एमसीसी सकस : ओली फकाउँदै देउवा र अमेरिकी राजदूत

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा अमेरिकी राजदूरत र्‍याण्डी बेरीले दौडधुप बढाएका छन् । सत्तारुढ दलहरुबीच सहमति नभएपछि राजदूत बेरीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग हारगुहार गर्न थालेका छन् ।

यस्तै, नेपाली कांग्रेसका नेताहरुले समेत एमाले अध्यक्ष ओलीलाई भेटेर एमसीसी पास गर्न सहयोग मागेका छन् । एमाले एमसीसीको पक्षमा भएपनि हाल कायम रहेको पाँच दलीय गठबन्धन टुटाउन प्रयासरत छ । गठबन्धन तोड्ने विषयमा कांग्रेस सहमत भएमा संसदबाट कांग्रेससँग मिलेर एमसीसी पास गर्न सकिने ओलीले वचन दिएको सार्वजनिक भएको छ ।

ओलीसँग अमेरिकी राजदूत बेरीको १ घण्टा वार्ता
यसैबीच नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले मंगलबार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। ओलीलाई उनले भक्तपुरको बालकोटस्थित निवासमै गएर भेट गरेका हुन् ।

पूर्वप्रधानमन्त्री ओली र राजदूत बेरीबीच बिहान साढे १० बजेदेखि करिब एक घण्टा भेटवार्ता भएको थियो। एमसीसी० संसदबाट पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच मतान्तर भइरहँदा अमेरिकी राजदूत बेरीले एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् ।

आगामी फेब्रुअरी २८ (फागुन १६) सम्म एमसीसी पास गर्ने समय अमेरिकाले दिएको अवस्थामा प्रतिपक्षी दलका नेता मनाउन राजदूत बेरी बालकोट पुगेका थिए।

ओली भेट्न शेखर कोइराला पनि बालकोटमा
यता, एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच पनि मंगलबार साँझ भेटवार्ता भएको छ। ओली निवास बालकोटमा भएको अढाई घण्टा लामो भेटघाटका क्रममा एमसीसीकै विषयमा कुरा भएको छ ।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार भेटघाटको पहिलो मुद्दा एमसीसी थियो भने संसदमा चार महिनादेखिको गतिरोध र स्थानीय तह निर्वाचनलगायत समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो ।

पछिल्लो केही समययता एमसीसीलाई लिएर सत्ता गठबन्धनमा तीव्र मतभेद छ । यसैले गठबन्धन रहने या नरहने विन्दुमा घटनाक्रम पुगिसकेको छ। यस्तो अवस्थामा कुनै पनि शर्तमा एमसीसी संसदबाट पास गराउने दिशामा कांग्रेस पुगेको छ ।

सो भेटमा दुई नेताबीच एमसीसीलाई संसदमै लगेर छिनोफानो गर्नेबारे छलफल भएको थपलियाले बताए । ‘एमसीसीबारे कांग्रेस र एमालेबीचको खासै धेरै मतभेद नरहेको अवस्थमा दुई पार्टी मिलेर यसलाई अघि बढाउन सकिने सम्भावनाको पनि खोजी भएको छ’ उनले भने ।

गत भदौदेखि एमालेले सभामुखविरुद्ध आन्दोलन गरेर संसदमा अवरोध जारी राखेको छ । एमालेले आफ्ना १४ सांसदमाथि गरिएको कारबाहीको सूचना नटाँसेका सभामुखले माफी मागे या राजीनामा दिएमा मात्रै संसद खुल्न सक्ने शर्त राखिरहेको छ । दुई नेताबीच संसद खुलाउने उपायबारे पनि कुरा भएको थियो । संसद नखुलेसम्म एमसीसीले त्यहाँ प्रवेश पाउन नसक्ने भएकाले कांग्रेस पनि विकल्पको खोजीमा छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीलाई यथास्थितिमा स्वीकार गर्न नमान्ने भएकाले एमालेलाई साथमा लिएर भए पनि एमसीसी पास गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । गठबन्धन नभत्किएसम्म एमसीसीबारे मौन रहने एमालेको अडानका कारण देउवा समस्यामा परिरहेका बेला शेखरले ओलीलाई भेटेका हुन् ।

संसद बैठक पाँच दिनका लागि स्थगित
यता, एमसीसीका सम्बन्धमा कांग्रेस–एमालेबीच सघन वार्ता चलिरहँदा सहमतिका लागि भन्दै संसद बैठक पाँच दिनका लागि स्थगित भएको छ ।

सरकारले माघ २६ गतेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अकस्मात स्थगित गरेको हो । अब संसद बैठक फागुन २ गते बस्ने छ ।

त्यतिबेलासम्म एमसीसी पास गर्नेबारे कांग्रेस र एमालेबीच सहमति गर्ने प्रयासमा यी दुई दल छन् । अमेरिकी राजदूत बेरीले पनि सोही प्रयोजनका लागि आफ्नो सक्रियता बढाएका छन् ।

यो अवधिमा कांग्रेस र एमालेबीच सहमति भएमा पाँच दलीय गठबन्धन भत्किएर यी दुई दलबीच अर्को गठबन्धन बन्ने छ भने संसदबाट एमसीसी पनि सहजै पास हुने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार