युवक संघको परिषद् सम्पन्न

धनगढी । अखिल नेपाल युवक सङ्घको प्रथम राष्ट्रिय परिषद् सम्पन्न भएको छ । २०७६ पुस ७ र ८ गते कैलालीको धनगढीमा राष्ट्रिय परिषद् बैठक सम्पन्न भएको हो ।

बैठकको उद्घाटन युवक सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरेले गर्नुभएको थियो । सो अवसरमा सम्बोधन गर्दै उहाँले यतिखेर देश सीमा अतिक्रमण, नागरिकता विधेयक, भ्रष्टाचार अनियमिताको माझमा रहेको बताउनुभयो । देशभरिका सचेत युवकहरूको काँधमा यी बेथितिका विरुद्ध आवाज उठाउने अभिभारा आइपरेको बताउँदै उहाँले तिनै विषयमा निर्णय गर्नका लागि अखिल नेपाल युवक सङ्घले राष्ट्रिय परिषद् बैठक आयोजना गरिएको जानकारी दिनुभयो ।

पहिलो दिन सम्पन्न उद्घाटन समारोहमा बरिष्ठ वामपन्थी नेता रामचन्द्र भट्ट, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्ट, तराई–मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल (छैठौं) का अध्यक्ष विमल पोख्रेल, युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष एवं सल्लाहकार तिलक थापा, जातीय समता समाजका महासचिव गोविन्द विक, अखिल नेपाल कानुन व्यवसायी सङ्घका केन्द्रीय सदस्य लालबहादुर जाग्रीलगायत नेताहरूले शुभकामना मन्तव्य व्यक्त दिनुभएको थियो ।

परिषद् बैठकको सो उद्घाटन कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यद्वय नन्दराज भट्ट र लोकेन्द्र लम्साल, युवक सङ्घका केन्द्रीय उपाध्यक्षहरू लक्ष्मण पुन र चित्र एमसी, केन्द्रीय सचिव भक्त विक, राजमो कैलालीका अध्यक्ष दयाराम सञ्ज्याल, राजमो कञ्चनपुरका अध्यक्ष रामबहादुर कार्की, राजमो डोटीका सचिव केशवनाथ योगीलगायतको समेत आतिथ्यता रहेको थियो ।
सङ्घका उपाध्यक्ष मुकुन्द रोक्काको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन महासचिव कृणराज पाण्डेले तथा स्वागत सचिव प्रशान्त थापाले गर्नुभएको थियो ।

परिषद् बैठकले राष्ट्रघाती नागरिकता विधेयक र भ्रष्टाचार विरुद्ध “मेची–महाकाली खबरदारी अभियान” सञ्चालन गर्ने निर्णय भएको महासचिव कृष्णराज पाण्डेले बताउनुभयो । महासचिव पाण्डेका अनुसार आगामी माघ १५ देखि २९ गतेसम्म १५ दिने “मेची–महाकाली खबरदारी अभियान” सञ्चालन गरिने भएको छ । अभियानको उद्घाटन माघ १५ गते कञ्चनपुरमा हुने छ भने माघ २९ गते झापाको बिर्तामोडमा समापन हुने छ । कार्यक्रमको विस्तृत कार्यतालिका केही दिनभित्रै सार्वजनिक गर्ने महासचिव पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार