बुटवल । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सांसद तारा जिसीले देशलाई टाट पल्टाउने नेताको हालत श्रीलंकाली नेताको जस्तै हुनसक्ने चेतावनी दिनुभएको छ ।
आइतबार लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०७९–८० को विनियोजित बजेटको छलफलमा भाग लिँदै सांसद जिसीले देशलाई टाट पल्टाएपछि श्रीलंकाका जनताले पुराना नेतालाई घर घरबाट निकाल्दै धोवीचुटाई गर्न थालेका भन्दै नेपालमा पनि त्यो दिन आउन सक्ने हेक्का राख्न आग्रह गर्नुभयो ।
सांसद तारा जिसीले ठूला दलहरुले संघीयता जस्तो महंगो व्यवस्था रोजेर देशलाई टाट पल्टाउने र कार्याकर्ता व्यवस्थापनमा राज्यको धुकुटी दुरुपयोग गरेको आरोप लगाउनु भयो ।
सम्बोधनका क्रममा उहाँले प्रदेशबाट माग सम्बोधन नगरेर, स्थानीयतहमा घात गरेर देशबाट राजमो समाप्त होस भन्ने प्रपञ्च रचिएको आरोप लगाउनुभयो । तर, राजमो कसैको श्रापले समाप्त नहुने उहाँले बताउनुभयो ।
‘भ्रष्टाचार, कुशासन समाप्त गर्न प्रयास गर्ने, पटक पटक देशहित विरुद्व गरिने राष्ट्रघात रोक्ने प्रयास गर्ने, राष्ट्र र राष्ट्रियताको पक्षमा सधै आवाज उठाउने, देश र जनताको हित सधै केन्द्रमा राख्ने राजमोलाई समाप्त गर्न किन आवश्यक ठान्नुभयो’ उहाँको भनाई थियो, ‘माग सम्बोधन नगरेर वा सरापेर कसैको अस्तित्व समाप्त हुँदैन । राजमो र यसको विचार देशमा हुनैपर्छ, तब मात्रै देश र समाजको अस्तित्व बच्न सक्छ ।
बजेटको सन्दर्भमा सांसद जिसीले मुख्मन्त्रीको निर्देशनमा तल्लो दर्जाको भेदभाव गरिएको र मन्त्रीहरूले मनोमानी गरेको भन्दै सरकार प्रमुखले नै जवाफ दिनुपर्ने माग गर्नुभयो ।