्रकारका गुटबन्दी र समानान्तर गतिविधिहरू बन्द गरेर पार्टीमा सामेल हुन भनेका थियौँ । तर उनीहरूले पार्टीका सबै सदस्यहरूले मान्नुपर्ने न्यूनतम नियमहरूलाई पनि स्वीकार गर्न नसकिने सर्तहरू बताए र त्यो अवस्थामा उनीहरूसित वार्ता वा भेटघाटको कुनै औचित्यता बाँकी रहेन ।

उनीहरूले अहिलेको आठौँ महाधिवशेनले चुनेको केन्द्रीय समितिलाई भंग गरेर हामी र उनीहरू समेतको कार्यदल बनाएर विशेष महाधिवेशन गर्ने कुरा उठाए । त्यो स्वीकार्य हुन सक्ने कुरै थिएन र हामीले त्यो प्रस्तावलाई पनि स्वीकार गरेनौँ । तैपनि उनीहरू मध्येबाट जो इमान्दारितापूर्वक अनुशासनमा बस्ने गरेर पार्टीमा आउन चाहान्छन्, उनीहरूका लागि हाम्रो ढोका खुला छ । पहिले पनि पार्टीबाट निष्कासित, फुटेर गएका वा अन्य पार्टीहरूमा सामेल भएका कैयौँ इमान्दार साथीहरू पुनः फर्केर आउने गरेका छन् । त्यस प्रकारको प्रक्रिया भविष्यमा पनि रहिरहनेछ ।

नेकपा (मसाल) को आठौं महाधिवेशनले दक्षिणपन्थी दिशा लियो, मतभेद व्यवस्थापन गर्न सकेन भन्ने आरोपबारे के भन्नुहुन्छ ?
उनीहरूले हामीमाथि लगाएको दक्षिणपन्थीको आरोपको स्वयम् उनीहरूको भेलाका निर्णयहरूबाट गलत सावित भइसकेको छ । उनीहरूले हामीलाई दक्षिणपन्थी आरोप लगाउनुका पछाडिका मुख्य बुँदाहरू यी थिएः
१) तत्कालको स्थितिमा शान्तिपूर्ण आन्दोलनको नीतिलाई प्रधान संघर्षको रूपमा दिएको ।
२) चुनावको उपयोग गरेको ।

अहिले उनीहरूको भेलाले नै शान्तिपूर्ण आन्दोलन र चुनावको उपयोगको नीतिलाई पारित गरेको छ । हामीलाई दक्षिणपन्थी बताएपछि उनीहरूले हाम्रो नीति भन्दा बेग्लै क्रान्तिकारी कार्यक्रम पेश गर्नु पर्दथ्यो । तर उनीहरूको भेलाले त्यस प्रकारको एउटा पनि नीति अगाडि सार्न सकेको छैन, त्यसलाई कार्यान्वयन गर्ने कुरा ता धेरै टाढाको भयो । वास्तवमा उनीहरूले जस्तो कि माथि भनियो, एकातिर चरम प्रकारको अराजकतावादी र अनुशासनविहीन दृष्टिकोण र अर्कातिर प्रतिगमन उन्मुख दिशा समातेको हुनाले नै हाम्रो पार्टीमाथि दक्षिणपन्थी आरोप लगाएका थिए र पार्टीलाई फुटाएका थिए । उनीहरूको भेलापछि उनीहरूले पहिले गर्ने गरेका ठूला ठूला क्रान्तिकारी कुराहरू खाली पार्टीमा फुट पार्ने एउटा प्रयत्न मात्र थियो भन्ने कुरा प्रष्ट भएको छ । वास्तविकता यो हो कि उनीहरूसित कुनै सिद्धान्त वा राजनीतिक कार्यक्रम छैन । त्यसैले पहिले उनीहरूको भेलामा सामेल भएका कैयौँ साथीहरू उनीहरूबाट अलग भएर अन्य संगठनहरूमा मिल्दै गइरहेका छन् ।

त्यसरी माओवादी वा एकीकृत समाजवादीमा गएका साथीहरूलाई हामीले बधाई दिएकोमा उनीहरूले हाम्रो आलोचना गरेका छन् । तर सत्य के हो भने, माओवादी वा एकीकृत समाजवादीहरूले प्रतिगमनका विरूद्ध संघर्ष गरिरहेको हुनाले फुटपरस्त साथीहरूको प्रतिगमन दिशा उन्मुख राजनीतिसित सम्बन्ध विच्छेद गरेर अंशतः अग्रगमनको दिशामा कदम बढाएको हुनाले नै हामीले उनीहरूलाई बधाइ दिएका हौँ । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यो बधाइका साथै हामीले उनीहरूको (माओवादी र एकीकृत समाजवादी) मा सामेल हुने साथीहरूको अवसरवादी र फुटपरस्त कार्यविधिको पनि आलोचना गरेका छौँ ।

हालै भएको माओवादी केन्द्रको महाधिवेशनलाई कसरी लिनुभएको छ ? प्रचण्डको दस्तावेजले नेपालको क्रान्तिकारी आन्दोलनलाई मद्दत पुर्याउन सक्छ ?
सर्वप्रथमः हामीले के स्पष्ट गर्न चाहान्छौँ भने माओवादी केन्द्रले धेरै पहिलेदेखि नै दक्षिणपन्थी संशोधनवादी बाटो समातिसकेको छ र त्यसकारण, त्यो कम्युनिस्ट पार्टी होइन । तैपनि त्यो एउटा देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्ति हो । अहिले माओवादी केन्द्रले आफ्ना नीति र कार्यहरूको आत्मालोचना गरेर आफ्नो विचार वा संगठनलाई रूपान्तरण गर्ने कुरा गरेको छ । उनीहरूको त्यो सोचाइलाई हामीले सकारात्मक रूपमा लिन्छौँ र उनीहरूले आफ्ना ती विचार वा निर्णयहरूलाई कार्यान्वयन गर्न सके भने एउटा देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्तिको रूपमा त्यसले महत्वपूर्ण भूमिका खेल्न सक्नेछ र त्यसबाट देशको जनतान्त्रिक र वामपन्थी आन्दोलनमा मदत पुग्नेछ भन्ने हाम्रो सोचाइ छ।

तर अहिले उनीहरूले जे जति निर्णयहरू गरेका छन्, त्यसका आधारमा एउटा कम्युनिस्ट पार्टीको रूपमा त्यसको रूपान्तरण सम्भव छैन । त्यसका लागि धेरै नै सैद्धान्तिक, राजनैतिक, संगठनात्मक वा कार्यशैलीमा रूपान्तरणको आवश्यकता हुनेछ । त्यसका कार्यकर्ताहरूले त्यो दिशामा प्रयत्न गरेमा त्यो सम्भावनालाई पूरै अस्वीकार गर्न पनि सकिन्न । तर अहिलेको उनीहरूको महाधिवेशनका निर्णयहरूको सिमाभित्र त्यस प्रकारको कुनै सम्भावना छैन । समग्र रूपमा माओवादी केन्द्र अहिले प्रतिगमनका विरूद्ध देशमा चलिरहेको आन्दोलनको एउटा महत्वपूर्ण घटक हो र त्यसको भूमिकाबाट प्रतिगमनका विरूद्धको संघर्षमा धेरै नै मदत पुगेको छ । त्यही प्रकारले त्यसको महाधिवेशनबाट गरिएका निर्णयहरूबाट लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा र प्रतिगमनका विरूद्धको संघर्षमा महत्वपूर्ण योगदान पुग्नेछ भन्ने हामीले आशा गरेका छौँ ।

नेकपा (मसाल) ले विभिन्न वामपन्थी दलहरूसँग मिलेर एमसीसी खारेजीका लागि संघर्ष गरिरहेको छ, तर राष्ट्रिय जनमोर्चा भने एमसीसीकै पक्षपाती सत्तारूढ दलहरूसँग गठबन्धनमा सामेल छ, यसले पार्टीको दोहोरो चरित्र भयो भन्नेलाई मद्दत गरेन र ?
कम्युनिस्ट पार्टीले एकैसाथ बेग्लाबेग्लै नीतिहरू पनि अपनाउने गर्दछ । द्वन्द्ववादले यो मान्दछ कि एउटा चिजमा सकारात्मक र नकारात्मक पक्षहरू पनि सँगसँगै हुन्छन । त्यो अवस्थामा हामीले एकैसाथ कुनै चिजमा भएका सकारात्मक पक्षको समर्थन र नकारात्मक पक्षको विरोध पनि गर्दछौँ । संयुक्त मोर्चाको नीति पनि त्यही प्रकारले द्वन्द्वात्मक हुन्छ । कुनै खास राजनीतिक आवश्यकता अनुसार हामीले दुश्मन वा विरोधी शक्तिहरूसित पनि एकता वा संयुक्त मोर्चा गरेका हुन्छौँ । विश्व कम्युनिस्ट आन्दोलनमा, नेपालको कम्युनिस्ट आन्दोलनमा तथा हाम्रो पार्टीको इतिहासमा पनि त्यस प्रकारका थुप्रै उदाहरणहरू छन् । अहिले पनि देशमा प्रतिगमनको खतरा अत्यन्तै गम्भिर बनेको छ । राजावादीहरूले गणतन्त्र र धर्म निरपेक्षतालाई समाप्त गर्न अभियान चलाइरहेका छन् । ओलीको नेतृत्वमा एमालेले पनि संसदीय प्रणालीलाई ध्वंश पार्न तथा देशलाई प्रतिगमन र अधिनायकवादतिर लैजानको लागि योजनावद्ध प्रकारले प्रयत्न गरिरहेको छ ।

त्यो अवस्थामा प्रतिगमनका विरूद्धको संघर्ष ऐतिहासिक र राष्ट्रिय आवश्यकता बनेको छ । यो गठबन्धनको भूमिकाको नै परिणाम हो कि ओलीले कैयौँ मोर्चाहरूमा, केन्द्रीय सरकारदेखि प्रदेश तहसम्म पराजयको सामना गर्दै जानु परिरहेको छ । त्यसरी गठबन्धनका कैयौँ सकारात्मक परिणामहरू अगाडि आएको कुरा प्रष्ट छ । गठबन्धनको कारणले नै न्यूनतम कार्यक्रममा एमसीसी सामेल भएको थिएन र त्यसपछि अहिलेसम्म पनि त्यो संसदमा प्रस्तुत हुन वा पारित हुन सकेको छैन । हामी गठबन्धनमा सामेल भएपनि मतभेद भएका विषयहरूमा आफ्ना अडानहरू दृढतापूर्वक राख्ने गरेका छौँ र सहमति भएका विषयहरूलाई अगाडि बढाउन प्रयत्न गर्दै आएका छौँ । त्यसरी व्यवहारले नै हामी गठबन्धनमा सामेल हुनुको औचित्यता प्रष्ट हुँदै आएको छ ।

एमसीसी किन घातक छ भन्ने कुरा अझै पनि दलहरूले आम जनतालाई राम्रोसँग बुझाउन सकेको देखिँदैन । यसलाई सबैले बुझ्नेगरी कसरी ब्याख्या गर्नुहुन्छ ?
कुरा सिधा, सरल र स्पष्ट छ । एमसीसी इण्डोप्यासिफिक रणनीतिको अंग हो । त्यो कुरा उच्च अमेरिकी अधिकारीहरूले पनि स्वीकार गरिसकेका छन् । त्यसको उद्देश्य चीन विरोधी मोर्चामा नेपाललाई सामेल गर्नु हो । त्यसका कैयौँ दुर्गामी र घातक परिणामहरू हुनेछन् । यो सामान्य आर्थिक विकास सम्बन्धी सम्झौता होइन । त्यसो भएको भए त्यसलाई संसदद्वारा पारित गराउनु पर्ने आवश्यकता हुने थिएन । अमेरिकाको चीन विरोधी योजनामा नेपालको भौगोलिक स्थितिले गर्दाखेरी त्यसको (नेपालको) ठूलो रणनीतिक महत्व छ । त्यसैले अमेरिकाले बारम्बार त्यो सम्झौतालाई पारित गराउने कुरामा जोड दिइरहेको छ । हामीले विभिन्न वामपन्थी शक्तिहरूसित मिलेर त्यसका विरूद्ध संयुक्त आन्दोलन चलाउँदै आएका छौँ । माओवादी वा एकिकृत समाजवादीले त्यसलाई पूरै खारेज गर्नुपर्ने कुराको माग गरिरहेका छैनन् । तर यथावत रूपमा त्यसलाई स्वीकार गर्न नसकिने अडान लिँदै आएका छन् । त्यसबाट पनि एमसीसीलाई संसदबाट पारित गराउनुबाट रोक्न धेरै मदत पुगेको छ ।

देशमा एमसीसीका विरूद्ध व्यापक जनमत बनेको छ । त्यसरी ती सबैको परिणाम हो कि अहिलेसम्म अमेरिकाको एमसीसी लाई संसदबाट पारित गराउने उद्देश्य सफल हुन सकेको छैन । त्यो नेपालमा अमेरिकी साम्राज्यवादको ठूलो हार हो । एमसीसी का विरूद्ध देखा परेको व्यापक जनमत र आन्दोलनको परिणामस्वरूप नै अमेरिका नेपालमा त्यसरी पराजित हुनु परेको छ । तर त्यसले आफ्नो प्रयत्नलाई लगातार जारी राखेको छ र त्यसैले त्यसलाई संसदबाट पारित हुन नदिनको लागि हामीले आन्दोलनलाई अरू अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

ओलीको प्रतिगामी कदमविरूद्ध नेपाली कांग्रेसलगायत दलहरूसँग पार्टीले सहकार्य गर्ने नीति लियो । यही कारण कतिपय कार्यकर्ता असन्तुष्ट भएको देखियो । गण्डकीमा एक जना सांसदलाई कारबाही गर्नुपर्ने अवस्था आयो । अझै यहाँहरूले पाँचदलीय गठबन्धन निर्वाचनसम्म नै कायम राख्ने कुरा गर्नुभएको छ । यो गठबन्धनको औचित्य सकिएको छैन र ?
यो प्रश्नको जवाफ पहिले पनि गइसकेको छ । देशमा ओली सरकार केन्द्रबाट वा विभिन्न प्रदेशहरूबाट अपदस्त भइसकेपछि पनि त्यसका प्रतिगामी कारवाहीहरू रोकिएका छैनन् । त्यसको जोड संसदलाई असफल पार्ने र तुरून्तै चुनावमा जानेतिर नै छ । चुनावमा ओलीले दाबी गरेजस्तो अत्याधिक बहुमत प्राप्त गरेमा देश प्रतिगमन र अधिनायकवादतिर जाने खतरा छ । त्यसकारण त्यो प्रतिगमनलाई रोक्नको लागि ५ दलीय गठबन्धनको अहिले पनि आवश्यकता छ । अहिले कैयौँ पक्षहरूले त्यसलाई फुटाउनको लागि प्रयत्न गरिरहेका छन् र ओलीद्वारा पनि त्यसका लागि पूरै प्रयत्न भइरहेको छ । त्यो गठबन्धन टुट्यो भने प्रतिगमन र अधिनायकवादको लागि मार्ग प्रसस्त हुनेछ । त्यसैले हामीले हाम्रा विचमा भएका कतिपय मतभेदहरूका बावजुत तत्कालका लागि त्यसलाई कायम राख्नुपर्ने आवश्यकतामा जोड दिइरहेका छौँ ।

नेकपा (मसाल) ले संघीयताको विरोध गर्दागर्दै पनि संघीयता त संस्थागत हुँदै गयो । मसालले भने जस्तै यसका दुष्परिणाम देखिन पनि थालेका छन् तर संघीयता खारेज गर्न जनता त सडकमा आएनन् नि ?
जस्तो कि तपाईले भन्नु भयो, त्यसका दुष्परिणामहरू झन् पछि झन् प्रकट हुँदै गइरहेका छन् । त्यसको परिणामस्वरूप नै जनताको संघीयताका विरूद्धको चेतना झन् बढ्दै जानेछ र अन्तमा संघीयताका विरूद्ध जनता सडकमा आउन थाल्नेछन् । त्यसरी संघीयताका आफ्नै असंगतिहरूका कारणले त्यसको अन्तका लागि आधार तयार पार्नेछ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।

अहिले यहाँले प्यूठानमा घर बनाउनुभएको कुरा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत बाहिर आएको छ । अन्य दलका नेताहरू राजधानी वा सुविधासम्पन्न ठाउँमा बस्ने चाहना राख्छन् तर यहाँले प्यूठानमै किन घर बनाउनुभएको हो ?
ओखरकोटमा हामी १५ पुस्तादेखि, करिब साढे ४ सय वर्षदेखि बस्दै आएका छौँ । त्यसैले त्यो गाउँप्रति मेरो मनमा धेरै नै माया छ । एकपल्ट एउटा पत्रकारले (सायद दाङको विगुलले) तपाईलाई संसारको सबैभन्दा मनपर्ने ठाउँ कुन हो भन्दा मैले भनेको थिएँ, ओखरकोट । पहिले त्यो गाउँमा मेरो घर थियो । तर पछि कतिपय व्यवहारिक कारणले गर्दा मैले त्यसलाई बेच्नु परेको थियो । मैले दाजी लेटर विक्रमले त्यहाँको जग्गा बेचेर तराईमा जाने विचार गरेपछि उहाँको घर किन्ने ठेगान गरेको थिएँ । तर कतिपय कारणले पछि उहाँसित मेरो चर्काे विवाद पैदा भयो र उहाँले मलाई त्यो घर नबेचेर अर्कै मान्छेलाई बेच्नु भयो । त्यसरी पहिलेदेखि नै ओखरकोटको गाउँमा घर बनाउने मेरो विचार थियो । केही घडेरीहरू पनि मैले किनेको थिएँ । तर मेरो योजना सफल हुन सकेको थिएन । तर अहिले मैले भन्दा दुर्गाको प्रयत्नले त्यो घरको निर्माण भयो । त्यो घरको निर्माणमा मैले १ रूपैयाँ पनि जम्मा गरेको छैन, बालुवा, सिमेन्ट, ईंटको व्यवस्था गर्ने वा घरको निर्माण कार्यमा १ दिन पनि लागेको छैन । तैपनि दुर्गालाई ओखरकोटप्रतिको मेरो गहिरो मायाबारे थाहा थियो । त्यसैले दुर्गा पूरै त्यसका लागि लागिन् र त्यो घर बन्यो ।

अन्य दलका नेताहरूले किन गाउँ छाड्दै गएका छन् र किन बढी सहरमा नै बस्ने गर्दछन् ? त्यसबारे मलाई केही भन्नु छैन तर मेरो यो स्पष्ट विचार छ कि नेपाल गाउँहरूको देश हो र देशको विकासका लागि गाउँ तहबाट नै विकासको कार्यमा ध्यान दिनु पर्छ । मेरो घर त अहिले बन्यो, र गाउँको विकासको लागि मैले सधँै नै ध्यान दिने प्रयत्न गर्ने वा त्यो भन्दा बढी सपनाहरू देख्ने गरेको छु । त्यसकारण सबै गाउँहरूको विकासको लागि प्रयत्न गर्नुता मेरो लागि सम्भव छैन । तैपनि सम्भव भएजति ओखरकोट, त्यसका आसपासका गाउँहरूको विकासमा मैले सधैँ सकेसम्म प्रयत्न गर्ने गरेको छु र मेरो त्यो काममा मैले भन्दा बढी दुर्गाले मद्दत गर्ने गरेकी छन् ।

यहाँ सायद यो कुराको चर्चा गर्नु पनि अप्रासंगिक हुने छैन कि गाउँको विकासका लागि प्रयत्न गरेको हुनाले नै दुर्गाले धेरै आलोचना र गाली पनि खानु परेको छ । यो कुरा स्पष्ट छ कि दुर्गाले गाउँको विकासका लागी कामहरू नगरेको भए दुर्गा त्यसरी आलोचना वा गालीको पात्र हुनुपर्ने थिएन । विभिन्न पार्टीका कैयौँ नेता वा कार्यकर्ताले गाउँको विकासको लागि कुनै प्रयत्न गर्दैनन् । त्यसैले उनीहरू विवादको पात्र बन्नु पर्दैन तर हाम्रो विषयमा के हुन्छ भने, मैले गाउँको विकासका लागि कैयौँ योजनाहरू बनाउँछु, दुर्गाले त्यसलाई कार्यान्वयन गर्ने प्रयत्न गर्दछिन् । त्यसैले दुर्गा विवादकी पात्र बनेकी छन् । अब घर बनेपछि पनि नयाँ प्रकारको विवाद सुरू भएको छ । जेहोस् त्यो घरको निर्माण मेरो गाउँप्रतिको माया र गाउँका साथै देशभरका सबै गाउँहरूको विकासको सपनासित जोडिएको छ । त्यो घर त्यसैको प्रतिरूप हो ।

तात्कालिक राजनीतिक अवस्थालाई मसालले कसरी हेरिरहेको छ, यहाँहरूका आगामी कार्यक्रम के छन् ?
जस्तो कि पहिले पनि भनियो, प्रतिगमनको खतरा अहिले देशको प्रमुख समस्या हो । त्यसका विरूद्ध संघर्ष गर्नु नै हाम्रो तात्कालिक आवश्यकता हो । त्यस बाहेक देशका अरू पनि कैयौँ समस्याहरू छन्, जस्तो कि राष्ट्रियताको प्रश्न, एमसीसीका विरूद्धको प्रश्न, संघीयताका विरूद्धको संघर्षको प्रश्न, जनजीवनसित जोडिएका कैयौँ समस्याहरू, भ्रष्टचार, महंगी आदि । तत्काल राष्ट्रिय सभाको चुनावको प्रश्न पनि अगाडि आएको छ । ती सबै प्रश्नहरूमा आवश्यकता अनुसार नीति र कार्यक्रमहरू बनाउँदै हामी अगाडि बढ्दै जानेछौँ ।

तपाईले राष्ट्रिय सभाको चुनावको कुरा उठाउनु भयो । तपाईहरूले गठबन्धनका तर्फबाट राजेश वि.क. (तुलप्रसाद विश्वकर्मा) लाई पनि लुम्बिनीबाट राष्ट्रिय सभाको उम्मेदवार बनाउनु भएको छ । त्यसबारे पनि केही बताउदिनु हुन्छ कि ?
यो चुनावले गठबन्धनको एकतालाई अरू ठोस बनाएको छ । हामीले देशभरि नै राष्ट्रिय सभाको चुनावमा मिलेर जाने निर्णय गरेका छौँ । त्यसमा सफलताको पनि हामीले धेरै आशा गरेका छौ । का. राजेश नेपालको प्रजातान्त्रिक, वामपन्थी र सांस्कृतिक आन्दोलनको एउटा अगुवा नेता हुनुहुन्छ । उहाँले गत करिब आधा सताब्दिदेखि लगातार इमान्दारिता र दृढतापूर्वक त्यो आन्दोलनमा काम गर्दै आउनु भएको छ । त्यसकारण उहाँको विजयमाथि हामीलाई पुरा विश्वास छ ।

हामीले का. राजेश मात्र होइन, गठबन्धनका अरू सबै उम्मेदवारहरूलाई पनि जिताउन प्रयत्न गर्नेछौँ । त्यसैले हाम्रो उम्मेदवार भएको लुम्बिनी प्रदेशमा मात्र होइन अन्य सबै प्रदेशहरूमा पनि ५ दलीय गठबन्धनका तर्फबाट संयुक्त समितिहरू बनाएर सामूहिक रूपले नै आफ्ना उम्मेदवारहरूलाई जिताउन प्रयत्न गर्नेछन् । हाम्रो त्यो विजय प्रतिगमनमाथिको अर्काे एउटा धक्का हुनेछ ।
(अन्तर्वार्ताः विद्यानाथ अधिकारी)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार