
काठमाडौं । कालिकोटका हिक्मत बहादुर शाहीले आफू रेम रानाले नेतृत्व गरेको रक्तिम सांस्कृतिक अभियानमा दृढतापूर्वक उभिएको स्पष्ट पार्नुभएको छ ।
हालै रक्तिमको नाममा फुटपरस्त तत्वहरुले गठन गरेको कथित समितिमा आफ्नो नाम राखिएकोप्रति शाहीले आपत्ति प्रकट गर्दै सो समूहलाई रक्तिम सांस्कृतिक अभियानको नाम नभजाउन चेतावनी दिनुभएको छ ।
शाहीले बुधबार एक विज्ञप्ति प्रकाशित गरी भन्नुभएको छ, ‘रक्तिम सांस्कृतिक अभियानको नाम भाजिरहन फुटपरस्त तत्वहरुका लागि शोभनीय हुन नसक्ने सुझावका साथ लामो रक्तिम यात्रा पार गरिरहेको रक्तिम सांस्कृतिक अभियान जसको नेतृत्व रेम रानाले गर्नुभएको छ, त्यो नै वैधानिक सांस्कृतिक मोर्चा हो, जहाँ मेरो अटल विश्वास रहेको थियो, रहेको छ र रहिरहने छ ।’
स्मरणीय छ, केही दिन अघि फुटपरस्त समूहले रक्तिम सांस्कृतिक अभियानको नाममा बेग्लै समिति बनाएको बताएका थिए । जसमा राखिएका कतिपय रक्तिम अभियन्ताहरुले आफू सो समूहमा नभएको स्पष्ट पारिसकेका छन् ।
यसअघि सुर्खेतका भानुसिंह बसेलले आफू सो कथित समूहमा नरहेको स्पष्ट पार्नुभएको थियो ।
















