विष्णु शर्माको सक्रियता र दृढता लोभलाग्दो : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दिवंगत रक्तिम सांस्कृतिक अभियानका कोषाध्यक्ष विष्णु शर्माको सक्रियता लोभलाग्दो भएको बताउनुभएको छ ।

शर्माको निधन भएको १४ औँ दिनमा रक्तिम सांस्कृतिक अभियानले काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष केसीले पार्टीमाथि चौतर्फी आक्रमण भइरहेका बेला शर्माले पार्टीको नीति र रक्तिम अभियानलाई दृढतापूर्वक अगाडि बढाएको बताउनुभयो ।

‘विष्णु शर्माले पार्टी नीतिलाई सक्रियता र दृढतापूर्वक अघि बढाउनुभएको थियो । एमसीसीविरुद्धलगायतका आन्दोलनमा पनि उहाँको सक्रियता लोभलाग्दो थियो’ अध्यक्ष केसीले भन्नुभयो, ‘पार्टी र रक्तिम परिवारमाथि चौतर्फी आक्रमण भइरहेको बेला पार्टी नीतिलाई दृढतापूर्वक अघि बढाउने शर्माको निधनले आन्दोलनलाई धेरै नै क्षति पुगेको छ।’

अध्यक्ष केसीले विष्णुको निधन भएपछि कतिपय अराजक तत्वहरुले विभिन्न भ्रम फैलाउन प्रयास गरेको भन्दै विष्णु शर्मा मसालको नीतिप्रति दृढतापूर्वक अघि बढेकै कारण पार्टीलाई कमजोर बनाउन सकिन्छ कि भनेर भ्रम फैलाउन खोजिएको बताउनुभयो ।

साथै, केसीले आन्दोलनमा लाग्ने नयाँ पिँढीले आफू र आफ्नो परिवारको ख्याल गर्नुपर्ने बताउनुभयो । आफूलाई पनि माया गर्दै आन्दोलनमा लाग्न उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले विष्णु शर्मालाई बचाउन निकै प्रयास गरेपनि असफल भएको बताउनुभयो । उहाँले छोटो जीवनमा विष्णु शर्माले पार्टी, क्रान्ति र देशलाई ठूलो योगदान दिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा दिवंगत विष्णुका दाजु गुणनीधि शर्माले राजनीतिक आन्दोलनमा लाग्ने व्यक्तिहरुले आफ्नो स्वास्थ्यसँगै परिवारको अवस्थाको पनि ख्याल गर्नुपर्ने शिक्षा भाइ विष्णुको असामयिक निधनले दिएको बताउनुभयो ।

रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाले विष्णुको जीवनीबारे चर्चा गर्नुभएको थियो । श्रद्धाञ्जली कार्यक्रममा विष्णुकी आमा, दाजुसँगै श्रीमती तथा रक्तिमकी कलाकार समीक्षा श्रेष्ठलगायत आफन्तजन उपस्थित हुुनुहुन्थ्यो ।

रक्तिमका केन्द्रीय सचिव हेमराज आश्रमले सञ्चालन गर्नुभएको श्रद्धाञ्जली सभामा विभिन्न जनवर्गीय संगठनका नेता, कार्यकर्ता तथा आफन्तजनले विष्णुको फोटोमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कोषाध्यक्ष शर्माको गएको फागुन २४ गते ३२ वर्षको उमेरमा उपचारकै क्रममा काठमाडौंमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार