झिमरुकमा माओवादीको ‘सिद्धान्तहीन तालमेल’ : मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले स्थानीय निर्वाचनमा पाँच दलभित्रका कतिपय गलत प्रवृतिका कारण चुनावी तालमेलमा आघात पुगेको बताएको छ ।

पाँच दलीय चुनावी तालमेलको नीतिगत र व्यवहारिक दृष्टिकोणले ऐतिहासिक महत्व भएपनि पाँच दलभित्रबाट देखा परेका गलत तौर तरिकाबाट पाँच दलीय चुनावी तालमेलमा धेरै नै आघात पुग्न गएको मसालको ठहर छ ।

चुनावी तालमेलले गएको निर्वाचनमा भन्दा राष्ट्रिय जनमोर्चालाई केही बढी फाइदा पुगेको मसालको ठहर छ । तर पाँच दलको घोषित नीति विपरित माओवादीको व्यवहारले प्युठानको झिमरुक गुमाउनुपरेको मसालले जनाएको छ ।

विहीबार एक वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले भन्नुभएको छ, ‘अहिलेको स्थानीय चुनावमा हाम्रो सबैभन्दा महत्वपूर्ण पराजय प्यूठानको झिम्रुकमा नै भएको छ । त्यहाँ माओवादीको एमालेसितको गठबन्धन स्वयम् माओवादी–केन्द्रको घोषित नीति र पाँच दलीय गठबन्धनको पनि घोषित नीतिका विरुद्ध थियो । पाँच दलीय गठबन्धनमा हामीले त्यसबारे प्रश्न उठाएका थियौँ । तर त्यस प्रकारको सिद्धान्तहीन गठबन्धनलाई रोक्नको लागि स्वयम् माओवादी–केन्द्रले पनि कुनै ठोस पहल गरेन ।’

वक्तव्यमा भनिएको छ–
‘स्थानीय चुनावको सबै परिणाम आउन अझै बाँकी छ । तैपनि त्यसका अहिलेसम्म जुन परिणाम आएको छ, त्यसबाट पाँच दलीय चुनावी तालमेलको औचित्यता प्रमाणित भएको छ । पाँच दलीय चुनावी तालमेलको नै परिणाम हो कि देशमा प्रतिगमनको नेतृत्व गर्ने एमाले धेरै नै पराजित हुन पुगेको छ । एकातिर पाँच दलले प्राप्त गरेको विजय र अर्कातिर एमालेले प्राप्त गरेको विजयको परिणामलाई तुलना गरेर हेर्ने हो भने एमाले धेरै नै पछाडि रहेको कुरा प्रष्ट छ । त्यसको स्थानीय चुनावपछि त्यो (एमाले) देशको सबैभन्दा ठूलो शक्ति बन्ने घोषणा धराशयी भएको छ । अहिलेको स्थानीय चुनावको परिणामले पाँच दलीय एकताको महत्वलाई बढाउँछ र आगामी प्रदेश र संसदको चुनावमा पनि पाँच दलीय एकता कायम रहन सकेमा प्रतिगमनलाई पूरै पराजित गर्न सक्ने सम्भावनामा कुनै शङ्का रहन्न ।

पाँच दलीय चुनावी तालमेलको नीतिगत र व्यवहारिक दृष्टिकोणले ऐतिहासिक महत्व रहेको भएपनि पाँच दलभित्रबाट नै देखा परेका गलत तौर तरिकाबाट पाँच दलीय चुनावी तालमेलमा धेरै आघात पुग्न गएको छ । कुरा यो मात्र होइन कि आपसमा चुनावी तालमेल वा सिटको बाँडफाँडबारे सही समझ्दारी हुन नसक्दा देशका धेरै ठाउँहरुमा चुनावी तालमेल हुन सकेन । कैयौँ स्थानहरूमा पनि पाँच दलभित्र नै नराम्रो प्रकारको प्रतिस्पर्धा हुन गयो । पाँच दलका बीचमा प्रतिगामी शक्तिसित, अर्थात एमालेसित कुनै तालमेल नगर्ने निर्णय भएको थियो । तर पाँच दलभित्रका कतिपय पक्षहरूले केही शक्तिसित तालमेल गर्ने नीति अपनाए । कतिपय स्थानहरूमा पाँच दलभित्र समझ्दारी भएका उम्मेदवारहरूका विरुद्ध बागी उम्मेदवारहरू पनि उठ्ने काम भयो । पाँच दलभित्रका कतिपय पक्षहरूले नीतिगत रूपमा नै गठबन्धनका विरुद्ध अभियान चलाए । कतिपय निर्वाचन क्षेत्रहरूमा आपसमा समझ्दारी भएर उठाइएका उम्मेदवारहरूका विरुद्ध अन्तरघात गर्ने काम समेत गरियो । यी सबै कारणहरूले पाँच दलीय चुनावी तालमेल देशव्यापी रूपमा सन्तोषजनक प्रकारले कार्यान्वयन हुन नसकेको कुरा पनि प्रष्ट छ । त्यसले गर्दा आउने दिनहरूमा पाँच दलीय चुनावी तालमेलले कहाँ प्रभावशाली प्रकारले काम गर्न सक्नेछ त्यसबारे आशङ्का उत्पन्न भएको छ ।

राजनीतिमा नीतिगत रूपमा इमान्दारिता र विश्वसनीयताले गम्भीर अर्थ र महत्व राख्दछ । देशका धेरै राजनीतिक पार्टीहरूमा त्यस प्रकारको नीतिगत इमान्दारिता र विश्वसनीयताको कमी रहने गरेको पाइन्छ । कतिपय राजनीतिक पार्टीहरूले तात्कालिक फाइदाका लागि स्वयम् आफ्नै नीतिगत प्रतिवद्धताको समेत अतिक्रमण गरेर काम गर्दै गरेका छन् । त्यो कुरा अहिलेको स्थानीय चुनावको सन्दर्भमा पाँच दलभित्रका कतिपय पक्षहरूले अपनाएका त्यस प्रकारका नीतिहरूबाट पनि प्रष्ट हुन्छ ।

त्यस प्रकारको कार्यशैलीबाट तात्कालिक रुपमा केही फाइदा प्राप्त भएपनि दीर्घकालीन रूपमा त्यस प्रकारको कार्यशैलीबाट जनताको राजनीतिक पार्टीहरूमाथिको विश्वास समाप्त हुने वा गम्भीर प्रकारका दुष्परिणामहरू हुने सम्भावना पनि रहन्छ । त्यो अवस्थामा जनताले गैरदलीय विकल्पहरु खोज्ने प्रवृत्तिहरू पनि पाइन्छन् । अहिले राजधानी सहित देशका कतिपय स्थानहरूमा स्वतन्त्र उम्मेदवारहरूले प्राप्त गरेको मतलाई राजनीतिक दलहरूमा देखा पर्ने गरेको नीतिगत, इमान्दारिता र विश्वसनीयताको अभाव वा अवसरवादीतालाई पनि कारणको रुपमा लिन सकिन्छ । त्यही प्रकारको अवस्थामा संसारका कैयौँ देशहरुमा राजनीतिले प्रतिगामी दिशा लिने गरेको पनि पाइन्छ । त्यसैले अहिले देशको राजनीतिमा देखा पर्ने गरेको नीतिगत इमान्दारिता र विश्वसनीयताको खडेरीलाई हामीले सामान्य र तात्कालिक अर्थमा नलिएर भविष्यमा त्यसका गम्भीर परिणाम हुने सम्भावनातिर पनि उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकता छ ।

यो सत्य हो र यो कुरालाई हामीले गर्वका साथ दाबी गर्न सक्दछौँ कि नीतिगत इमान्दारिता र विश्वसनीयतालाई दृढतापूर्वक समातेर काम गर्ने नेपालका राजनीतिक पार्टीहरू मध्ये नेपाल कम्युनिस्ट पार्टी(मसाल)को सर्वश्रेष्ठ स्थान छ । अहिलेको चुनावमा पनि राष्ट्रिय जनमोर्चा नै एक मात्र यस्तो राजनीतिक पार्टीका रूपमा अगाडि आएको छ, जसले पाँच दलीय चुनावी तालमेल र त्यस सन्दर्भमा गरिएको प्रतिवद्धतालाई इमान्दारिता र दृढतापूर्वक लागू गर्ने गरेको छ । खाली केन्द्रीय स्तरमा मात्र होइन, स्थानीय तहमा पनि त्यस प्रकारको नीतिलाई लागू गर्ने विषयमा राजमो प्रतिवद्ध रहेको छ ।

त्यसैले हामीले पाँच दलीय चुनावी तालमेललाई अधिकतम रूपमा कार्यान्वयन गर्ने र एमालेसँग कुनै पनि स्तरमा तालमेल नगर्ने नीतिलाई दृढतापूर्वक लागू गर्ने गरेका छौँ । एमालेसित तालमेल गर्दा विजयको सम्भावना भएका कतिपय स्थानहरूमा पनि हामीले त्यस प्रकारको तालमेललाई अस्वीकार गर्ने गरेका छौँ । त्यस प्रकारको नीति अपनाउँदा कतिपय क्षेत्रहरूमा हामीले पराजयको सामना पनि गर्नु परेको छ । तर त्यस प्रकारको नीतिप्रतिको इमान्दारिता र विश्वसनीयताका कारणले नैतिक रूपमा देशका सबै राजनीतिक पार्टीहरू मध्ये हाम्रो स्थान सबै भन्दा उच्च रहने गरेको छ । अहिलेको स्थानीय चुनावको सन्दर्भमा मात्र होइन, देशको सम्पूर्ण राजनीतिक इतिहासमा हाम्रो पार्टीको त्यस प्रकारको आदर्श रहने गरेको छ । त्यस अर्थमा हाम्रो पार्टी देशका सबै राजनीतिक पार्टीहरु मध्ये अगाडि रहेको र राष्ट्रिय जनमोर्चाले पनि त्यस प्रकारको नीतिलाई अनुशरण गर्दै आएको कुरामा कुनै शङ्का छैन ।

जस्तो कि माथि भनियो, पाँच दलीय चुनावी तालमेलको कारणले चुनावमा एमालेलाई धेरै नै धक्का दिनु सम्भव भएको छ । तर पाँच दलका विभिन्न पक्षहरु मध्ये कतिपय पक्षहरूद्वारा स्वयम् पाँच दलीय प्रतिवद्धतालाई लागू गर्न अपनाइएको ढुलमुल र अवसरवादी नीतिका कारणले प्रतिगमनका विरुद्ध जति उपलब्धि प्राप्त हुन सक्दथ्यो, त्यो हुन नसकेको कुरा प्रष्ट छ । यदि स्थानीय चुनावको त्यस प्रकारको अनुभवको सही समिक्षा गरेर त्यसमा समयमा नै सुधार नगर्ने हो भने आगामी प्रदेश र संसदीय चुनावमा पनि प्रतिगमनलाई पूरै पराजित गर्न मुश्किल पर्नेछ र त्यसलाई पराजित गर्न नसकेमा देश एक वा अर्काे प्रकारले प्रतिगमनतिर जाने सम्भावना रहनेछ । देश प्रतिगमनतिर जानुको अर्थ हुनेछ, जनताको महान आन्दोलनद्वारा प्राप्त ऐतिहासिक उपलब्धिहरू लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता समेतको अन्त । यो साचिँकै दुःखको कुरा हो कि स्वयम् पाँच दलभित्रका कतिपय राजनीतिक पार्टीहरूले देशका त्यस प्रकारका ऐतिहासिक राष्ट्रिय महत्वका विषयहरूप्रति ध्यान हटाएर तात्कालिक वा स्थानीय फाइदाहरूप्रति नै ध्यान केन्द्रित गर्ने गरेका छन् र त्यसका लागि प्रतिगामी शक्तिहरूसित पनि साँठगाँठ गर्ने नीति अपनाएको पाइन्छ । खाली स्थानीय स्तरमा मात्र होइन, केन्द्रीय नेतृत्वद्वारा पनि त्यस प्रकारका नीतिहरूप्रति अवसरवादी र सम्झौतापरस्त दृष्टिकोण अपनाउने गरेको पाइन्छ ।

यो बताउँदा हामीलाई खुसी लागेको छ कि अहिलेको स्थानीय चुनावमा पाँच दलीय चुनावी तालमेलका कारणले राष्ट्रिय जनमोर्चालाई पनि महत्वपूर्ण उपलब्धिहरू प्राप्त भएका छन् । समग्र रूपमा पहिलेको तुलनामा राजमो बढी सिटहरू जित्न सफल भएको छ । बाग्लुङमा एउटा गाउँपालिकाको अध्यक्ष र एउटा नगरपालिका प्रमुखमा हामीलाई विजय प्राप्त भएको छ । त्यसै गरेर अर्घाखाँचीमा एउटा नगरपालिकाको प्रमुख र प्यूठानमा एउटा गाउँपालिकाको अध्यक्षमा हामीलाई विजय प्राप्त भएको छ ।

त्यसरी पहिले बाग्लुङ्गको एउटा पालिकामा हामीलाई विजय प्राप्त भएकोमा अब दुई ठाँउमा विजय प्राप्त भएको छ । अर्घाखाँचीमा पहिले हामीले कुनै स्थानमा प्रमुख पद प्राप्त गरेका थिएनौँ तर अब एउटा थप स्थानमा विजय प्राप्त भएको छ । तर प्यूठानमा पहिलेका दुई स्थानहरुमा हामीलाई विजय प्राप्त भएकोमा अब हामीले एक स्थान मात्र जितेका छौँ र एक स्थानमा हारेका छौँ । उपाध्यक्ष वा उपप्रमुखमा बाग्लुङमा २ र प्यूठानमा २ सिटहरु प्राप्त भएका छन् । गुल्मीको कालिगण्डकीमा पहिले उपाध्यक्षको १ सिट जितेकोमा अब त्यसमा हाम्रो पराजय भएको छ ।

बाग्लुङको काठेखोला र बडीगाड गाउँपालिकामा उपाध्यक्षका पदहरू प्राप्त भएका छन् भने प्यूठानमा स्वर्गद्वारी र ऐरावतीमा थप उपप्रमुख र उपाध्यक्षका पदहरु प्राप्त भएका छन् । कतिपय जिल्लाहरुमा पहिलेको तुलनामा केही बढी नै वडा अध्यक्ष र वडा सदस्यहरुका पदहरुमा पनि हाम्रो विजय भएको छ । त्यसरी समग्र रुपमा पहिलेको तुलनामा स्थानीय चुनावमा थप लाभ पुगेको छ ।

अहिलेको स्थानीय चुनावमा हाम्रो सबैभन्दा महत्वपूर्ण पराजय प्यूठानको झिम्रुकमा नै भएको छ । त्यहाँ माओवादीको एमालेसितको गठबन्धन स्वयम् माओवादी–केन्द्रको घोषित नीति र पाँच दलीय गठबन्धनको पनि घोषित नीतिका विरुद्ध थियो । पाँच दलीय गठबन्धनमा हामीले त्यसबारे प्रश्न उठाएका थियौँ । तर त्यस प्रकारको सिद्धान्तहीन गठबन्धनलाई रोक्नको लागि स्वयम् माओवादी–केन्द्रले पनि कुनै ठोस पहल गरेन ।

लुम्बिनी प्रदेश कार्यालयले त्यो गठबन्धनलाई उनीहरुको आफ्नै घोषित नीतिसित मेल नखाने बताएर त्यसका लागि सचेत गराउन पत्र लेखेर पठाएको थियो । त्यसरी माओवादी–केन्द्रको प्रदेश कार्यालयले त्यस सन्दर्भमा लेखेर पठाएको पत्र खाली औपचारिकता पूरा गर्ने प्रकारको मात्र थियो । त्यसरी पार्टीका आफ्नै संगठनको नीतिका विरुद्ध गरिएको त्यस प्रकारको तालमेललाई रोक्न वा उनीहरूका विरुद्ध कार्बाही गर्न उनीहरूको प्रदेश कार्यालयले पनि कुनै प्रभावशाली कदम उठाएन । उनीहरूको त्यस प्रकारको ढुलमुल नीति प्रकान्तरले प्रतिगमनसितको अप्रत्यक्ष प्रकारको साँठगाँठको नीति नै थियो ।

माओवादीको प्रतिगमनसितको साँठगाँठको नीति बाहेक झिम्रुकमा माओवादी र एमालेले कतिपय स्थानहरुमा बुथ क्याप्चरिङ्ग गर्ने र ठूलो पैमानामा पैसाको वितरण गर्ने समेत काम गरेका थिए । उनीहरूका त्यस प्रकारका कारबाहीहरू बाहेक स्वयम् हाम्रा आफ्नै आन्तरिक सांगठनिक समस्या वा कार्यशैली सम्बन्धी कमजोरिका कारणले पनि झिम्रुकको चुनावमा हाम्रो हार हुन गयो । बताइरहनुपर्ने आवश्यकता छैन कि झिम्रुकको त्यो हारले हामीलाई महत्वपूर्ण पाठ सिकाएको छ र आगामी दिनहरूमा त्यसको समीक्षा गरेर त्यसमा सुधारका लागि हाम्रो विशेष ध्यान जानुपर्ने आवश्यकता छ ।

अन्तमा, अहिलेको पाँच दलीय चुनावी तालमेलको नीतिबाट प्रतिगमनलाई पराजित गर्नका लागि महत्वपूर्ण मदत पुगेको छ र त्यसमा भएका कमजोरीहरूलाई सुधार्दै भविष्यमा त्यसलाई अरु प्रभावशाली प्रकारले अगाडि बढाउनुपर्ने आवश्यकता छ । अनि मात्र प्रतिगमनलाई पराजय गर्नु र त्यसको खतराबाट आन्दोलनद्वारा प्राप्त ऐतिहासिक उपलब्धिहरूलाई बचाउन सम्भव हुनेछ । त्यो ऐतिहासिक जिम्मेवारी अहिले पाँच दलका काँधमा आएको छ । हामीले त्यो जिम्मेवारीलाई कसरी पूरा गर्दछौँ, त्यसमाथि नै देशको राजनीतिक भविष्य निर्भर गर्दछ ।’
२०७९ जेष्ठ ०५ गते ।
मोहनविक्रम सिंह
महामन्त्री

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार