संघीयताको अभिशाप

देशलाई खण्डखण्ड पार्नेहरू!
के तिमीहरूले कहिल्यै सोच्यौ—
सिंहदरबार टुक्र्याएर न्याय आउँछ?
सिमाना चिर्दै स्वतन्त्रता बढ्छ?

संघीयताको नाममा तिमीहरूले
एउटा नक्सालाई टुक्र्यायौ,
एउटा राष्ट्रलाई विभाजन गर्यौ,
र हाम्रा सपनाहरूलाई खण्डहर बनायौ।

सगरमाथाको चुचुरो अझै अटल छ,
तर तिमीहरूको सोच— टुक्रिएको हिमाल जस्तै!
गण्डकी, कोशी, कर्णाली अझै बगिरहेका छन्,
तर तिमीहरूको मन— सुख्खा बालुवाजस्तै!

संघीयता!
तिमी समानताको खोल ओढेर आयौ,
तर बिउ रोप्यौ— असमानताको,
तिमी अधिकारको गीत गाएर आयौ,
तर फूलायौ— स्वार्थको काँडा।

देश भनेको केवल भूमि होइन,
यो सपनाहरूको एउटा महल हो,
जहाँ भाषा, संस्कृति, जात, धर्म
सबै मिलेर बस्छन्— एउटै आँगनमा।
तर तिमीहरूले त्यो आँगन भत्कायौ,
घरका मान्छेबीच पर्खाल ठड्यायौ।

संघीयताको नाममा सिमाना कोर्नेहरू,
याद गर!
देश भनेको रक्तबीज होइन,
यसलाई काट्दैमा टुक्रिन्न।
यो त एउटा आत्मा हो—
जो भत्किए पनि बाँच्छ,
जलाए पनि उठ्छ,
र अन्ततः आफैलाई सम्हाल्छ!

संघीयताको अभिशाप नसच्याएसम्म,
यो धर्ती रोइरहनेछ,
यो आकाश कराइ रहनेछ,
र एक दिन इतिहास आफैंले फैसला गर्नेछ—
“जसले देश टुक्र्यायो,
उनीहरू आफैं खरानी भए!”
।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार