
काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने आवश्यकता भएको बताउनु भएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथिको छलफलमा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताउनु भएको हो ।
उहाँले नेपालले भारतसँग सुघौली सन्धि पछि मुलुक परनिर्भतामा गएकाले विगतमा भारतसँग भएका व्यापार सन्धिहरु पुनरावलोकन हुनु पर्ने आवश्यकता देखिएको बताउनु भयो । पूर्वप्रधानमन्त्री भट्टराईले भारत र नेपालबीचको असमान व्यापार सम्बन्ध तत्काल सच्याउनु पर्ने भएको बताउनु भयो ।
उहाँले नेपालमा सुगाौली सन्धि भन्दा पहिले नेपालबाट भारतमा ५ गुणा बढी निर्यात गर्ने भए पनि त्यसपश्चात नेपालले उल्टो ५ गुणा बढी आयात गर्न लागेको बताउनु भयो । अहिले भारतबाट नेपालले निर्यात भन्दा १५ गुणा बढी आयात गर्न गरेको दाबी गर्नु भयो ।
भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनु सरकारले नयाँ सम्झौता गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो । सरकारले भारतसँग नयाँ सम्झौता गर्दा विशेष सुविधा मागेर सच्याउनु पर्ने भन्दै उहाँले असमान व्यापार सम्बन्ध नसचिए नेपाल सबै परनिर्भर भइरहनु पर्ने बताउनु भयो ।
भौगोलिक हिसाबले चीनबाट सामान आयात र निर्यात गर्दा वस्तुको मूल्य बढ्ने भन्दै उहाँले भारतबाटै सामान आयात निर्यात गर्नुपर्ने बताउनु भयो । अर्थनीति बनाउँदा आफ्नै देशको हितलाई नै केन्द्रमा राखेर राष्ट्रहितका विषयमा छलफल गर्नुपर्ने उल्लेख गर्नु भयो ।
पूर्वप्रधानमन्त्री भट्टराईले निजी सम्पत्तिको अभिलेखीकरणका लागि सरकारले सम्पत्तिको स्वघोषणा कार्यक्रम ल्याउनुपर्ने बताउनु भयो । उहाँले व्यक्तिगत सम्पत्तिमा एकपटक कर मिनाहा गर्नेगरी सम्पत्तिको स्वघोषणा कार्यक्रम सरकारसँग माग गर्नु भयो । भूमिमा निजी स्वामित्वको अन्त्य गर्नुपर्ने भट्टराईले बताउनु भयो । भोगाधिकार व्यक्ति रहे पनि भूमिमाथि राज्य वा समुदायको स्वामित्व स्थापना गर्नुपर्ने भट्टराईले जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्री भट्टराईले गतिहीनता र वैदेशिक परनिर्भरता नै नेपाली अर्थतन्त्र पछाडि पर्नुको मुख्य कारण रहेको बताउनु भयो । उहाँले आगामी वर्षको बजेटमा सरकारले उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमा बल पुग्नेगरी बजेट ल्याउनु पर्ने बताउनु भयो । भट्टराईले नेपाल अझै गरिविको रेखा मुनी रहेको बताउनु भयो ।
उहाँले पछिल्लो समय नेपालको अर्थतन्त्रलाई श्रींलकसँग तुलना गर्न नमिल्ने बताउनु भयो । श्रींलका विगत कुनै समय दक्षिण एसियाकै सबै भन्दा राम्रो अर्थतन्त्र भएको मुलुकमा पर्ने बताउनु भयो । हाम्रो अर्थतन्त्र पुँजीवादमा नै निर्माण गर्न नसकेको अवस्थामा समाजवादमा तत्काल पुग्न नकिने भट्टराईको भनाई छ । त्यस्तै, पूर्वप्रधानमन्त्री भट्टराईले सरकारले अब स्थानीय तहमा ७० प्रतिशत बजेट पठाउनु पर्ने बताउनु भयो ।
















