एमसीसी

आईसियू कक्षमा छटपटाई रहेको थियो देश
छिटो छिटो चल्दै थियो
मुटुको धड्कन
फेर्दै थियो देशले छिटो छिटो स्वास
र मृत्युको
अन्तिम मुखमा थियो देश !

हतार र हतासमा थिए डाक्टरहरू
कोही
रगतका पोकोहरु समातेर
दौडिन्थे आईसियू तिर
कोही स्क्यान लिदै थिए देशको
कोही हेर्दै थिए रिपोर्ट
र कोही
तयार हुदै थिए अप्रेशनको लागि !

अस्पताल बाहिर थिए
लाखौ करोडौ देशबासी नेपालीहरू
कोही आत्तिदै धिए
कोही आताङ्कित थिए
कोही देश बचाऔं भन्दै चिच्चाउदै थिए
कसैले सोध्यो-
आईसियू कक्षका चिफ डाक्टरलाई
डाक्टर साहेब
के भएछ देशलाई
हतारिदै
चिफ डाक्टरले भने-
देश भित्र एमसीसी सङ्क्रमण भएछ
देश भित्र एमसीसी आक्रमण भएछ !!

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार