
जुम्ला । दैलेख जिल्लाको भगवतीमाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको लागि एकै घरका बाबु र छोरीले राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् ।
राष्ट्रिय जनमोर्चाको कर्णाली प्रदेस सदस्य नरबहादुर सिंह अध्यक्ष पदमा उम्मेदवार बन्नुभएको छ भने उहाँकै छोरी दुर्गा कुमारी सिंह उपाध्यक्ष पदमा उम्मेदवार बन्नुभएको छ ।
४० वर्षीय नरबहादुर २०५२ सालदेखि नेकपा (मसाल)को राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ । छोरी २१ वर्षीया दुर्गा राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन अखिल (छैठौं)मा सक्रिय हुनुहुन्छ ।
एकै घरका बाबु र छोरी नै किन यसरी उम्मेदवार बन्नुभएको भन्ने हाम्रो जिज्ञासामा नरबहादुर सिंहले भन्नुभयो ‘यसमा विशेष कारण केही छैन । हाम्रो परिवार राष्ट्रिय जनमोर्चाको राजनीतिप्रति असिम आस्था र विश्वास राख्दै आएको परिवार हो । राष्ट्रिय जनमोर्चाको राजनीतिलाई अगाडि बढाउने सिलसिलामा परिस्थितिले म अध्यक्ष पदमा र छोरीले उपाध्यक्ष पदमा उम्मेद्वार बन्नु पर्ने अवस्था आयो ।’
उहाँले आफूहरुले पार्टीले दिएको जिम्मेवारी पुरा गरेको बताउनुभयो ।‘विशेषगरी छोरी र मैले पार्टीले दिएको जिम्मेवारी पूरा गरेका हौं’ सिंहले भन्नुभयो ।
















