
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले अरुण–४ गुमेको बताउनुभएको छ ।
विनियोजन विधेयक–२०७९ को सिद्धान्त र प्राथमिकतामाथि २०७९ जेठ ५ गतेको प्रतिनिधि सभा बैठकमा छलफलमा भाग लिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
त्यस क्रममा नेपालका प्रधानमन्त्रीहरू भारत भ्रमणमा जाँदा केही न केही गुम्ने चिन्ता रहने गरेको बताउँदै उहाँले भन्नुभयो– ‘यसपालि लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदी पुग्नुभयो र नेपालको अरुण–४ गुम्यो ।’
उहाँले अगाडि भन्नुभयो– ‘४९ प्रतिशत नेपालको हिस्सा र ५१ प्रतिशत भारतको हिस्सा, कसरी देशको हित हुन्छ ?’
प्रतिनिधि सभा बैठकमा मन्तव्य राख्दै उहाँले नेपाली काङ्ग्रेस, एमाले र माओवादी केन्द्र सबैले नवउदारवादी अर्थनीति अगाडि बढाएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘दलाल पुँजीपतिका कुरा सुनेर नेपाली काङ्ग्रेसले राष्ट्रिय उद्योग निजीकरण गर्याे । त्यसलाई एमाले र माओवादी केन्द्रले त्यसलाई अगाडि बढाए ।’
















