बाबुरामको नगरपालिकामा जसपा र एमालेबीच तालमेल

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर पालुङटारमा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ। गोरखाको पालुङटार नगरपालिकामा जसपाले मेयर लिने र एमालेले उपमेयर लिने गरी चुनावी तालमेल भएको हो।

जसपा जिल्ला अध्यक्ष यानप्रसाद भट्ट र एमाले जिल्ला अध्यक्ष प्रेम गुरूङले चुनावी तालमेल सहमति पत्रमा आज हस्ताक्षर गरेका छन्। ‘स्थानीय तहको निर्वाचनमा गोरखा जिल्ला पालुङटार नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने र उपप्रमुख पदमा जनता समाजवादी पार्टीले नेकपा एमालेको उम्मेदवारलाई सहयोग गर्ने निर्णय भयो‚’ बुधबार जसपा र एमालेद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।

पालुङटार जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर हो। जसपाले कांग्रेसलाई उपमेयर छाड्ने गरी चुनावी तालमेल प्रयास गरे पनि सफल हुन नसकेपछि एमालेसँग तालमेल गरेको हो। पालुङटारमा जसपाबाट प्रेमबहादुर गुरूङ मेयर उम्मेदवार छन्। यहाँ एमालेबाट उपमेयरमा पार्वतीदेवी पाठक उम्मेदवार छिन्। नेकपा माओवादीले पालुङटारमा कसैसँग पनि गठबन्धन गरेको छैन। माओवादीबाट मेयरमा विवश चिन्तन र उपमेयरमा बन्दना पाण्डे उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार