
काठमाडाैं । भिजिट भिसामा नेपालबाट दुबई पठाइ ठगी गर्ने एक समूहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
पक्राउ परेको समूहले विभिन्न व्यक्तिबाट साढे दुई करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
दुबईमा रहेको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी एलएलसीका सञ्चालक कोमलराज उपाध्याय समेत पाँच जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा लम्जुङको राईनास नगरपालिका–३का ४० वर्षीय मधुबिलास बास्कोटा, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–८ का ५४ वर्षीय होम बहादुर खड्का, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७का ३५ वर्षीय रंजना ढकाल प्याकुरेल, रुपन्देहीको देवदह नगरपालिका–५ का ३० वर्षीय राजु भन्ने खुम बहादुर बस्याल र काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका–७ टाउन प्लानिङ बस्ने ४० वर्षीय सन्तोष प्याकुरेल रहेका छन् ।
सो गिरोहले ‘आर्म्स गार्ड’ मा ५०० जनाको भ्याकेन्सी भएको, मासिक तलब ३ हजार दिराम सम्म पाउने वैदेशिक रोजगारमा लगाई दिने, सो वापत जनही ३ लाख ५० हजारदेखि ८ लाख रुपैँयासम्म खर्च लाग्ने भनि फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक संजालको पेजमा मोबाईल नम्बर राखी जान चाहने व्यक्तिले सम्पर्क राख्नु होला भन्ने जस्ता भ्रमात्मक विज्ञापन राखी भ्रममा पारेको प्रहरीले जनाएको छ।
आकर्षक तलब, सेवा सुविधाको प्रलोभन देखाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबाट जागिर छोडी बसेका र सर्वसाधारणहरु व्यक्तिहरुलाई विभिन्न मितिमा भिजिट भिषामा कोमलराज उपाध्याय समेतको समूहले दुबईमा पुर्याइ ९० दिन भित्र काममा लगाई दिन्छु भनि विश्वासमा पारी काममा नलगाई बिचल्ली बनाई फरार भएका थिए ।
नेपाल प्रहरी तथा नेपाल र दुबई स्थित विभिन्न संस्थाहरुको सहयोग तथा सहकार्यमा पीडित व्यक्तिहरु नेपाल फिर्ता भई हालसम्म ७६ जना पीडितहरुले २ करोड ४३ लाख ३६ हजार ८१० रुपैयाँ रकम ठगी भएको भनि लिखित जाहेरी दरखास्त दिएका छन् ।
उनीहरुलाई प्रहरीले सर्लाही, रुपन्देही र काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेकालाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (ठगी,आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर) मा सम्मानित अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, यस कसूरसँग सम्बन्धित थप पीडितहरु भएमा यथाशिघ्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा सम्पर्क राख्नसमेत जानकारी गरिएको छ ।
















