रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक एवं महिला बिभागको आयोजनामा ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस एवं आठौँ सम्मेलन सन्देश सभा कार्यक्रम सम्पन्न भएको छ ।
महिला बिभागकी सिता परियारको अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा केन्द्रीय परिषद सदस्य सुभाष गौतम नगर सदस्य गणेश शर्मा, साबित्रा दमसे, विक्की परियारले अतिथि आसन ग्रहण पछि संसार भरिका चिर परिचित शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रममा उपस्थित जनसमुदायलाई सिता परियारले शब्दद्वारा स्वागत गर्नुभएको थियो । सुभाष गौतमले आठौँ अखिल भारत सम्मेलनको सन्देश दिँदै नवनिर्मित समितिले जोस जाँगरका साथ भारतस्थित नेपालीहरुको समस्या समाधान गर्न हमेशा तयार रहेको बताउनुभयो ।
गौतमले देश तथा विदेशमा रहनुभएका महिलाहरू माथि हुने शोषण दमन र अत्याचार विरुद्ध आवाज उठाउने र न्याय दिलाउने हामी सबैको दायित्व हो भन्दै ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिनुभएको थियो ।
नगर समितिबाट गणेश शर्मा, विक्की परियार, साबित्रा दमसे, कल्पना परियार र तारा गौतमले पनि आ-आफ्नो मन्तब्य राख्नु भएको थियो। कार्यक्रम सञ्चालन नगर समितिका उपाध्यक्ष उषा विकले गर्नुभएको थियो ।