बा, थाम्न सकिनँ मैले तिम्रो बिडो

मीन राना

बा सकिनँ मैले
पितापुर्खाको बिडो थाम्न
आफ्नो खानदानको नाम राख्न ।

यहाँ मालिकहरूका लागि र
मजस्ताका लागि स्कुल फरक छ
खाजा पसल फरक छ
हरेक खजाना खरिद्ने खर्च फरक छ
यस्ता विभेद, मेरो छोरोले देखोस् भन्न सकिनँ
बा, मैले तिम्रो बिँडो थाम्न सकिनँ ।

म हाँसे, हलीको छोरो पनि हाँस्छ भन्छन्
म नाचे, हलीको छोरो पनि नाच्ने रहर गर्छ भन्छन्
मैले अलि राम्रो कुरो गरे
हलीको छोरोले पनि मै हुँ भन्दो रै’छ भन्छन्
कसैलाई बिज्ला भनेर चुप लागेर बस्न सकिनँ
बा, मैले हजुरको बिडो थाम्न सकिनँ ।

मैले उन्नति प्रगति गर्नुहुन्न रे !
जीवन–जगत्बारे सोच्नुहुन्न रे !
मैले कोटमा मार हान्न अघि सर्नुहुन्न रे !
कुनै सभामा मिठा भाषाण गर्नु हुन्न रे !
कस्ता कस्ता कहाँ गए हलीको छोरो !….
भनेर तल पारिन्छ
मैले सहेजस्तै पीडा मेरो छोराले सहोस् भन्न सकिनँ
बा, मैले हजुरको बिडो थाम्न सकिनँ ।

मैले मिठो गाउन हुन्न रे !
मैले कविताको बिस्कुन लगाउन हुन्न रे !
म ढल्केर नाच्नुहुन्न रे !
म मस्केर हाँस्नुहुन्न रे !
मैले मान्छेको जीवन बाँच्नुहुन्न रे !
काजी र कजिनीभन्दा जान्ने हुनुहुन्न रे !
साहुका आफन्तले देख्नेगरी रुनुहुन्न रे !
अड्कलेको हाँसो हाँसेर
अड्कलेर आँशु बगाएर
खुलेर गाउने आकाङ्क्षा दबाएर राख्न सकिनँ
बा, मैले हजुरको बिडो थाम्न सकिनँ ।

मेरा अपूरा सपना भनौँ वा असन्तुष्टिको के मोल ?
मेरो रगतभन्दा
काजी साहेबको थुक महङ्गो छ
बा ! पसिनाले ठालुको हर पखालेर
आँशुका भेलले ठालुको दैलो भिजाएर
पितापुर्खाको बिडो थाम्न लागे
यो युगले सराप्ने छ
भावी पुस्ताले धिक्कार्ने छ ।
समय ढिलो फेरिन्छ भनेर पर्खिरहन सकिनँ
बा, मैले हजुरको बिडो थाम्न सकिनँ ।

कसैलाई केही पिलाएर
वा केही दिलाएर
मुक्ति मिल्छ भन्ने सोच्न थालेँ भने मैले
हाम्रा पितापुर्खाका जवानी पिएर
पुस्तौँदेखि हाम्रा चेलीको कुमारित्व लिएर
खै त हामी ऋणमुक्त भएको ?
खै त हामीले सुख पाएको ?
खै हामीले मान्छेको दर्जा पाएको ?
यी नयाँ नयाँ खुलेका नाराका पसलले पनि
हाम्रा लागि केही गर्लान्जस्तो लागेन
बा, मैले हजुरको बिँडो ठाम्न सकिनँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार