माओविचारधाराको झण्डालाई उँचो राखौं : सिंह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले वर्तमान अवस्थामा कम्युनिस्ट आन्दोलन कमजोर जस्तो देखिए पनि यो अस्थायी मात्रै भएको बताउनु भएको छ ।

१२७ औं माओ जयन्तीका अवसरमा बिहीबार एक वक्तव्य जारी गर्दै महामन्त्री सिंहले ढिलो वा चाँडो फेरि क्रान्तिको शक्ति बलियो भएर अगाडि आउने छ बताउनु भएको छ । सिंहले विश्व मानव जातिको विजय हुने विश्वास समेत व्यक्त गर्नुभएको छ । महामन्त्री सिंहले माओविचारधाराको झण्डालाई उँचो राख्दै क्रान्तिका लागि लगातार आफ्नो कार्यभार पूरा गर्दै जानुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

वक्तव्यमा भनिएको छः

१२७ औँ माओ जयन्तीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण कार्यकर्ता, सदस्य, समर्थक र शुभचिन्तक सबैमा नेकपा (मसाल) ले अभिनन्दन गर्दछ । का. माओले अर्धसामन्त र अर्धऔपनिवेशिक मुलुकमा नयाँ जनवादी क्रान्तिको सिद्धान्तलाई प्रयोगमा ल्याउनुभएको थियो ।

उहाँले वर्गहरूको विश्लेषण गरी जनवादी क्रान्तिका मित्रशक्ति एवम् दुश्मन शक्तिको आधारलाई विश्व जनसमुदायको बीचमा स्पष्ट गर्नुभएको थियो । किसानवर्गलाई जनवादी क्रान्तिको आधारभूत वर्गको रूपमा पहिचान गरी कम्युनिस्ट पार्टीले समाजका अन्य निम्न पुँजीवादी शक्तिहरूलाई समेत क्रान्तिको पक्षमा सामेल गरेर क्रान्तिको नेतृत्व दिने सकिने सिद्धान्तलाई प्रतिपादन गर्नुभएको थियो ।

ग्रामीण वर्गसंघर्षमा जोड, गाउँबाट शहर घेर्ने रणनीति, संयुक्त मोर्चाको नीति, सैन्य रणनीति, आधुनिक संशोधनवादका विरुद्धको संघर्ष र सर्वहारा सांस्कृतिक क्रान्तिका मूल्यको संयुक्त प्रतिफल नै माओविचारधारा हो । सारमा मार्क्सवाद–लेनिनवादको सृजनात्मक विकासको सिद्धान्त माओविचारधारा भएको कुरा प्रष्ट छ ।

आज विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेला माओविचारधाराको सिद्धान्तले क्रान्तिकारी कम्युनिस्टका लागि धेरै नै महत्व राख्दछ । वर्गसंघर्षको दौरानमा कम्युनिस्ट आन्दोलन वर्तमान अवस्थामा कमजोर जस्तो देखिएपनि तर त्यो स्थायी कुरा होइन । ढिलो वा चाँडो फेरि क्रान्तिको शक्ति बलियो भएर अगाडि आउने छ र विश्व मानवजातिको विजय हुनेछ ।

त्यसैले माओविचारधाराको झण्डालाई उँचो राख्दै हामीले क्रान्तिका लागि लगातार आफ्नो कार्यभार पूरा गर्दै जानुपर्ने आवश्यकता छ । हामी सम्पूर्ण जनसमुदायलाई माओविचारधाराको झण्डालाईमाथि उठाउँदै र सबै प्रकारका वाधाका विरुद्ध सङ्घर्ष गर्दै अगाडि बढ्नका लागि आव्हान गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार