बुटवल । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सांसद तारा जिसीले पाँचदलीय गठबन्धन सम्मानजनक नभएको बताउनुभएको छ ।
केन्द्रमा पाँचदलीय गठबन्धन बनेपनि कतिपय जिल्लामा राष्ट्रिय जनमोर्चालाई अलग गरिएको भन्दै उहाँले यसले गठबन्धनको उद्देश्य पुरा नहुने बताउनुभयो । देशलाई प्रतिगमनतर्फ जानबाट रोक्न गठबन्धन गरेको भएपनि दलहरुले केवल निर्वाचन जित्ने रणनीति बनाएको उहाँको भनाई थियो ।
‘गठबन्धन भित्रका दलले मूल उदेश्य विपरित कार्य गरिरहेको भन्दै गठबन्धन विपरीतका यस्ता कार्यले भोली ‘न्याउरी मारि पछुतो’ जस्तै नहोला भन्न सकिँदैन’ उहाँले भन्नुभयो ।
लुम्बिनी प्रदेश सभाको दशौं अधिवेशनको प्रथम बैठकको दोस्रो सेसनको प्रारम्भमा बोल्दै प्रदेश सांसद जिसीले अधिवेशन सफलताको र मुश्लिम धर्मावलम्बीहरूको महान पर्व ईदको पनि शुभकामना ब्यक्त गर्नुभयो ।
स्थानीय निर्वाचनको मुखमा अधिवेशन आब्हान गरेको सरकारको कार्य प्रति कटाक्ष गर्दै नेतृ जिसीले यो केवल औपचारिकता पुरा गरिएको बताउनु भयो।
‘विगत छ महिनादेखि प्रदेशका गतिविधि शून्य छन् र प्रमुख प्रतिपक्षको अवरोध त झन् धेरै समय देखि भएको छ। तैपनि प्रदेशका जनताको जिवनमा केही फरक परेको छैन’ उहाँले भन्नुभयो, ‘यसले यो संघीय प्रादेशिक संरचना औचित्यहिन भएको थप पुष्टि भएको छ। जनताको खुन पसिनाको करबाट उठेको रकममा मन्त्री ज्यू र हामी माननीयहरूले गुलछर्रा उडाएर जनताको लागि सेताहात्ती सावित भएको छ ।’
उहाँ संघीयतासहित प्रदेश संरचना खारेजीको लागि बेलैमा सदबुद्धी पुर्याउन आग्रह गर्नुभयो । यस्तै, उहाँले महंगीले आकाश छोएको भन्दै महंगी नियन्त्रण गर्न ठोस कदम चाल्न माग गर्नुभयो । नेत्री जिसीले एमसीसी सम्झौता राष्ट्रघाती भएको दोहोर्याउनुभयो ।