नानीमैया दाहाल र बालेन शाह

मनोज भट्ट ##
स्थानीय तहको निर्वाचनमा ७५३ पालिकामध्य १३ ओटा पालिकाको नेतृत्व स्वतन्त्र समूहका उम्मेदवार विजयी भएका छन् । वडास्तरमा पनि सयौँको सङ्ख्यामा स्वतन्त्र वा गैरदलीय उम्मेदवार विजयी भएका छन् । तीमध्य धनगढीका गोपाल हमाल, धरानका हर्क साम्पाङ तथा काठमाडौँका बालेन शाह अहिले निकै चर्चामा छन् । यी तीनओटा विजयी उम्मेदवारमध्ये पनि काठमाडौँका बालेन शाह निकै लोकप्रिय देखिएका छन् । बालेनको पक्षमा हजारौँ युवा र लाखौँ जनताको स्वतःस्फूर्त समर्थन देखिएको छ । त्यो समर्थन हेर्दा मानौँ यस्तो लागिरहेको छ कि बालेनको पक्षमा जनलहर देखिनुका साथै एक प्रकारले नेपाल नै बालेनमय भएको जस्तो अनुभूति भइरहेको छ ।

धरानका हर्क साम्पाङ र धनगढीका गोपी हमालले लामो समयदेखि जनताको विकास निर्माण, जनजीविका, भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा अभियान चलाउँदै आएको पाइन्छ । यहाँसम्म कि हर्क साम्पाङले त राष्ट्रका जल्दाबल्दा राजनीतिक विषय तथा राष्ट्रियताका पक्षमा निरन्तर एक्लै भए पनि अभियान चलाएको पाइन्छ । त्यस अर्थमा हमाल र साम्पाङको जनताको पक्षमा सङ्घर्षको केही न केही पृष्ठभूमि रहेको पाइन्छ तर बालेनको कुनै पनि प्रकारको सामाजिक, राजनीतिक तथा जनताको विकास निर्माणको क्षेत्रमा सङ्घर्ष गरेको वा योगदान पुर्याएको पृष्ठभूमि रहेको पाइँदैन वा छैन । राजनीतिक क्षेत्रमा उनी नितान्त नयाँ पात्र हुन् । उनीसँग राजनीतिक क्षेत्रमा सङ्घर्षको कुनै अनुभव छैन । त्यसका बाबजुद पनि देशको मुटु राजधानी जस्तो क्षेत्रमा जहाँ तुलनात्मक रूपमा अन्य ठाउँका भन्दा जनता केही बढी सचेत छन् । रैथाने नेवारको बाहुल्यता छ, नेका र एमालेको सङ्गठनात्मक रूपमा बलियो जनाधार छ । लामो राजनीतिक पृष्ठभूमि भएका परिवारसँग जोडिएका वा विगतमा पनि लगातार सत्ता सञ्चालनको तहमा पुग्न सफल भएका उम्मेदवार चुनावी मैदानमा थिए । त्यसका बाबजुद पनि गैरकाठमाडौँवासी, गैरनेवार बालेन शाहले ती सबै उम्मेदवारलाई पराजित गरेर विजयी भएका छन् । आखिरी यो कसरी सम्भव भयो ?
बालेनको पक्षमा युवाको स्वतःस्फूर्त समर्थन छ । बालेनलाई युवाले आफ्नो रोलमोडेल (आदर्श व्यक्ति) को रूपमा लिइरहेका छन् । यो स्थितिलाई सहि राजनीतिक धरातलमा मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ ।

बालेनको जनताबाट प्राप्त वास्तविक समर्थनको स्थिति बुझ्न वा मूल्याङ्कन गर्नका लागि एक चोटि हामीले नानीमैया दाहालको प्रसङ्ग र तत्कालीन परिस्थितिबारे चर्चा गर्नु उपयुक्त हुने छ ।

२०३६ सालको जनमत सङ्ग्रहमा बहुदलको हार र पञ्चायतको जीत भए पनि त्यो प्राविधिक रूपमा मात्रै सही थियो । पञ्चायती व्यवस्थाका विरुद्ध जनतामा व्यापक असन्तोष थियो । त्यो असन्तोष विष्फोट हुन कुनै घटना वा परिस्थितिको प्रतिक्षा गरिरहेको थियो । त्यही अवस्थामा २०३८ सालमा भएको पञ्चायती चुनावमा नानीमैया दाहाल काठमाडौँ क्षेत्रबाट राष्ट्रिय पञ्चायतको सदस्यको उम्मेदवारको रूपमा खडा भएकी थिइन् ।

तत्कालीन अवस्थामा पञ्चायती व्यवस्थाका मुख्य नेतामध्येका एउटा जोगमेहर श्रेष्ठ पनि तत्कालीन चुनावमा उठेका थिए । जोगमेहर श्रेष्ठ निकै शक्तिशाली थिए । जोगमेहरलाई दरबारको समर्थन पनि थियो । झन् अझ त्यसमा पनि उनी काठमाडौँका रैथाने नेवार पनि थिए । रैथाने नेवार समुदायमा पनि उनको निकै बलियो प्रभाव थियो । त्यसको तुलनामा नानीमैया बालेन शाह जस्तै राजनीतिमा नयाँ अनुहार थिइन् । निजलाई कसैले पनि चिन्दैनथ्यो । कुनै राजनीतिक अनुभव थिएन तर तत्कालीन अवस्थामा पञ्चायतका विरुद्ध जनतामा धेरै ठूलो असन्तोष थियो । जनता व्यवस्थाका विरुद्ध थिए । त्यस्तो अवस्थामा जनताले पञ्चायतका मुख्य हस्ती जोगमेहरलाई पराजित गर्नका लागि निर्वाचनलाई पञ्चायतका विरुद्ध प्रयोग गरे र नानीमैया दाहाललाई जिताइदिएका थिए । स्वतःस्फूर्त रूपमा नानी मैयाका पक्षमा काठमाडौँका युवाहरू सङ्गठित भएका थिए । निर्वाचनको खर्चका लागि स्वतःस्फूर्त रूपमा धन सङ्कलन गर्ने काम भयो । टोल टोलमा प्रचार समिति पनि बने । नानीमैयाको पक्षमा जनलहर नै सिर्जना भयो । पञ्चायतको खम्बा मानिएका जोगमेहर निर्वाचनमा पराजित भए भने नानीमैया विजयी भइन् ।

यही प्रकृति बालेन शाहको विजयी प्रकरणमा पनि देखा परेको छ । यो स्थिति सिर्जना हुनुमा मुख्यतयाः गणतन्त्रमा देखिएका विकृति, विसङ्गति, भ्रष्टाचार तथा कुशासनले जनतामा गणतन्त्रका विरुद्ध देखा परेको जनासन्तोषले मुख्य प्रेरक शक्तिको भूमिका खेलेको छ । गणतन्त्रमा देखिएका विकृति, विसङ्गति, भ्रष्टाचार, राजनीतिक अस्थिरता, दलप्रति देखिएको वितृष्णाका कारण गणतन्त्रप्रति नै जनतामा व्यापक असन्तोष छ । जनताले यसको विकल्प खोजिरहेका छन् । जनताको यो असन्तोषलाई प्रतिगामी शक्तिद्वारा प्रतिगामी राजनीतिक दिशा दिनका लागि लगातार षड्यन्त्र भइरहेको छ । यो स्थितिमा काठमाडौँका जनताले स्थानीय तहको निर्वाचनलाई गणतन्त्रमा देखिएको विकृति, विसङ्गति, भ्रष्टाचार र कुशासनका विरुद्ध आफ्नो अभिमत प्रकट गर्न प्रयोग गरेका थिए । त्यो अभिमत प्रकट गर्ने क्रममा सत्ता वा प्रतिपक्षको विकल्पमा सत्तामा नगएर इमानदारिपूर्वक भ्रष्टाचाररहित ढङ्गबाट काम गरिरहेका दललाई जनताले रोज्नुपर्दथ्यो तर त्यसो नगरेर बालेन शाहका पक्षमा आफ्नो अभिमत प्रकट गरेका छन् ।

बालेन शाहले कतिपय जनताका आवाज उठाएका छन् र त्यसका पक्षमा सङ्घर्ष गर्ने तत्परता पनि देखाएका छन् । यो कार्यलाई गलत भन्न मिल्दैन तर बालेन शाह एउटा गैरराजनीतिक व्यक्ति हुन् । उनको कुनै राजनीतिक उदेश्य, निष्ठा वा लक्ष्य छैन । यस प्रकारका मान्छेहरूले सही कुरा उठाए पनि उनीहरू गलत राजनीतिक उद्देश्यका लागि प्रयोग हुन सक्ने सम्भावना नै बढी हुन्छ । त्यसरी प्रयोग भए भने तिनीहरूलाई नियन्त्रण र सन्तुलन गर्ने निकाय पनि कुनै हुँदैन । त्यसैले यस प्रकारका स्वतन्त्र मान्छेले जनताका पक्षमा काम गर्ने उदेश्य लिएको भए पनि गलत राजनीतिको सिकार हुने वा प्रयोग हुने खतरा नै बढी हुन्छ । त्यसले यस्तो स्थितिमा प्रतिगमनलाई नै बढी मदत पुर्याउँछ ।

नानी मैया दाहालको पक्षमा देखा परेको जनसमर्थन व्यवस्था विरुद्धको आक्रोशको परिणति थियो । त्यो आक्रोशले सही बाटो समात्यो । निर्दलको ठाउँमा बहुदल स्थापना गर्ने सङ्घर्षका लागि वातावरण निर्माण गर्न मदत पुग्यो । त्यसैले हामीले बालेन शाहको मूल्याङ्कन गर्दा उनले प्राप्त गरेको लोकप्रिय मत जनाधारको परिणाम होइन, व्यवस्थाका विरुद्ध उत्पन्न आक्रोश हो । त्यसैले गणतन्त्रका पक्षधर शक्तिले गणतन्त्रमा देखिएका विकृति र विसङ्गतिलाई हटाउनका लागि गम्भीर हुनु आवश्यक छ ।

बालेनको पक्षमा देखा परेको व्यवस्था विरुद्धको जनमतले व्यवस्थाको विरोध त गर्दछ तर यो व्यवस्था फालेर योभन्दा प्रगतिशील व्यवस्थाभन्दा झन् यो व्यवस्थाभन्दा पछाडि फर्किएको व्यवस्थाको पक्ष लिएर सही निकास निस्कन सक्दैन ।

नानीमैया दाहाल र बालेन शाहका बिच थुप्रै समानता र भिन्नता पाइन्छन् । त्यसका बाबजुद पनि यी दुईटा पात्रका बिच मुख्य समानता भनेको विद्यमान व्यवस्थाप्रतिको असन्तोष र विरोधका यी दुईटै प्रतीक रहिआएका छन् । नानीमैया दाहाल तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध जनतामा रहेको विरोध र असन्तोषको प्रतीकको रूपमा २०३८ सालमा देखा परेकी थिइन् । ठिक त्यसै प्रकारले बालेन शाह पनि गणतन्त्र स्थापना भएको झन्डै डेढ दशक भइसक्दा पनि विगतको व्यवस्थाभन्दा तुलनात्मक रूपमा गणतन्त्रात्मक प्रणालीमा जनजीविका, राष्ट्रियताको सवालमा कुनै बेग्लै अनुभूति जनताले गर्न नपाउनु झन् जनताका जनजिवीका समस्या विकराल भइरहेको पृष्ठभूमिमा प्रतिगामी कोणबाट गणतन्त्रको विकल्प खोजिरहेको अवस्थामा बालेन शाह विद्यमान असन्तुष्टि, विरोधस्वरूप देखा परेको जनमत बालेन शाहको पक्षमा गएको छ ।

तत्कालीन पञ्चायती व्यवस्था विरुद्धको जनमतले नानीमैया दाहाललाई अगाडि सारेको थियो । त्यो जनमत निरङ्कुशता विरोधी जनमत थियो । त्यो जनमतले निरङ्कुशताको अन्त्य र प्रजातन्त्रको बहाली चाहन्थ्यो । त्यसले तत्कालीन जनमत प्रतिगामी अवस्थाबाट कम्तीमा एक कदम अगाडि भए पनि नयाँ बाटोतर्फ बढ्न चाहन्थ्यो वा यो कुरालाई यसरी पनि भन्न सकिन्छ ः तत्कालीन व्यवस्था विरोधी जनमत नानीमैया दाहालको पक्षमा गए पनि त्यसबाट जनता पञ्चायतका मुख्य खम्बालाई ढलाएर जनाधारबिनाको पात्रलाई अगाडि ल्याएर पञ्चायतलाई कमजोर पार्न चाहन्थे । बलियो दुस्मनशक्तिलाई कमजोर पार्नका लागि कम्जोर दुस्मनशक्तिसँग सहकार्य गर्नु जस्तै हो तर वर्तमान बालेन विजयी भएको अवस्था विगतको निरङ्कुश पञ्चायती व्यवस्थामा जनताले पञ्चायतका मुख्य खम्बालाई ढाल्न कमजोर पात्रलाई अगाडि सारेको जस्तो स्थिति होइन । विद्यमान गणतन्त्रप्रति देखा परेको असन्तोषलाई प्रतिगामी कोणबाट प्रयोग गरेर त्यसको सही राजनीतिक समाधान निस्कन सक्दैन । त्यसैले वर्तमान अवस्थामा बालेन शाहले प्राप्त गरेको जीतको मूल्याङ्कन गर्दा यी सबै पक्षलाई केलाएर मात्र हामी सही निष्कर्षमा पुग्न सक्दछौँ ।

बालेन शाहको विजयले राजनीति र राजनीतिक दलको विरोध तथा स्वतन्त्रको पक्षमा एउटा डरलाग्दो प्रवृत्तिको पनि सूक्ष्म रूपले विकास भइरहेको पाइन्छ । गलत राजनीतिलाई सही राजनीतिले विस्थापित गर्दै जान्छ । राजनीतिक रूपले देखिएका विकृति, विसङ्गति, भ्रष्टाचार तथा कुशासनको अन्त्य सही राजनीति र सही राजनीतिक दलले मात्रै गर्न सक्दछ । गलत राजनीतिको विकल्प सही राजनीति नै हो । गलत राजनीतिको विकल्पमा राजनीतिक रूपले स्वतन्त्र प्रवृत्तिलाई अगाडि सार्ने हो भने यसले दलीय व्यवस्थाको विकल्पमा निर्दलीय व्यवस्था, गणतन्त्रको विकल्पमा राजतन्त्रलाई अगाडि सार्ने काम हुने छ । यो स्थितिले प्रतिगमनलाई नै बल पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार