कवितामा महिला साहित्यकारले पारिजातको उचाइ छोएका छन्

प्रगतिशील लेखक सङ्घको उनन्तिसौँ परिसंवाद सम्पन्न

प्रकाश थापा मगर

काठमाडौँ । प्रगतिशील लेखक सङ्घका केन्द्रीय सल्लाहकार डा. विन्दु शर्माले कवितामा महिला साहित्यकारले पारिजातको उचाइ छोएको दावी गर्नुभएको छ । २०७६ पुस ४ गते केन्द्रीय कार्यालय बागबजारमा आयोजित प्रलेसको उनन्तिसौँ परिसंवादमा विषयवस्तु प्रस्तुत गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो ।

‘नेपाली साहित्यअन्तर्गत कविताको क्षेत्रमा प्रगतिशील र गैरप्रगतिशीलमा दुई उचाइ छन् : एउटा– पारिजात र अर्को– वानिरा गिरी’ उहाँले अगाडि भन्नुभयो– ‘पारिजात प्रगतिशील साहित्यकी उचाइ हुन् ।’ उदाहरणका रूपमा थुप्रै महिला साहित्यकारको नाम उल्लेख गर्दै उहाँले महिला कविहरूले स्तरीय कविता सृजना गरेको बताउनुभयो । उहाँले नेपाली प्रगतिशील महिला कविहरूको यो स्थिति गर्व गर्नलायक रहेको बताउनुभयो । तर त्यही स्थिति आख्यान, निबन्ध, नाटक, समालोचनामा नरहेको पनि उहाँले बताउनुभयो ।

‘पारिजातले जसरी आख्यानमा नयाँ उचाइ छोएकी छिन्, त्यो उचाइ त्यसपछिका प्रगतिशील महिला साहित्यकारले छुन सकेका छैनन्’ उहाँको भनाइ थियो– ‘जसरी पारिजातले निबन्धमा उचाइ कायम गरेकी छिन्, त्यसयताका पुरुष साहित्यकारले पनि त्यस्तो गर्न सकेका छैनन् ।’ त्यसैगरी नाटक पनि महिला साहित्यकारले कमै लेखेको उहाँको दावी थियो । समालोचना विधा त त्यसै पनि अप्ठेरो भएको, त्यसका लागि सिद्धान्त र शिल्पकला दुवैको राम्रो ज्ञान चाहिने भन्दै उहाँले महिला साहित्यकारले समेत समालोचना क्षेत्रमा कम कलम चलाएको बताउनुभयो ।

प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम उपाध्यक्ष सुशीला प्रधानाङ्गको अध्यक्षता तथा महासचिव समीरसिंहको सञ्चालनमा अघि बढेको थियो । डा. विन्दु शर्माले विषयवस्तु प्रस्तुत गर्नुभएपछि फ्लोरबाट डा. गोविन्द आचार्य, चूडामणि गिरी, गङ्गा कर्माचार्य, गोविन्द घिमिरे, डा. धु्रव घिमिरे, वासुदेव अधिकारी, आरसी न्यौपाने, शालिकराम तिमिल्सिना, मिसन अधिकारीलगायतले पूरक टिप्पणी राख्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार