
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४६ औँ वर्षको इतिहास पुरा गरी आजदेखि ४७औँ वर्षमा प्रवेश गरेको छ । त्यो ४६ वर्षको इतिहास अत्यन्त उज्ज्वल र गौरवपूर्ण छ । यसअवसरमा भारतभरि नै छरिएर रहेका सम्पूर्ण श्रमजिवी नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
माथि उल्लेखित बाहेक मूल प्रवाह एकता समाजको गतिविधी सङ्गठन तथा इतिहासमा अरु पनि धेरै महत्वपूर्ण आयामहरू छन् । त्यसप्रकारको इतिहास बोकेर आएको मूल प्रवाह एकता समाजका अगाडि कैयौँ प्रकारका समस्या र चुनौतीहरू अझै पनि छन् । त्यसकारण ति समस्या र चुनौतीहरूले त्यही प्रकारका संघर्षको माग गर्दछ ।
मूल प्रवाह एकता समाजले केवल भारतका विभिन्न शहरहरूमा छरिएका नेपालीहरूका स्थानीय र तात्कालिक समस्याहरूमाथि ध्यान दिदै आफ्नो सङ्गठनात्मक गतिविधी शुरु गरेको थियो । तर अब ४६ वर्षपछि त्यो स्थिति छैन । नयाँ–नयाँ परिवर्तनसँगै नयाँ–नयाँ समस्याहरू उत्पन्न भएका छन् । त्यसकारण आज मूल प्रवाह एकता समाजको चिंतन, कार्यक्रम, गतिविधी र सङ्गठनात्मक भूमिकाको स्तर पहिले भन्दा कैयौँ गुना माथि उठ्नु पर्ने र व्यापक हुनुपर्ने आवश्यकता छ । मूल प्रवाह एकता समाजले अब केवल भारतका कुनै शहरमा मात्र होइन, सम्पूर्ण भारत तथा त्यहाँका प्रवासी नेपालीहरूका कार्यक्रम, नीतिहरू र जटिलताहरू माथि ध्यान दिंदै आफ्नो कार्यक्रम र नीतिहरू निश्चित गर्नुपर्ने आवश्यकता छ ।
त्यति मात्र होइन, मूल प्रवाह एकता समाजले नेपालको जनआन्दोलनका विभिन्न पक्षहरू, भारतका मेहनतकश जनता र प्रगतिशील तत्वहरूसितको ऐक्यवद्धता, बाँकि विश्वभरका मेहनतकश जनता र क्रान्तिकारी शक्तिहरूसित अधिकतम् ऐक्यवद्धता कायम गर्ने दिशातिर पनि पहलकदमी बढाएर लैजानु पर्ने आवश्यकता उक्तिकै छ । मूल प्रवाह एकता समाजको विगतको इतिहासलाई अध्ययन गर्दा त्यसप्रकारको भूमिका खेल्ने क्षमता पनि राख्दछ ।
भारतस्थित नेपालीहरूका समस्या, उनीहरूका हकहितको रक्षाका लागि मूल प्रवाह एकता समाजले धेरै पहल एवं संघर्ष गरेको इतिहास छ । तर, त्यो दिशामा अझै धेरै कामहरू गर्नुपर्ने जिम्मेवारी पनि मूल प्रवाह एकता समाजको काँधमा छ । नेपाली मूलका भारतीय नागरिकहरूको अस्पष्ट र अनिश्चित समस्या आज पनि कायम छ । उनीहरूलाई भारत सरकारले १९५० को सन्धी अन्तर्गत राखेर नै व्यवहार गर्दछ तर, उनीहरू भारतका नागरिक हुन् । भारतमा उनीहरूको अधिकार त्यसरी नै सुरक्षित हुनुपर्दछ । त्यसरी नेपाली भाषा–भाषी भएको कारणले भारतीय नागरिकहरूको एउटा ठूलो संख्या माथि अन्याय भएको छ । त्यो अन्यायका विरुद्ध नेपाली मूलका भारतीय नागरिकहरूले लगातार संघर्ष गरिरहेका छन् । मूल प्रवाह एकता समाजले उनीहरू त्यो न्यायपूर्ण आन्दोलनमा ऐक्यवद्धता कामय गर्दै आएको छ । भविष्यमा पनि त्यो कार्यलाई जिम्मेवारीको रुपमा लिनुपर्ने आवश्यकता छ ।
नेपालबाट भारतमा आएका लाखौँ नेपाली रहेका छन् । उनीहरू १९५० को सन्धी अन्तर्गत पर्दछन् । तर, त्यो सन्धी अनुसार पनि भारतस्थित प्रवासी नेपालीहरूको अधिकार सुरक्षित छैन । आसाम सहित पूर्वोत्तर भारतमा रहने इनरलाईन प्रमिटको नाममा सताउने गरिंदै छ । अरुणाचल, मिजोरम, नागाल्यण, मणिपुर, हिमांचल र लक्ष्यद्वीपमा इनरलाईन प्रमिटको नाममा नेपालीहरू प्रताडनाको शिकार भइरहेका छन् । रसाथै हिमांचल तथा पूर्वात्तर लगायत अन्य कतिपय राज्यहरूमा रोजगारको लागि इलिजिवीटी सर्टिफिकेट (पात्रताको अधिकार प्रमाण पत्र), डोमिशाइल सर्टिफिकेट (स्थायी निवास प्रमाण–पत्र) को नाममा नेपालीहरू तथा उनका सन्तानलाई नोकरीबाट बञ्चित गरिएको छ । त्यस्तै हिमांचल, जम्मु कश्मिर, पूर्वोत्तर, उत्तराखण्ड लगायत कैयौँ राज्यहरूमा पुस्तौंपुस्ता रहँदै आएका नेपालीहरू देश विहिनका नागरिक बन्न विवश छन् । नेपालमा जानका लागि उनीहरूको गाउँ थाहा छैन, भारतमा उनीहरूलाई विदेशी भन्ने गरिन्छ । यस्तो दयनिय अवस्थासँग सामना गर्न नेपालीहरू विवश छन् ।
सन् १९५० को “शान्ति तथा मैत्री” सन्धी अनुसार नेपालीले भारतमा ‘राष्ट्रिय व्यवहार’ पाउनु पर्दछ । सरकारले भारतमा नेपालीहरूले ‘राष्ट्रिय व्यवहार’ पाए/नपाएको अनुगमन गर्नुपर्दछ । नेपाल–भारत दुबै देशद्वारा सम्मिलित रूपमा गठित प्रबुद्ध समुहले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिनु पर्दछ । सन् १९५० को सन्धी आफैमा असमान छ र त्यसलाई खारेज गरेर पञ्चशीलको आधारमा नयाँ सन्धी गरिनुपर्दछ । १९५० को सन्धी खारेज नहु“दासम्मलाई भारतस्थित नेपालीहरूले उक्त सन्धीद्धारा प्रदत्त सुविधा पाउनुपर्ने हुन्छ । त्यसबारे भारत प्रवासमा रोजगारीमा आउने धेरै नेपालीहरूलाई जानकारी नहुन सक्छ । उनीहरूलाई आफ्नो अधिकारबारे जानकारी गराउने र आन्दोलनमा सरिक गराउने विषयमा पनि मूल प्रवाह एकता समाजले जिम्मेवारी बोध गर्दै आएको छ ।
वर्तमानमा रोजगारका लागि भारतमा आएका नेपालीहरूको अवस्था निकै दयनीय बन्दै गएको छ । भारत सरकारले आधार–कार्ड अनिवार्य तथा बहुउदेश्यीय कागजातको रुपमा लागु गरेको छ । त्यसको अभावले कैयौँ नेपालीहरूले रोजगारीबाट हातधुनु परेको छ । त्यस्तै कैयौंले आधार–कार्डको अभावमा बैंक खाता नखुल्ने, बैंक खाताको अभावमा नोकरीबाट पाउने तलब समेतबाट हातधुनु पर्ने वाध्यता नेपालीहरूको रहेको छ । सेवा निवृत्त भएर नेपाल गएका कैयौंको पेन्शन तथा बैंकमा रहेको रकम आधार कार्डको अभावमा फ्रिज भएको छ । कैयौँ नेपालीहरूले आधार कार्डको अभावमा मोबाइल सिम, ग्यास, स्कुलहरूमा बच्चाहरूलाई भर्ना लगायतका समस्याहरू झेल्नु परिरहेको छ ।
वर्तमानमा भारत सरकारले पारिवारिक पहिचान पत्रको शुरुवात गरिरहेको छ । त्यसबाट नेपालीहरूले झनै धेरै समस्याहरूको सामना गर्नुपर्ने अवस्था आउने निश्चित छ । यो परिस्थितिमा नेपालीहरूका समस्याको समाधानका लागि संघर्ष गर्ने एक मात्र सङ्गठन भएको नाताले पनि मूल प्रवाहले भविष्यमा अझै धेरै समझदारी र जिम्मेवारीको रुपमा काम गर्नुपर्ने आवश्यकता छ ।
वर्तमान अवस्थामा नेपालीहरू सन १९७९ भन्दा पहिलेको अवस्थामा जस्तै अनुशासनको बाहिर रहेर विभिन्न प्रकारका गतिविधीहरूमा लाग्ने गरेको पनि पाइन्छ । जस्तै : कैयौँ मठ मन्दीरको नाममा नेपालीहरूलाई लुट्ने, कतिपयले जिल्ला सम्पर्क समितिको नामले, कतिपयले लोक दोहोरी संस्थानको नामले, कतिपयले विभिन्न जातिवादी सङ्गठनको नामले, कतिपयले विभिन्न प्रकारका व्यवसायीको नामले, कतिपयले भेगीय वा क्षेत्रीय नामले भारत प्रवासमा रहेका नेपालीहरूलाई विभाजन गरी आफ्नो स्वार्थसिद्ध गर्नेगरेका छन् । वर्तमानमा देखिएका यि समस्याहरू पनि निकै चुनौतीपूर्ण छन् । यस्ता प्रकारका कार्यहरू सन् १९७९ भन्दा पहिला हुने गर्दथ्यो । त्यो पछि मूल प्रवाह एकता समाजको गठन पश्चात सुस्त–सुस्त कम हुँदै गएको थियो तर, निर्मुल भएको थिएन । पछिल्लो समयमा पुनः त्यसप्रकारका गतिविधीहरू शुरु भएका छन् । त्यो कुनैपनि हालतमा नेपाली क्रान्तिको पक्षमा थिएन र छैन । यसप्रकारका समस्याहरूसँग जुधेर नै मूल प्रवाह एकता समाज यहाँसम्म आइपुगेको हो, भविष्यमा पनि त्यसप्रकारका समस्याहरूलाई चुनौतीको रुपमा लिंदै अगाडि बढ्नु पर्ने आवश्यकता छ ।
त्यस्तै कतिपयले व्यक्तिहरूले सोझा र इमान्दार नेपालीलाई सुन्दर सपना देखाएर निहित व्यक्तिको फाइदाको लागि गरिने नेटवर्कीङ व्यवसायीको नामले धेरै नेपालीहरूको धनमाल नोक्सान गर्ने गरेका छन् । आर्गोस्, हर्बललाइफ, सानेसा, वेस्टिज, फ्यूचर मार्केट, आरसिएम, मोदीकेयर, फरहेवर लिविङ आदि आदिका नाम लिएर नेपालीले नेपालीलाई नै ठगि गर्ने गरेको पाइन्छ । यो सङ्गठनको अनुशासन भित्र पटक्कै पर्दैन । यस प्रकारको गतिविधीबाट मूल प्रवाह एकता समाजका कार्यकर्ताहरूलाई बचाएर अनुशासित र जुझारु बनाएर नै सङ्गठनको जिम्मेवारी पूरा गर्न सकिन्छ ।
विगतमा सङ्गठनको अनुशासन नमानेको कारण कैयौँ कार्यकर्ताहरूलाई सङ्गठनबाट निश्काशित गर्नु परेको थियो । त्यो सङ्गठनको अनुशासनको निश्चित दायरा भित्र पर्दथ्यो । त्यसप्रकारको पुरावृत्तीबाट संगठनलाई बचाइरहनु पर्ने आवश्यकता वर्तमानमा पनि कायम छ । समाजमा भएका कैयौँ कुरिती, कुसंस्कारलाई पंछ्याएर समाजलाई प्रगतिशील गतिमा अगाडि बढाउने जिम्मेवारी निर्वाह गर्दै आएको मूल प्रवाह एकता समाजले आफ्नो इतिहासलाई वर्तमानमा पनि निरन्तरता दिनुपर्ने हुन्छ ।
पाचौँ दशाब्दीको संघारमा रहेको मूल प्रवाह एकता समाजले आफ्नो चार दशकको उज्ज्वल र गौरवपूर्ण इतिहासलाई कायम राख्ने मात्र होइन, त्यसलाई अरु उच्च स्तरमा माथि उठाउनका लागि सम्पूर्ण स्तरका कार्यकर्ता लागिपर्न प्रयत्न गर्नु पर्दछ । त्यसका लागि सङ्गठनका नेता कार्यकर्ताहरूले आफ्नो चिन्तन तथा कार्यविधिको स्तरलाई पनि अरु उच्च स्तरमा उठाउने पक्षमा ध्यान दिएर नै आफ्नो नीति र कार्यक्रमहरू निश्चित गर्नुपर्ने हुन्छ ।
जीवन, सङ्गठन र कामको अवस्थामा पनि पहिले भन्दा कैयौँ गुना बढी जटिलताहरू थपिदै आइरहेका छन् । ति जटिलताहरूको सामना गरेर नै मूल प्रवाह एकता समाजको गरिमा कायम राख्न सफल हुनेछ । हामीले आशा गर्नुपर्ने हुन्छ : मूल प्रवाह एकता समाजले र त्यसका नेता कार्यकर्ताहरूले आफ्नो जिम्मेवारीलाई जीवन मरणसँग संघर्ष गरेर नै इतिहाँसले दिएको जिम्मेवारीलाई वर्तमानमा निर्वाह गर्न र भविष्यमा नयाँ पुस्तालाई हस्तान्तरण गर्न सदासदा तत्पर रहनेछन् ।
















