युक्रेनमाथि रुसी आक्रमण : कसको स्वार्थ के छ ?

युक्रेनमाथिको रुसी आक्रमण विश्व राजनीतिमा महत्वपूर्ण मोड हो । केही पर्यवेक्षकको भनाइ छ, पुतिनको नवीनतम सैन्य कारबाहीको भूराजनीतिसित कुनै खास लिनुदिनु छैन बरु त्यसको मुख्य उद्देश्य त्यो गहिरो सङ्कटबाट ध्यान अन्तै हटाउनु हो, जसबाट रुसी अर्थतन्त्र यतिखेर गुज्रिरहेको छ । यो कुनै बेग्लै सङ्कट होइन, सारतः त्यो रुसमा नवउदारवादी मोडलको विफलता नै हो, जुन सङ्कट अन्तर्राष्ट्रिय स्तरमा पनि क्रमशः अशक्त बन्दै गएको छ । रुसमा युद्धविरोधी प्रदर्शनले यो आन्तरिक सङ्कटलाई अत्यन्तै राम्ररी अभिव्यक्त गरेको छ ।

जब युद्ध केही समयसम्म जारी रहन्छ र मानिसहरू त्यसका दुष्परिणामहरू बुझ्न थाल्छन्, तब युद्धविरोधी प्रदर्शनले गति लिनु सामान्य परिघटना हो । यस्तो समयमा जनतालाई महसुस हुन सक्छ : विजय टाढा छ, सायद विजय कहिल्यै हासिल गर्न सकिने छैन तर युद्धको पहिलो दिनदेखि नै ठुलो सङ्ख्यामा रुसी जनसाधारणद्वारा पुतिनको विरुद्ध प्रदर्शन साँच्चै नै ठुलो अपवाद हो । त्यसैले यो अधिक महत्वपूर्ण परिघटना बन्न जान्छ । त्यति मात्रै होइन, रुसी जनता राज्यको क्रुर दमनको सामना गर्दै उच्च प्रेरणासहित सडमा आए । ठुलो मात्रामा पुतिनको उन्मादपूर्ण शासनप्रति लोकप्रिय समर्थनको विपरीत—जस्तो कि हामीले पुतिनले क्रिमिया प्रायद्वीपमाथि कब्जा जमाएको समयमा देखेका थियौँ, यतिबेला रुसी जनताको चाहना बेग्लै छ । मस्को, सेन्ट पिटर्सबर्ग, नोभोसिबिस्र्क, एकातेरिनबर्ग, निझ्नी नोभगोरोड वा भन्न सकिन्छ, पूरै रुसमा युद्धप्रति कुनै पनि प्रकारको उत्साह देखिँदैन ।

डिसेम्बर २०१४ को मध्यतिर रुसी मुद्रा (रुबल) धरासायी भएको थियो । त्यतिबेला तीन हप्तामै त्यसको मूल्यमा एकतिहाइसम्म कमी आएको थियो ।१ त्यतिबेलादेखि रुसमा डामाडोल स्थिति छ । रुसी अर्थव्यवस्थामा सरकारी कार्यक्रमको खर्च विशेषतः पेट्रोलियम तेल र ग्याँसको निर्यातमाथि निर्भर छ । त्यतिखेर रुसी अर्थव्यवस्थामाथि धेरै नै आघात पुगेको थियो किनकि २०१४ मा तेल र ग्याँसको मूल्य धेरै नै तल झरेको थियो । रुसको कुल गार्हस्थ उत्पादन (जी.डी.पी.) को ३० प्रतिशत र त्यसको निर्यातको ६० प्रतिशत तेलको निर्यातमा निर्भर छ । त्यसका अतिरिक्त क्रिमिया प्रायद्वीपलाई लिएर युक्रेनसित भएको युद्धमा रुसको अवस्था अरू कमजोर बनेको छ । त्यस समय लगाइएका प्रतिबन्धले लामो अवधिसम्म पुँजीनिवेशका साथै व्यापार–व्यवसायको पुँजीसमेत प्रभावित भएको थियो ।२ हुन त रुसी अर्थव्यवस्थामा २०१७ सालपछि तीव्रताका साथ सुधार आएको थियो तर पनि पुरानो आर्थिक गतिशीलताको पुनर्बहाली गर्न रुस असमर्थ रह्यो । फलस्वरूप त्यसको प्रभाव त्यहाँको सामाजिक नीतिमा प¥यो, जो नवउदारवादी नीतिहरूको अव्यवस्थित मिश्रणभन्दा बढी केही थिएन ।

रुसी संसद् (क्रेमलिन) का नीति, खासगरी पेन्सनसम्बन्धी सुधारको बारेमा ठुलो सङ्ख्यामा रुसी जनता खुसी छैनन् । सोभियत सङ्घको विघटनपछि रुसमा विरासतमा प्राप्त सेवानिवृत्त आयु धेरै नै कम छ अर्थात् महिलाका लागि ५५ वर्ष र पुरुषका लागि ६० वर्ष । २०१८ सालको फिफा विश्व कपलाई बहानाको रूपमा प्रयोग गर्दै रुसले सेवानिवृत्त आयु बढाइदियो अर्थात् महिलाका लागि ६३ वर्ष र पुरुषका लागि ६५ वर्ष । ९० प्रतिशत जनताका लागि यो निर्णय अलोकप्रिय थियो । त्यसपछि क्रेमलिनले बहुसङ्ख्यक जनताको विश्वास पुनः हासिल गर्न सकेन । फलस्वरूप अहिलेका रुसी चुनावमा ठुलो सङ्ख्यामा धाँदली हुन लागेको छ ।

यो कुनै आश्चर्यको विषय होइन, पुतिनले युक्रेनका साथै हालको आर्थिक सङ्कटलाई आफ्नो लोकप्रियता बढाउनका लागि उपयोग गर्ने छन्, जबकि रुसको युक्रेन युद्धसम्बन्धी राजनीतिक उद्देश्य आफैमा स्पष्ट छ । लामो सैन्य तयारीपछि जुन मात्रामा युद्ध सञ्चालन गरिएको छ, त्यसबाट स्पष्ट हुन्छ : रुसको उद्देश्य युक्रेनको पूर्वी भागमा स्थित डोनेट्स्क र लुगास्कका दुई “फुटेर अलग भएका गणराज्य” सम्म सीमित हुनु होइन । पुतिनको फेबु्रअरी २१ (२०२२) को भाषणमा यसको सङ्केत पाउन सकिन्छ, जसमा उनले युक्रेनको सम्प्रभुतालाई ठाडै खारेज गरेका थिए ।

कथित इतिहास पुनर्निर्माणको प्रयासबारे भ्लादिमिर पुतिनको बृहत्तर रुसी अन्धराष्ट्रवाद स्पष्ट रूपमा देख्न सकिन्छ । उनका अनुसार “प्राचीनकालदेखि दक्षिण–पश्चिम क्षेत्रमा रहने मानिसहरू—जो ऐतिहासिक रूपमा रुसी भूमि हो—ले आफूलाई रुसी र रूढिवादी इसाई भन्दै छन् । सत्रौँ शताब्दीभन्दा पहिले र त्यसपछि यही मामिला थियो, जब यस क्षेत्रको ठुलो भाग रुसी राज्यमा फेरि सामेल भयो ।”

पुतिन अगाडि भन्दछन्– “मैले यस तथ्यबाट सुरु गर्ने छु । आधुनिक युक्रेनको गठन पूरै रुसद्वारा भएको थियो । ठोस रूपमा भन्ने हो भने युक्रेनको गठन बोल्सेभिक कम्युनिस्ट कालीन रुसद्वारा गरिएको थियो । यो प्रक्रिया व्यावहारिक रूपमा १९१७ को क्रान्तिपछि सुरु भएको थियो । लेनिन र उनका सहयोगीले यो काम अत्यन्तै अप्ठ्यारो भए पनि रुसका लागि सम्पन्न गरेरै छाडे । त्यस दौरान रुसी भूमिको विभाजन स्वीकार गरिएको थियो । त्यस क्रममा त्यस क्षेत्रमा रहने लाखौँ मानिससित सोधिएन, उनीहरू त्यसबारे के सोच्दछन् ? त्यसपछि महान् देशभक्तिपूर्ण युद्धभन्दा पहिला र पछि स्टालिनले केही त्यस्तै खालको भूभाग—जो पोल्यान्ड, रोमानिया र हङ्गेरीका हिस्सा थिए—लाई पहिले सोभियत सङ्घमा सामेल गरे । त्यसपछि त्यसलाई फेरि युक्रेनलाई हस्तान्तरण गरिदिए । यस प्रक्रियामा उनीहरूले पोल्यान्डलाई क्षतिपूर्तिको रूपमा जुन भूभाग दिए, त्यो परम्परागत हिसाबले जर्मनको भूमि थियो । १९५४ मा खु्रस्चेभले कुनै खास कारणले गर्दा क्रिमियालाई रुसमा सामेल गरे । त्यसलाई पनि उनले सो भूभाग युक्रेनलाई सुम्पिदिए । वास्तवमा आधुनिक युक्रेनको भूभाग यसरी तयार भएको थियो ।”

स्पष्ट छ : पुतिन सैन्य आक्रमणद्वारा युक्रेनमा शासक बदल्न चाहन्छन् । उनको लक्ष्य त्यहाँ आफ्नो पूर्ण प्रभुत्व कायम गर्नु हो । यसको तुलना अफगानिस्तान र इराकमाथि अमेरिकी आक्रमणसित गर्न सकिन्छ ।

पृष्ठभूमि
शीतयुद्धको लगभग ४० वर्षपछि युरोप एकपटक फेरि तनावपूर्ण र विभाजित छ । जहाँ अमेरिका र युरोपिय सङ्घले युक्रेनको पक्ष लिएका छन्, त्यहीँ चीनले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रुसलाई समर्थन गरिरहेको छ । धेरै टिप्पणीकारहरू तृतीय विश्वयुद्धको प्रेतछायाको बारेमा बोलिहाल्न लालायित देखिन्छन् । यस प्रकारको अनुमानित निस्कर्ष निकाल्नु कति व्यावहारिक छ ? यसको बारेमा हामी छलफल गर्न सक्छौँ तर यो तथ्य निर्विवाद छ ः यो आक्रमणले शीतयुद्ध कालीन समयको स्मरण गराउँछ अर्थात् कोरियाली युद्ध (१९५०–५३), क्युबा मिसाइल सङ्कट (१९६२) या १९८० को दशकमा अमेरिका र सोभियत सङ्घमाझको मिसाइल प्रतिष्पर्धा ।

लाखौँ युक्रेनवासी युद्धबाट पीडित छन् । त्यसकारण वर्तमान जटिलताबारे सही दृष्टिकोण कायम गर्नका लागि हामीले विगततर्फ हेर्नुपर्ने हुन्छ । त्यसो गर्दा यहाँ दुई फरक फरक दृष्टिकोणले काम गरेका छन् र यसले युक्रेनको आम जनतामाथि अहिलेको भयानक युद्ध थोपरिदिएका छन् । पहिलो यो हो– रुस र अमेरिकामाझको टक्कर र दोस्रो हो– रुस र युक्रेनमाझको झगडा ।

सोभियत सङ्घको विघटनपछि बनेका रुस र युक्रेनमाझको तनाव कुनै नयाँ विषय होइन । यसको बिउ शीतयुद्धको नाटकीय अन्तमा खोज्न सकिन्छ । सोभियत सङ्घको पतन वा विघटनको क्रममा अमेरिकी साम्राज्यवादसित भएको राजनीतिक हारलाई रुसले अझैसम्म पचाउन सकिरहेको छैन । १९९० को दशकको सुरुआतमा शीतयुद्धको समाप्तिले निश्चित रूपमा यी दुवै महाशक्तिमाझ एउटा सम्झौतालाई जन्म दिएको थियो । त्यतिबेला अमेरिका र जर्मनीले तत्कालीन सोभियत नेता मिखाइल गोर्भाचोभलाई वचन दिएका थिए : नाटो (उत्तर एटल्यान्टिक ट्रिटी अर्गनाइजेसन) लाई रुसको सीमातर्फ विस्तार गरिने छैन ।

सोभियत सङ्घको पतन र पूर्वी युरोपका देशमा नोकरशाही शासन कायम भएपछि नाटोको भविष्यको बारेमा पनि बहस चलेको थियो ।

त्यतिबेला नाटोलाई मुख्यतः ‘कम्युनिस्ट खतरा’ को विरुद्ध “रक्षा” गर्नका लागि एउटा सैन्य गठबन्धनको रूपमा गठन गरिएको थियो । यता, युरोपमा यस्तो राय कायम भएको थियो– नाटोलाई भङ्ग गरिदिनुपर्दछ र यसको स्थानमा एउटा साझा रक्षाचरित्रको संरचना तयार गरिनुपर्दछ । त्यसमा रुसलाई पनि सामेल गरिनुपर्दछ । त्यस्तो गर्नुको विपरीत १९९३ मा बिल क्लिन्टनको नेतृत्वमा अमेरिकाले नाटोलाई कायम राख्ने मात्रै होइन बरु त्यसलाई पूर्वी युरोपतर्फ विस्तार गर्ने निर्णय लिइयो ।

रुसी साम्राज्यवादको पुनर्जन्म
त्यतिबेलादेखि हङ्गेरी, पोल्यान्ड र चेकोस्लाभाकिया गणराज्य नाटो सैन्य गठबन्धनमा सामेल भएका छन् । त्यसपछि अमेरिकाद्वारा पूर्वी युरोपमा मिसाइल विरोधी रक्षाकवच प्रणाली स्थापित गर्ने प्रयासले रुसलाई चिन्तित बनाइदिएको थियो । त्यसका अतिरिक्त २००३ को गुलाफी क्रान्तिको माध्यमबाट जर्जियामा सत्ता परिवर्तन गराएर आगामी वर्ष पहेँलो क्रान्तिको माध्यमबाट रुसप्रति शत्रुतापूर्ण दृष्टिकोण राख्ने शासन स्थापनाको प्रस्तावलाई पश्चिमी देशले समर्थन गरे । त्यतिखेर रुसले यी देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गरेर प्रत्युत्तर दियो । २००८ मा जर्जियाका दुई अलग अलग भूभाग (अबकाजिया र दक्षिण ओसेसिया) लाई मान्यता दिनु यस हस्तक्षेपको चरमोत्कर्ष थियो; त्यसैगरी २०१४ मा क्रिमियामाथि कब्जा जमाउनु पनि । यो प्रायद्वीप युक्रेनको दक्षिणी दिशामा अवस्थित छ । कालासागरसम्म पहुँच कायम गर्नुको अतिरिक्त यो भूभाग रुसका लागि रणनीतिक रूपले पनि महत्वपूर्ण छ ।

रुसले दुवै देशको सीमावर्ती इलाकामा “स्वतन्त्रता समर्थक” शक्तिलाई समर्थन गर्दथ्यो । वर्तमान सैन्य आक्रमण र पछिल्ला आक्रमण निश्चित रूपमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुस र अमेरिकामाझ आआफ्नो प्रभावक्षेत्र विस्तार गर्ने उद्देश्यका लागि गरिएको हो । यो तानातानी करिब ३० वर्षदेखि चलिरहेको छ ।

यहाँ यो स्मरण गर्नु आवश्यक छ, २०१४ मा युक्रेनी सैनिक र रुसी विद्रोहीमाझ भएको लडाइँका कारण लगभग नौ लाख रुसीभाषी मानिस पूर्वी युक्रेनबाट रुसमा भाग्न बाध्य भएका थिए । आम जनतामाथि थोपरिएको यस त्रासदीलाई पुतिन र उनका अनुगामीद्वारा चतुर्याइँपूर्वक उपयोग गरियो र छिमेकी देशमा अल्पसङ्ख्यक रुसीको रक्षा गर्ने नाममा आफ्ना विस्तारवादी नीति अगाडि सारियो । दुर्भाग्यवश कैयौँ वामपन्थीहरूले रुसमाथि आक्रमण भएको विषय उठाएर पुतिनको पक्ष लिन्छन् । त्यो भ्रामक मात्रै होइन, खतरनाक स्थिति पनि हो ।
सङ्कटको प्रमुख अभिनेता

वर्तमान सङ्कटका तीन मुख्य अभिनेता छन् : अमेरिका, रुस र युक्रेन । १९४५ पछि विश्व स्तरमा भएका सबै हमला, युद्ध र युद्ध अपराधका लागि अमेरिका नेतृत्वको नाटो गठबन्धन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जिम्मेवार रहने गरेको छ । पक्कै पनि नाटो संसारमा सबैभन्दा शक्तिशाली र आक्रामक साम्राज्यवादी गठबन्धन हो, जसले पछिल्लो २० वर्षमा तीनओटा ठुला विनाशकारी युद्ध चलाएको छ अर्थात् अफगानिस्तान युद्ध (२००१), इराक (२००३) र लिबिया (२०११) मा ।

जब नाटोले रुस र चीनसँग साम्राज्यवादी प्रतिष्पर्धाको सामना गर्दछ, तब त्यसले अन्तर्राष्ट्रिय कानुनको स्वयम्भू रक्षक ठान्न पुग्दछ तर जब कोही उसको शक्ति हासिल गर्ने उसको लालसासामु अवरोध बन्दछ, तब उसले सबै खाले कानुन र संरचनाको लगातार उल्लङ्घन गर्दै आएको छ । अफगानिस्तान, इराक, लिबिया र अरू कैयौँ स्थानमा यस प्रकार पटक पटक गरिएको कानुन र संरचनाको उल्लङ्घनको उदाहरणले इतिहास भरिपूर्ण छ ।

युक्रेनी सार्वभौमसत्ताका यी कथित रक्षकहरूले पाकिस्तानमा हजारौँ नागरिकको हत्या गर्नका लागि ड्रोनको उपयोग गर्नमा कहिल्यै सङ्कोच गरेनन् । जब टर्कीका एर्दोगानद्वारा उत्तरी सिरियामाथि हमला गरिन्छ र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै विभिन्न भूभागमाथि कब्जा जमाइन्छ, तब त्यसप्रति उदासिनता अपनाइन्छ किनकि टर्की नाटो गठबन्धनको सदस्य हो र पश्चिमी शक्तिहरूको मुख्य स्तम्भमध्ये एक हो ।

इस्लामी धर्मतन्त्रको गढ, निरङ्कुश राजतन्त्रात्मक सउदी अरब नाटोको सैन्य सहयोगी नै हो । त्यसैले सउदी अरबको शाही परिवार यमनमाथि क्रुर हमला गर्नमा सक्षम बन्यो किनकि अमेरिकाले यमनको लोकतन्त्र वा सार्वभौमसत्ताको उल्लङ्घनबारे वास्ता गरेन ।

पुतिनको विस्तारवादी योजनामाथि अङ्कुश लगाउन उत्सुक नाटो गठबन्धनले १९९१ देखि पूर्वी युरोपका देशहरूलाई आफ्नो सदस्य बनाउन सुरु ग¥यो । त्यस क्रममा उसले रुस विरुद्ध युक्रेनलाई आफ्नो अड्डा बनाउनमा कुनै कमी छोडेन । युक्रेनको सरकारलाई भड्काएर, नाटो गठबन्धनले जानिबुझिकन रुससित वर्षौंसम्म चलिरहेको अघोषित युद्धलाई उपयोग ग¥यो । त्यसका पछाडिको कारण थियो– पूर्वी युरोपमा पुतिनको स्थितिलाई कमजोर बनाउन सकियोस् ।

आजको रुस
पुतिनको बोनापार्टवादी कुलीनतन्त्रमा माफिया जस्ता अर्बपति गिरोहको शासनसत्ता छ । त्यसले सोभियत सङ्घको पतनपछि पुरानो योजनाबद्ध अर्थव्यवस्थालाई छिन्नभिन्न बनाउँदै अर्थात् त्यसलाई लुटेर आफूलाई अकल्पनीय रूपमा धनी बनाएका छन् जबकि रुसी जनता सभ्यताको सबैभन्दा गहिरो खाल्टामा खसेका छन् । यो द्वितीय विश्वयुद्धपछिको अभूतपूर्व स्थिति हो (बोनापार्टवादी शासन राजनीतिक आन्दोलन थियो ।

त्यसको उद्देश्य फ्रान्सिसी साम्राज्यको पुनस्र्थापना गर्नु थियो) । आज रुसी अर्बपतिको शासन—जसको प्रतिनिधित्व पुतिनले गर्दछन्—पृथ्वीभरिकै सामाजिक रूपमा सबैभन्दा धेरै असमान समाजमध्ये एउटा हो । यो शासनमा आम जनता र धनीमाझ आय र सम्पदाको भयानक असमानता छ । कुनै पनि अन्य देशको तुलनामा रुसी जनताको एउटा ठुलो हिस्लाले जेलसजाय बेहोरिरहेको छ । त्यहाँ आत्महत्या सूचक विश्वकै सबैभन्दा अधिक छ । यो संसारमा सबैभन्दा धेरै हत्या हुने देशमध्ये एक हो । रुसमा लाखौँ बालबालिका घरबारविहीन छन् । उनीहरू रुसका गल्ली, सडकमा बस्दछन् । त्यही विश्वकै सबैभन्दा धनीहरूमध्ये एक पुतिन यस्तो नयाँ महलमा बस्दछन्, जुन गुणस्तरीय टाइल्स (सङ्गमर्मर) र सुनले पोतिएको छ । त्यसको मूल्य करिब एक अर्ब युरोभन्दा बढी छ ।

यस अर्बपति तानाशाहको विचारधाराभित्र उग्र राष्ट्रवाद, रूढिवादी चर्चप्रतिको धर्मपरायणता वा श्रद्धा तथा महिला र समलैङ्गिकप्रतिको विषालु घृणाभावसहित प्रतिगामी सामाजिक आधुनिकता विरोधी विचारको मिश्रण छ । पश्चिमी युरोपमा सामाजिक रूपमा रूढिवादी, दक्षिणपन्थी, लोक परम्परावादीमाझ पुतिनका धेरै प्रशंसक छन्, जसले पुतिनलाई नैतिक रूपमा हीन, वाम, हरिया, समलैङ्गिक, नारिवादी उदार पश्चिमको विरुद्ध निरङ्कुशतावादी, पितृसत्तात्मक र देशभक्ति मूल्यको प्रतिनिधिको रूपमा देख्दछन् । पुतिनले रुसको समाजवादी क्रान्तिमा मजदुर वर्गको नेतृत्व गर्ने बोल्सेभिकको तुलना राक्षसी चरित्रसँग गर्दछन् । उनी ईश्वरलाई नमान्ने कम्युनिस्टद्वारा मारिएका व्यक्तिलाई पवित्र रुसको शास्वत सहिदको रूपमा अन्तिम सम्राट वा जारको नयाँ स्मारक (चर्च) मा श्रद्धाञ्जली दिन्छन् ।

१९९० को दशकको प्रारम्भमा पुतिनले चिलीमा पिनोसेको दक्षिणपन्थी शासनको बारेमा बहुलाहाले जस्तै बकबक गरेका थिए । त्यतिखेर उनले यो “परम” धर्मोपदेश दिइरहेका थिए : पुँजीवादलाई माथिबाट लागु गर्न राजनीतिक हिंसा सही वा उचित हुन्छ । त्यसका विपरीत पुँजीवादलाई उखेलेर फ्याँक्न गरिने राजनीतिक हिंसा नराम्रो र पापपूर्ण हुन्छ ।

नाटोको तुलनामा रुस धेरै नै कमजोर शक्ति हो । त्यसैले ऊ यस साम्राज्यवादी प्रतिष्पर्धामा धेरै पछि परेको छ । फलस्वरूप १९९१ पछि रुसको विश्वव्यापी प्रभावक्षेत्र साँघुरिँदै गएको छ । उसले पुरानो गौरवको पुनस्र्थापनाका लागि केही सीमित वा सानातिना सफलता प्राप्त गर्नु आवश्यक छ; जस्तो : चेचन्यामाथि कब्जा, जर्जियामा सहयोगीको सत्ता स्थापना, युक्रेनमा प्रभाव र सिरियामा बसरअल असद सरकारको समर्थन गरेर मध्यपूर्वमा न्यूनतम रूपमा एउटा क्याम्पमाथि आफ्नो नियन्त्रण कायम राख्नु ।

सङ्कटमा जेलिएका पुतिनले नाटो गठबन्धनसित युक्रेनको सम्बन्धलाई कमजोर बनाउन धेरै कोसिस गरे, सम्भवतः युद्धको धम्की दिएर । जब उनी यस काममा नराम्ररी असफल भए तथा अमेरिकाले प्रतीकात्मक रूपमा रुसलाई अलिकति पनि सहुलियत दिन अस्वीकार ग¥यो, तब पुतिनले युक्रेनमाथि कब्जा गर्नका लागि नाङ्गो रूपमा अथवा बिनासङ्कोच सैन्यबलको उपयोग गरे । जस्तो कि पहिले नै भनियो, यस उग्रराष्ट्रवादी चिन्तनानुसारको आक्रमणको मुख्य उद्देश्य रुसमा आफ्नो बोनापार्टवादी शासनको लोकप्रियता र स्थिरतालाई अगाडि बढाउनु हो । प्रश्न यो हो : रुसले यही समयमा नै आक्रमण गर्ने निर्णय किन ग¥यो ? किनकि २००८ देखि ठुलो मात्रामा गरिएको सैन्य सुधारपछि चेचन्या, जर्जिया, सिरिया, लिबिया र अन्य स्थानमा आफ्नो “सफल” सैन्य अभियानपछि रुस स्वयम्ले आत्मविश्वास महसुस गरेको थियो । त्यसका साथै रुसको बलियो दस लाख सेना युरोपीय रङ्गमञ्चको प्रमुख सैन्य शक्ति भएकोमा गर्व महसुस गरेको थियो ।३

युक्रेनको दुर्दशा
युक्रेन २०१४ देखि नै नाटो गठबन्धनमा सहभागी हुन इच्छुक छ । उसले रुस विरुद्ध पश्चिमको प्रत्युत्तरपूर्ण कारबाहीलाई भड्काउने कोसिस गरेको छ । यो नयाँ युक्रेनमा नवनाजीवादी (नवफासिवादी) तत्व सक्रिय छन् । त्यहाँ सेनाको फासिवादी बटालियन खुला रूपमा स्वस्तिक झन्डासँग मार्चपास गर्दछ । नाजी प्रशंसक स्टिफन बाँदेरा—जसले कम्युनिस्ट विरोधी सैन्यवाहिनी छवि बनाएका छन्—को पनि त्यहाँ उपस्थिति छ । उनी किभमा एउटा राजकीय सन्तको हैसियतमा विराजमान छन् । यद्यपि यही कारणले मात्र युक्रेन एउटा फासिवादी राज्यसत्ता बन्न जान्न ।

युक्रेन सरकार अपेक्षाकृत कमजोर र असक्षम रुसी साम्राज्यवादको प्रभावक्षेत्रमा फिर्ता जानुको सट्टा वासिङटन (अमेरिका) र ब्रसेल्स (बेल्जियम) को पाउमा रहन मन पराउँछ ।

आपसमा लडिरहनुका बाबजुद युक्रेनको आन्तरिक संरचना अहिले पनि रुसकै प्रतिछाया जस्तै छ । युक्रेन त्यस्ता दर्जनौँ कुलीनको घर हो, जो सोभियत अर्थव्यवस्थाको योजनाबद्ध लुटपाटमाथि फुलिफलिरहेको छ । यो क्षेत्र कुनै बेला धेरै नै समृद्ध हुने गर्दथ्यो तर आज यहाँको प्रतिव्यक्ति जी.डी.पी. अफ्रिका देश अङ्गोलाको हाराहारी छ । २०१४ मा युक्रेनको जी.डी.पी. मा ६.८ प्रतिशत कमी आएको थियो । २०१५ मा त्यहाँको प्रतिव्यक्ति जी.डी.पी. सुडानको बराबर अर्थात् २,१०० डलर थियो । २०१४ मा युक्रेनको आधाभन्दा बढी विदेशी मुद्रा भण्डार (–६३ प्रतिशत) खर्च भयो । दस वर्षमा पहिलोपटक १० बिलियन डलरको सीमारेखाभन्दा तल आइपुग्यो । यतिखेर युक्रेनको विदेशी ऋण १२५ अरब डलर छ । २०२२ मा ऋण भुक्तानी गर्दाको खर्च ६.२ बिलियन डलर रहने अपेक्षा गरिएको छ । यो रकम कुल बजेटखर्चको १२ प्रतिशत हुन जान्छ ।४

युक्रेनको सामाजिक अवस्था दयनीय छ । त्यसको अर्थव्यवस्थामाथि ऋणको छाया घुमिरहेको छ । प्राप्त समाचारानुसार युक्रेनलाई यी ऋण सामाजिक खर्चमा कटौति गर्ने सर्तमा दिइएको थियो । यस्तो ऋणको भुक्तानीले युक्रेनलाई देशको महत्वपूर्ण आवश्यकतामाथि आधारित खर्चमा कटौति गर्ने र अर्थव्यवस्थाको आधारभूत क्षेत्रमा मितव्ययिता लागु गर्न बाध्य पार्याे । धनको कमीका कारण युक्रेनका अस्पतालमा स्वास्थ्य उपकरण र आवश्यक सामानको अत्यन्तै कमी भएको छ । सबै प्रकारका चिकित्सा रोजगारीमा कटौति गरिएको छ । जसको रोजगारी यथावत छ; जस्तो : शिक्षक र अन्य सार्वजनिक क्षेत्रका श्रमिक, उनीहरूको तलब पनि पूरै भुक्तानी गरिएको छैन । उदाहरणका लागि खानी उद्योगका कैयौँ कामदारलाई तलब दिइएको छैन । उनीहरूको तलबलाई पछि भुक्तानी गर्ने गरी बाँकी खातामा राखिएको छ ।५
पश्चिमी देश र रुसी दुवै मिडिया युक्रेनी शासक वर्गको आन्तरिक सङ्घर्षलाई पश्चिमी समर्थक विरुद्ध रुसी समर्थकको लेबल लगाएर प्रस्तुत गर्न इच्छुक छन् । यो स्थिति युक्रेनी कुलीन वर्गमाझको आपसी सङ्घर्षको परिणाम हो । त्यसको एउटा पक्ष मान्दछ : उनीहरूको व्यावसायिक हित रुससँग जोडिँदा सुरक्षित छ जबकि अन्य पक्ष यसै उद्देश्यका साथ युरोपीय सङ्घ र अमेरिकालाई मन पराउँछन् ।

एउटा नया“ शीतयुद्ध ?
के हामी शीतयुद्ध कालतिर फर्किरहेका छौँ ? यस सन्दर्भमा जहाँ त्यतिबेलाका राजनीतिक र सैन्य कूटनीतिसम्बन्धी अनगिन्ती समानता छन्, त्यहीँ शीतयुद्धको आधारभूत तत्वमध्ये एउटा महत्वपूर्ण वैचारिक मतभेद यहाँ समावेश छैन । फेरि पनि नराम्रो तथ्य यो हो : रुस पूर्ण उत्सुकताका साथ विश्वव्यापी र नियन्त्रणमुक्त पुँजीवादमा समावेश भएको छ । यसले यस प्रणालीमा निहित अन्तरविरोधलाई अगाडि ल्याइदिएको छ अर्थात् उसका लागि देशको भौगोलिक सीमाभन्दा बाहिर नयाँ बजारको खोजी तथा नयाँ संसाधनसम्म पहुँच कायम गर्नु आवश्यक भइसकेको छ । यस्तो विस्तार खालि अन्य त्यस्ता शक्तिहरूको मूल्यमा नै निर्भर हुन सक्दछ, जो यतिबेला आफै दुविधाको भुमरीमा फसेका छन् । यतिखेर हामीले रुसलाई त्यही बाटोमा हिँडेको देखिरहेका छौँ, जुन बाटोमा अमेरिका एक शताब्दीभन्दा पनि बढी समयदेखि हिँडिरहेको छ अर्थात् अन्य देशको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप गर्ने बाटोमा । युक्रेन र जर्जियाका अतिरिक्त रुसद्वारा सिरियामा बसरअल असद सरकारको समर्थनले हामीलाई स्वाभाविक रूपमा पछिल्लो दशकमा अमेरिकाद्वारा समर्थित र स्थापित विभिन्न तानाशाहको स्मरण गराउँछ; जस्तै : इरान, चिली, ब्राजिल, निकारागुआ, कङ्गो, इराकका आदि ।

चीन र रुसको धु्रव
भनिरहनु नपर्ला, यस टक्करबाट एउटा यस्तो पक्षलाई फाइदा हुने छ, जो टाढा उभिएको छ । विश्वव्यापी भूराजनीतिलाई पुनः परिभाषित गर्ने हो भने भन्नुपर्ने हुन्छ : रुस चीनतर्फ गइरहेको छ, जसले विश्व व्यापारको क्षेत्रमा डलरको एकाधिकार भत्काउन लामो समयदेखि कोसिस गरिरहेको छ । युक्रेनमाथिको आक्रमणले चीनलाई सुनौलो अवसर प्रदान गरेको छ ।

युक्रेनमाथि रुसी आक्रमण एउटा महत्वपूर्ण आर्थिक मोड हो, जसको कैयौँ दूरगामी परिणाम हुने छ । त्यसमध्ये एउटा हो– दुईधु्रवीय विश्वव्यापी वित्तीय प्रणालीको दिशामा परिवर्तन अर्थात् एकातिर डलरमा आधारित, अर्कातिर, रेनमिनबी (चिनियाँ मुद्रा) मा आधारित । निश्चित रूपमा रुस र पश्चिमी देशको माझमा आर्थिक असन्तुष्टिको प्रक्रिया पछिल्लो केही समययता चलिरहेको छ । जतिखेर रुसले २०१४ मा क्रिमियामाथि कब्जा जमाएको थियो, पश्चिमी बैङ्कहरूले रुसका वित्तीय संस्थासितको कारोबारमा ६० प्रतिशतसम्म कटौति गरेका थिए । त्यस्तै उनीहरूले रुसको निजी क्षेत्रमा आफ्नो पुँजीनिवेश आधा घटाएका थिए । अहिले अमेरिकाद्वारा घोषित नयाँ र अत्यधिक आक्रामक प्रतिबन्धले यस प्रक्रियालाई अरू तीव्र बनाउने छ । यसले रुसलाई चीनप्रति अरू धेरै निर्भर बनाउने छ । यस क्रममा चीनद्वारा रुसका बाँकी तेल र ग्याँस सस्तो मूल्यमा खरिद गर्ने कोसिस हुने छ ।

जबकि चीनद्वारा रुसको समर्थनका लागि अमेरिका वा युरोपीय देशद्वारा लगाइएको प्रतिबन्ध भत्काइने छैन तर यो निश्चित छ : रुसी बैङ्क तथा वित्तीय संस्थालाई चीनका वित्तीय बजार र संस्थासम्म अधिक पहुँच राख्ने अनुमति दिइने छ । केही हप्तापहिले दुवै देशले “अन्तहीन मित्रता” सम्बन्धी घोषणा गरेका थिए । जब जब रुसी अर्थव्यवस्थाका लागि पश्चिमी देशको बाटो साँघुरो हुँदै जाने छ, ऊ चीनतर्फ झुक्दै जाने छ । रुस र चीनले पहिले नै २०१९ मा डलरको सट्टा आफ्ना आफ्ना मुद्रामा व्यापार गर्ने एउटा सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । रुस–युक्रेन युद्धले यसमा तीव्रता ल्याउने छ ।

आजभोलि चीनले आफ्नो देशमा रुसी गहुँ आयातमाथिको प्रतिबन्ध हटाएको छ र चाइना ग्याँसले रुसी ग्याँस कम्पनी ग्याजप्रोमसित नयाँ र दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौता डलरपछिको विश्व निर्माणसम्बन्धी चीनको दीर्घकालीन लक्ष्यानुरूप छ ।

यद्यपि चिनियाँ मुद्रा रेनमिनबीलाई अन्तर्राष्ट्रिय मुद्राको रूपमा विकसित गर्ने प्रक्रियामा धेरै नै कठिनाइ छन् । चीन डलरको प्रभुत्वबाट बाहिर निस्कन चाहान्छ । त्यसका साथै ऊ आफ्नो वित्तीय प्रणालीमाथि पूर्ण नियन्त्रण पनि चाहान्छ । यो समस्याको समाधान अत्यन्त कठिन छ ।

डलर संसारको संरक्षित मुद्रा हुनुको एउटा कारण हो : चीनभन्दा फरक अमेरिकी बजार धेरै नै खुला र तरल छ । यतिखेर चीन विश्वव्यापी रूपमा विदेशी मुद्रा कारोबार र भण्डारणमा आफ्नो मुद्रा रेनमिनबीको उपस्थितिलाई बढाउने कोसिसमा छ । चीनका लागि व्यापार र पेट्रोलियम राजनीति महत्वपूर्ण साधन हो । चीनलाई विश्वास छ : आगामी तीनदेखि चार वर्षभित्र रेनमिनबीको उपस्थिति २ प्रतिशतबाट बढेर ६ प्रतिशतसम्म पुग्ने छ । पक्कै पनि यो डलरको तुलनामा केही पनि होइन । विश्व मुद्राबजारमा अमेरिकी डलरको उपस्थिति अहिले पनि ५९ प्रतिशत छ ।६

बर्बर आक्रमण
भ्लादिमिर पुतिनद्वारा युक्रेनमाथि गरिएको हमला बर्बर अपराध हो । त्यसबाट युक्रेन र रुसी जनतामा मात्रै होइन, सम्पूर्ण युरोपका मजदुर वर्ग र वामपन्थीका लागि पनि गम्भीर दुष्परिणाम देखा पर्ने छ । यस युद्धमा हजारौँ निर्दोष जनता मारिने छन् । पुतिनका पूर्ववर्ती बोरिस यल्तसिनको इसारामा १९९४–९५ मा रुसद्वारा चेचन्याको सहर ग्रोज्नी ध्वंस गरिएको थियो । त्यसले रुसका सैन्य पुँजीवादी कुलीन वर्गको अमानवीय चरित्रलाई देखाउँथ्यो । हामी देख्न सक्दछौँ ः पुतिन शासनअन्तर्गत २०१५–१६ मा सिरियामा रुसी हवाई आक्रमणका दौरान यस्तो अत्याचार धेरैपटक भएको थियो । यस आक्रमणमा करिब डेढ हजार निर्दोष नागरिक मारिएका थिए ।

रुसद्वारा युक्रेनमाथि गरिएको हमलाबाट युरोपमा र त्यसैगरी अन्य देशका सैन्यवाद र प्रतिक्रियावादलाई धेरै नै शक्ति मिल्ने छ । यस क्रममा अधिकांश पश्चिमी देशले आफ्नो रक्षाबजेट बढाउने छन् । पश्चिमी देशद्वारा लगाइएको प्रतिबन्धका कारण रुसी श्रमिकलाई गम्भीर नोक्सान पुग्ने छ । रुसबाट ग्याँस आपूर्तिमा अवरोध हुँदाको परिस्थितिमा इन्धनको बढ्दो मूल्यका कारण युरोप र अन्य स्थानमा पनि जनसाधारणले त्यसको दुष्परिणाम ब्यहोर्नुपर्ने छ ।

अर्कोतर्फ हामीले देखेका छौँ, पूर्वी दिशामा नाटो गठबन्धनको विस्तार र रुस विरुद्ध लगाइएको प्रतिबन्ध कति निष्प्रभावी र खतरनाक छ ? युक्रेनसित टक्करको कुनै सैन्य समाधान छैन तर यस युद्धले यस क्षेत्रमा त्यस्तो द्वन्द्व भड्काउन सक्छ, जो द्वितीय विश्वयुद्धको समाप्तिपछिकै अभूतपूर्व हुने छ । यस क्रममा परमाणु युद्धको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यसको प्रभाव र परिणाम दूरगामी हुने छ । त्यस क्रुर युद्धको सिकार खालि युक्रेन, रुस वा युरोपका मानिस होइन बरु पूरै मानवता हुने छ । त्यसैले युक्रेनका विरुद्ध पुतिनको सैन्य आक्रामकताको भत्र्सना गरिनुपर्दछ । यस युद्धमा कसैको पक्ष लिनु अतार्किक, अनुचित र खतरनाक हुने छ । त्यसका साथै हामीले नाटो गठबन्धनलाई कायम राख्ने र त्यसको विस्तार गर्ने नीतिको विरुद्ध बोल्नुपर्दछ । गुमाइएको रुसी साम्राज्यलाई पुनः प्राप्त गर्ने अभिव्यक्ति जस्तै नाटोको अस्तित्व कायम राख्ने नीति अमेरिका र त्यसका सहयोगी देशको मानवता विरोधी साम्राज्यवादी महत्वाकाङ्क्षाको सङ्केत हो ।

हास्य कलाकारबाट राष्ट्रपति बनेका भ्लादिमिर जेलेन्स्की युक्रेनमा दक्षिणपन्थी राजनीतिको प्रतीक हुन् । सत्तामा आएपछि अन्य दक्षिणपन्थी राजनीतिक अपराधका अतिरिक्त उनले राज्यको सम्पत्तिलाई युक्रेनको कुलीन वर्गलाई सुम्पने काम गरेका छन् । उनको शासनले सशक्त जनविरोधको सामना गर्नुपरिरहेको छ तर पुतिनको एकतर्फी आक्रमणले उनलाई पश्चिमी विश्वमा युक्रेनी र अन्य मानिसका लागि नायकमा बदलिदिएको छ । हामीले युक्रेनी समाजवादी जस्तै सामाजिक र राजनीतिक शक्तिलाई समर्थन गर्नुपर्ने आवश्यकता छ, जो आत्मनिर्णयको अधिकारका लागि पुतिनको विरुद्ध, आफ्नो देशको अलोकतान्त्रिक सरकारको विरुद्ध र माफिया कुलीनतन्त्रको विरुद्ध लडिरहेका छन् ।

गुटबन्दी र त्यसका विरोधी
दुःखको कुरा छ, कैयौँ वामपन्थीहरू पुतिनलाई साम्राज्यवाद विरोधी योद्धाको रूपमा देख्ने प्रयासमा छन् । यस्तो दृष्टिकोण भ्रामक मात्रै होइन बरु छलछामपूर्ण पनि छ । रुसको कम्युनिस्ट पार्टी वस्तुतः पुतिनको पछाडि छ । भारतका दुई प्रमुख कम्युनिस्ट पार्टीसहित संसारभरिका कैयौँ कम्युनिस्ट पार्टी र वामपन्थी शक्ति पुतिनको साम्राज्यवाद विरोधी क्रियाकलापबाट मन्त्रमुग्ध छन् ।

युक्रेनमा रुसी आक्रमणले एउटा समस्याग्रत राजनीतिक प्रवृत्तिलाई जन्म दिएको छ । त्यसलाई सामान्यतः गुटबन्धीको रूपमा चिन्न सकिन्छ । कुनै पनि विश्वव्यापी (यहाँसम्म कि स्थानीय पनि) युद्धको यस प्रकार भूराजनीतिक मूल्याङ्कन गर्नुले बताउँछ : संसार गुटबन्दीमा विभाजित छ र हामीले त्यसमध्ये कुनै एकलाई चुन्नुपर्ने छ । जहाँसम्म “बलिदानी क्षेत्र” मा बसोबास गर्ने जनताको प्रश्न छ, उनीहरूको हितलाई “ठुलो साम्राज्यवाद विरोधी उद्देश्य” का लागि सजिलैसँग पृष्ठभूमिमा पार्न सकिन्छ । यस क्रममा अन्तर्राष्ट्रिय एकताको स्थान एउटा यस्तो दृष्टिकोणले लिएको छ, जसले अमेरिकी साम्राज्यवादका लागि नोक्सानीपूर्ण प्रतीत हुने काल्पनिक भूराजनीतिक सन्तुलनको पक्षमा पूरै जनतालाई घृणा गर्न सिकाउँछ । अतीतमा पनि यस्तै प्रकारका प्रवृत्ति देखा परेका थिए । त्यतिखेर १९५६ मा रुसी ट्याङ्कले हङ्गेरीलाई कुल्चिदिएको थियो; १९६९ मा प्रागवसन्तको दौरान र अन्य समयमा आतङ्क मच्याइएको थियो तर त्यतिखेर शीतयुद्ध समयको गुटबन्दी पुँजीवाद विरुद्ध वैकल्पिक व्यवस्थाको रक्षाका लागि दिइएको प्रत्युत्तर थियो (यहाँ हामी सच्चा समाजवादको बारेमा गरिने बहसलाई एक छिन थाती राखेका छौँ) । त्यस्तै, अहिले यस्तो कारबाही खालि बसरअल असद या पुतिन जस्ता निरङ्कुश शासकको रक्षा गर्नका लागि गरिएको छ । रुसी सङ्घको कम्युनिस्ट पार्टी, जसले युक्रेनमाथिको आक्रमणलाई समर्थन गर्दछ, त्यो आज एउटा यस्तो शक्ति हो, जसले राष्ट्रिय बोल्सेभिकवादसित सोभियत अतीतमोहलाई मिसाउँछ ।

अर्को कुरा, गुटबन्दीको दृष्टिकोणबाट अमेरिकाको अतिरिक्त अन्य सबै साम्राज्यवादी शक्तिहरू अदृष्य छन् । वामपन्थीको एउटा ठुलो भागलाई कुनै पनि प्रकारको आञ्चलिक साम्राज्यवादसम्बन्धी विश्लेषण गर्नमा अत्यन्तै कम रुचि छ । यो स्पष्ट छ : जो देश रुसको सिमानामा छन्, उनीहरूका लागि रुस “साम्राज्यवाद” हो र यो पनि स्पष्ट छ : रुसी आक्रमणपछि युक्रेनीहरू नाटो गठबन्धनमा समावेश हुन इच्छुक हुने छन् । नाटोको विस्तार निश्चित रूपमा त्रासदीलाई आमन्त्रण गर्ने एउटा उपाय हो तर युक्रेनमाथिको आक्रमण खालि एउटा रक्षात्मक प्रतिक्रिया मात्र होइन । धेरै गहिरो उत्खनन् गर्नुपर्ने आवश्यकता छैन, महान् रुसी साम्राज्यसम्बन्धी तर्कसहित यस आक्रमणलाई सही सावित गर्दै पुतिनले यस्तो गरेका छन् ।

पुतिनले युक्रेनलाई नाजीरहित अर्थात् फासिष्टविहीन अवस्थामा पुर्याउने जुन तर्क दिएका छन्, वामपन्थीहरूसमेत त्यस तर्कको गहिराइसम्म पुग्न अल्छीपन देखाउँछन् ।

पक्कै पनि युक्रेनमा नवनाजी मिलिसिया छ तर त्यहाँ एउटा यहुदी राष्ट्रपति पनि छ । हामीले सूक्ष्म रूपबाट यस तथ्यको विश्लेषण गर्नुपर्ने आवश्यकता छ : त्यहाँको राजनीतिमा उनले कति दबदबा राख्दछन् र कति प्रभावशाली छन् ?

एक जना राजनीतिकर्मी, वैज्ञानिक तथा युक्रेनका पत्रकार बोहदान बेनका अनुसार “आजोव आर्मी७ वास्तवमा एउटा सानो समूह हो, जसमा एक हजारभन्दा बढी सदस्य छैनन् । त्यसको स्थापना २०१४ मा रुसद्वारा डोनबास र क्रिमियामा आक्रमण गर्न र युक्रेनी सेनामाथि त्यसको पूरै नियन्त्रण जमाएपछि गरिएको थियो । युक्रेनको सरकारले स्वयम्सेवकहरूलाई त्यसमा सहभागी हुन आह्वान गरेको थियो, चाहे तिनीहरू जुनसुकै विचारधाराका किन नहोउन् । त्यसको परिणामस्वरूप अस्तित्वमा आएको समूहमध्ये एउटा आजोव थियो । आजोवका केही सदस्य घोर दक्षिणपन्थी छन् तर यो राष्ट्ररक्षाको एउटा भाग हो (नोट : त्यसैले यो भाग सम्भवतः सेनाको कमान्ड र नियन्त्रणकारी संरचनाको मातहतमा छ) । हामीकहाँ पनि अन्य कुनै राष्ट्रमा जस्तै घोर दक्षिणपन्थी राष्ट्रवादी छन् तर यो व्यापक मात्रामा देखा परेको परिघटना होइन र त्यसलाई सरकारको समर्थन प्राप्त छैन ।८

यो राम्रो अवस्था हो : कैयौँ वामपन्थी दल र राजनीतिक कार्यकर्ताले पुतिनद्वारा गरिएको हमलाको विरोध गरेका छन् र अमेरिकासहित नाटो भूमिकाको कडा शब्दमा निन्दा गरेका छन् । उनीहरूले युक्रेनी जनताको पक्षमा उभिने शपथ लिएका छन् र भनेका छन् : यो युद्ध पुतिनको आफ्नो युद्ध हो । यसले कुनै पनि रूपमा रुसी मजदुर वर्गको हितको रक्षा गर्दैन ।

यसले सकारात्मक सन्देश दिन्छ : सरकारद्वारा लगाइएको प्रतिबन्ध र गिरफ्तारीको आशङ्काको बाबजुद रुसका विभिन्न सहरमा ठुलो सङ्ख्यामा मानिसहरू युद्धको विरोध गर्न सडकमा उत्रिएका छन् । युक्रेनका जनताको रुसी जनतासित घनिष्ट सम्बन्ध छ; जस्तो : सीमा वारिपारिका जनतामाझको पारिवारिक सम्बन्ध । यद्यपि रुसी राष्ट्रपति भ्लादिमिर पुतिनले फेबु्रअरी २४ का दिन युक्रेनमाथि स्थल, हवाई र समुद्री आक्रमण गर्ने आदेश दिएका थिए । ओ.वी.डी.–इन्फो (रुसको स्वतन्त्र नागरिक मिडिया) ले युद्धविरोधी कारबाहीको सम्बन्धमा १४ हजारभन्दा बढी गिरफ्तार भएको सूचना दिएको थियो । त्यसमध्ये १७० भन्दा बढी मानिसलाई हिरासतमा राखिएको थियो ।९ प्रदर्शनकारीहरूले सम्पूर्ण उपलब्ध पुलिस, विशेष सेवा र सेनासित मिलेर युद्धविरोधी प्रदर्शन गरेका थिए ।

खुसीको कुरा; २०१४ मा जस्तै रुसमा अन्धराष्ट्रवादको हावा बगिरहेको छैन । रुसी समाजको एउटा ठुलो तप्काले युक्रेनसित युद्धको स्पष्ट रूपमा विरोध गरिरहेको छ । बहुमत जनताको भनाइ छ : युद्ध छिट्टै समाप्त हुने छ र शान्ति कायम हुने छ । सडकमा युद्धको विरोध गरिरहेका मानिसहरू हाम्रा सबै आशा र आकाङ्क्षाको प्रतिनिधित्व गरिरहेका छन् । साम्राज्यवादको कडा भत्र्सना, युक्रेनमाथि आक्रमणको विरोध र साथै यसको विरोध गरिरहेकाप्रतिको सहानुभूति यतिखेर धेरै महत्वपूर्ण छ ।

सन्दर्भसूची
1. http:/www.web archive.org
2. https:/www.brooking.edu
3. https:/www.agos.com.tr
4. https:/www.cadtm.org
5. https:/www.cadtm.org
6. https:/www.ft.com
७. आजोव बटालियन, एउटा घोर दक्षिणपन्थी, युक्रेनको नवनाजिवादी मिलिसिया ।
८. तुषार धरसितको अप्रकाशित अन्तर्वार्ता
9. http:/www.aljazeera.com/news

(ग्राउन्ड जिरोबाट
भावानुवाद : प्रकाश थापामगर)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार