
काठमाडौं । नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवस –२०२२का अवसरमा ‘प्रविधि नियन्त्रित पत्रकारित’ मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रेस स्वतन्त्रता मानव अधिकारको रक्षक रहेको भन्दै पत्रकारको नीतिगत र पेशागत सुरक्षालाई सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले पत्रकारको सुरक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले बेलाबेलामा सरकारलाई ध्यानाकर्षण गराउँदै आएको भन्दै पत्रकार सुरक्षा कार्यविधि निर्माण गर्न सरोकारवालासँग छलफल गरिरहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले जुनसुकै राजनीतिक दल सरकारमा पुगेपनि प्रेस स्वतन्त्रताको सवालमा निर्धक्क हुने अवस्था नरहेको बताउनुभयो । उहाँले प्रविधिलाई नियमन गर्ने वाहानामा सरकारले प्रेस स्वतन्त्रता खोस्ने कानुन निर्माण गरिरहेको बताउनुभयो ।
उहाँले प्रेस स्वतन्त्रताले समाजका सबै बर्षको आवाजलाई बुलन्द पार्ने भन्दै राज्यलाई प्रेस स्वतन्त्रताको सवालमा संविधानको दायरामा रहन आग्रह गर्नुभयो ।
सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन बहादुर हमालले प्रेसले राज्यका सबै अंगलाई प्रभाव पार्ने भन्दै सरकार र नागरिकलाई सकारात्म दिशातर्फ प्रेरित गर्न भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा गैर पत्रकारको बाहुल्यता बढिरहेको भन्दै त्यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
महासंघका पूर्वसभापति तारानाथ दाहालले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने राज्यको चरित्र आजपनि कायम रहेका कारण प्रेस स्वतन्त्रता दिवसको महत्व बढेको बताउनुभयो ।















