उपसभामुख दिने हल्ला मात्रै : पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधिसभाकी सांसद दुर्गा पौडेलले आफूलाई उपसभामुख दिने विषय हल्ला मात्रै भएको बताउनु भएको छ ।
युगदर्शन साप्ताहिकलाई प्रतिक्रिया दिँदै सांसद पौडेलले भन्नु भयो– “यो नितान्त हल्ला हो । यसमा कुनै आधार छैन ।” पत्रपत्रिका तथा अनलाइनहरुमा आएका त्यससम्बन्धी समाचारको बारेमा उहाँले भन्नुभयो– ‘पत्रपत्रिका, अनलाइनले कुन आधारमा समाचार लेखे ? त्यो मलाई थाहा छैन ।’ उहाँले मिडियाहरुले समाचार लेखे पनि त्यसबारे ठोस आधार दिन नसकेको बताउनु भयो । “मिडियाहरुले के आधारमा समाचार लेखे ? त्यस्तो आधार उनीहरुले पनि दिन सकेका छैनन” राजमो नेतृ पौडेलले अगाडि भन्नु भयो– “हाम्रो पार्टीमा सत्तारुढ नेकपाको तर्फबाट कुनै आधिकारीक प्रस्ताव आएको छैन ।” उहाँले मिडियाहरु आफैले अन्दाजको भरमा आफूलाई उपसभापति बनाइने समाचार लेखेको बताउनु भयो ।

मिडियामा सभामुख सुभाषचन्द्र नेम्वाङ वा शिवमाया तुम्बाहाम्फेमध्ये कुनै एकलाई र त्यसरी उपसभामुखमा तपाईलाई अड्कल गरिएको हो कि भन्ने जिज्ञासामा उहाँले भन्नुभयो– ‘त्यो त अड्कल नै हो ।’ ‘मैले कहीँकतै यसखालको कुरा गरेकी छैन’ उहाँले भन्नुभयो– ‘त्यत्तिकै अड्कलका बारेमा कसैले समाचार बताउँछ भने त्यसमा मेरो केही भन्नु छैन ।’

समाचारमा तपाईका लागि मन्त्री मान्दै वार्ता चलिरहेको पनि बताइएको छ भन्ने बारेमा हामीले जिज्ञासा राख्दा सांसद पौडेलले भन्नभयो– ‘मलाई मन्त्री बनाउन वार्ता चलिरहेको समाचार त धेरै पुरानो भइसक्यो । त्यसबारे हामीले आधिकारीक रुपमा नै थुप्रै वक्तव्य जारी गरिसकेका छौं । अब त्यसखालको अड्कलबाजीको कुनै अर्थ छैन ।’ उहाँले आफ्ना विरुद्ध पहिले मन्त्री बन्ने समाचार फैलाइएको र त्यसले काम नगरेपछि अब फेरि उपसभामुख बन्ने हल्ला चलाइएको बताउनु भयो । ‘यसखालको हल्ला नचलाइएको भए हुन्थ्यो’ उहाँले भन्नुभयो– ‘यस प्रकारको तरिकाले सम्बन्धित मिडियाको नै विश्वासनीयता घट्न नि ।’

उहाँले पुस २ गते मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे छलफल गर्न दलहरुलाई बोलाएको जानकारी दिनुभयो । पुस ४ गतेबाट मात्र सभामुखको बारेमा आधिकारी छलफल सुरु हुन्छ भन्दै उहाँले यस्तो अड्कलबाजीमा नलाग्न मिडियाकर्मीलाई आग्रह गर्नुभयो । ‘यतिखेर राजधानीमा नै नेकपाको बैठक चलिरहेको छ । त्यो बैठक समेत सभामुखबारे टुङ्गो लागेको मलाई थाहा छैन’ उहाँले अगाडि भन्नु भयो– ‘सम्बन्धित पार्टीले नै टुङ्गो नलागेको विषयमा कसैले अड्कलवाजी गर्न उचित हुँदैन ।’

युगदर्शनसितको प्रतिक्रियामा उहाँले सभामुख को होला ? त्यो भन्दा पनि मुलुकलाई सभामुख तत्कालै चाहिएको बताउनुभयो । ‘सभामुख नहुँदा थुप्रै विधेयकहरु रोकिएका छन् । त्यसकारण यथाशीघ्र सभामुख चयन हुनुपर्दछ’ उहाँले भन्नुभयो– ‘त्यसबारे संसदको आफ्नै विधि, प्रक्रिया छ । संसदमा रहेका दलहरुले त्यही विधि, प्रक्रियामार्फत् त्यसबारे निर्णय लिनेछन् । त्यसबारे अड्कलबाजी गरेर पत्रिकाको लोकप्रियता बढाउने प्रयास नगरौँ ।’

प्रतिक्रिया दिने क्रममा उहाँले जोड दिएर भन्नुभयो– ‘मलाई उपसभामुख दिने । नदिनेबारे सत्तारुढ दलले हामीसित कुनै प्रकारको आधिकारीक प्रस्ताव, वार्ता, संवाद केही पनि गरेको छैन, न त अरु कुनै पार्टीले नै त्यसबारे हामीसित कुराकानी गरेका छन् ।’ उहाँले अगाडि थप्नुभयो– “राष्ट्रिय जनमोर्चाले पनि हामीलाई सभामुख चाहियो भनेर निर्णय गरेको छैन । त्यसकारण कुनै पार्टीसित सभामुख वा उपसभामुखको सवालमा वार्ता–संवाद वा प्रस्ताव लैजाने कुरा पनि भएन ।’ उहाँले मिडियालाई जिम्मेवार भएर समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘मिडियामा चर्चाका लागि समाचारमा अड्कलवाजी गर्ने वा अतिरञ्जित गर्ने कमजोरी बेलाबखत देखिन्छन् । अहिले मेरो बारेमा लेखिएका समाचारहरु पनि त्यही प्रकृतिका हुन् । त्यसलाई त्यही रुपमा बुझ्न अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार