मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन भव्य रुपमा सम्पन्न (फोटा फिचर सहित)

  • “सबैखाले चुनौतीको सामना गर्न सक्षम छौँ : केसी”
  • फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष दुर्गाबहादुर केसीले मूल प्रवाह सबैखाले भ्रम, चुनौती र आक्रमणको सामना गर्न सक्षम रहेको बताउनुभएको थियो ।

    भारतस्थित प्रवासी नेपालीहरुको अभिभावक संगठन मूल प्रवाहको आठौं अखिल भारत सम्मेलनको उद्घाटन गर्दै समाजका अध्यक्ष केसीले मूल प्रवाह विभिन्न समयमा विभिन्न खाले भ्रम र आक्रमणको सफलतापूर्वक सामना गर्दै यो अवस्थासम्म आइपुगेको बताउनुभयो ।

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजका समेत अध्यक्ष रहेका केसीले सबैखाले चुनौती विरुद्ध एकताबद्ध भएर मूल प्रवाहले सशक्त प्रतिवाद गर्ने दृढता व्यक्त गर्नुभयो । उहाँले मूल प्रवाहलाई जनजनको बिचमा अझै स्थापित गर्दै जाने प्रतिवद्धता समेत प्रकट गर्नुभयो ।

    विशिष्ट अतिथिको आसनबाट बोल्दै वामपन्थी नेता आनन्द शर्माले नेपाली जनताले यतिबेला एकातिर राष्ट्रियताको रक्षा र अर्कातिर जन आन्दोलनका उपलब्धिहरूको रक्षाको लागि आन्दोलन गर्नुपरेको बताउनुभयो । यी दुबै आन्दोलनलाई नेकपा (मसाल)ले सैद्धान्तिक र वैचारिक रुपमा नेतृत्व गरेको उहाँले बताउनु भयो । शर्माले अमेरिकी सहायता परियोजना एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने नेकपा मसालको स्पष्ट धारणा रहेको समेत प्रष्ट पार्नुभएको थियो ।

    उद्घाटन समारोहमा भारतीय कम्युनिष्ट पार्टी (माले) रेडस्टारका कामरेड उर्मिला, राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु कुमार क्षेत्री, अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डे, अखिल नेपाल किसान महासंघ (अफ्फा)का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मी, अखिल (छैटौं)का केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवर, जातीय समता समाजका केन्द्रीय अध्यक्ष तथा राष्ट्रियसभा सदस्य राजेश विक, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकि, साउदी अरब नेपाली एकता समाजका अध्यक्ष राजकुमार धितालले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

    त्यस्तै सम्मेलन सफलताको शुभकामना दिने अन्य वक्ताहरुमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोविन्द बिसी, तराई-मधेस जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल नेपाल महिला संघका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेशसभा सदस्य तारा जिसी, अखिल नेपाल बुद्धिजीवी संघका सचिवालय सदस्य दुर्गानाथ खरेल, कतार नेपाली एकता समाजका गंगाधर रेग्मी, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य महेश रिजाल, अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय उपाध्यक्ष उषा खड्का, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यहरु नारायण जिसी, यमलाल पोखरेल, देवी शर्मा, मञ्जु परियार, लगाएत हुनुहुन्थ्यो ।

    उपाध्यक्ष कपिल खनालको अध्यक्षता तथा महासचिव ठाकुर खनालको सञ्चालनमा सम्पन्न उद्घाटन समारोहमा स्वागत रक्तिम कलाकार तथा उपाध्यक्ष प्रेम पौडेलले गर्नुभएको थियो । कार्यक्रमको बिचबिचमा रक्तिमका कलाकारहरुले जनवादी गीत तथा नृत्यहरुप्रस्तुत गरेका थिए ।

    “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार एवं समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं” भन्ने मूल नारा सहित फरीदावादमा २७ फरवरीदेखि १ मार्चसम्म मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन सम्पन्न भएको हो ।
    सम्मेलनको उद्घाटन समारोह सुरु हुनुपूर्व भारतभरीबाट आएका हजारौँ कार्यकर्ता, सदस्य शुभचिन्तकहरुले मार्चपास गर्दै “नेपाली एकता जिन्दावाद, संसारका मजदुर एक हौं, संघीयता खारेज गर, एमसीसी चाहिँदैन” जस्ता गगनभेदी नाराहरु लगाउँदै फरीदावाद शहर परिक्रमा गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार