का. सन्तबहादुरहरूको फुटपरस्त क्रियाकलाप

वासुदेव पोखरेल ##
२०७९ असार १ गते नयाँ एफएम अर्घाखाँचीबाट का. सन्तबहादुर नेपालीको एउटा अन्तर्वार्ता प्रस्तुत भएको छ । सो अन्तर्वार्ता सुनेपछि उक्त अन्तर्वार्तामार्फत् उहाँले उठाएका विषयवस्तुबारे आफूलाई लागेका कुराहरूलाई सामान्य टिप्पणीको रूपमा राख्न चाहान्छु ।

का. नेपालीले उक्त अन्तर्वार्तामा मुख्यतः तीनओटा कुराहरूको उठान गर्नुभएको छ ।

प्रथम– नेकपा (मसाल) को आठौँ महाधिवेशनले पास गरेको दक्षिणपन्थी नीतिका कारणले पार्टी दक्षिणपन्थी संशोधनवादमा भासिने भयो । त्यसकारण पार्टीको क्रान्तिकारी लाइनलाई बचाउनका लागि विशेष महाधिवेशन गरेर पार्टीको पुननिर्माण गर्ने ।

द्वितीय– पार्टीभित्र अन्तरसङ्घर्षलाई ठिकसित सञ्चालन गरिएन र फरक मत राख्नेहरूलाई पार्टीबाट निष्काशन गरियो ।

तृतीय– पार्टीभित्र र बाहिर रहेका क्रान्तिकारीलाई समेटेर विशाल क्रान्तिकारी पार्टी बनाउने ।

प्रथमतः उहाँहरूले नेकपा (मसाल) लाई दक्षिणपन्थी संशोधनवादी भएको जुन आरोप लगाउनुभएको छ । त्यसमा उहाँहरूले उठाउँदै आउनुभएको कुरा हो, मसालले वर्तमान पुँजीवादी गणतन्त्रको रक्षा गर्ने कुरा गर्यो । चुनावलाई लगातार उपयोग गर्दै जाँदा निर्वाचनलाई रणनीति बनायो, आदि आदि ।

हामीले नेकपा (मसाल) को आठौँ महाधिवेशनद्वारा पारित दस्तावेजलाई अध्ययन गर्दा दुईओटा कुराहरूमा विशेष जोड दिएको पाइन्छ । एकातिर, माक्र्सवादी–लेनिनवादी सिद्धान्त र अर्कातिर, देशको राजनीतिक परिस्थितिबारे पार्टीको आत्मगत अवस्थालाई समेत ध्यानमा राखेर नयाँ जनवादी क्रान्तिका लागि आधार तयार पार्न प्रयत्न गर्ने र द्वितीय वर्तमान गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा सङ्घर्षलाई अगाडि बढाउने । उपर्युक्त प्रकारको विश्लेषण र नीति देशको ठोस परिस्थितिको ठोस विश्लेषणमा आधारित रहेको कुरा प्रष्ट छ ।

आठौँ महाधिवेशनमार्फत् नेकपा (मसाल) ले यो कुरा पनि प्रष्ट पारेको छ कि वर्तमान गणतन्त्र बुर्जुवा गणतन्त्र हो र यसबाट जनताका आधारभूत समस्याहरूको पनि समाधान हुँदैन तर राजतन्त्र, निरङ्कुश राजतन्त्र वा कुनै पनि प्रकारको तानाशाही व्यवस्थाभन्दा यो बुर्जुवा प्रकारको भए पनि प्रगतिशील व्यवस्था हो ।

यो सबैलाई थाहा भएको कुरा हो कि आज प्रतिगामीहरूले गणतन्त्र र धर्म निरपेक्षतासमेतलाई समाप्त पार्नका लागिा अभियान चलाइरहेका छन् । भारतीय साम्राज्यवादले नेपालमा हिन्दु राष्ट्र र राजतन्त्रको पुनस्र्थापनाका लागि षड्यन्त्र गरिरहेको छ । एमालेको नेतृत्व पनि त्यही प्रतिगामी लाइनमा सामेल भएको छ । देशको वर्तमान राजनीतिक परिस्थितिमा नयाँ जनवादी क्रान्तिमार्फत् नयाँ जनवाद स्थापना गर्ने अवस्था नरहेको र यही बुर्जुवा गणतन्त्रमाथि पनि प्रतिगामीहरूले धाबा बोलिरहेको अवस्थामा अहिले देशमा कायम रहेको गणतन्त्र पुँजीवादी गणतन्त्र भए पनि त्यसको रक्षाका लागि आवाज उठाउनु वा त्यसका लािग प्रयत्न गर्नु सबै क्रान्तिकारी वामपन्थी शक्तिहरूको कर्तव्य हुन आउँछ तर का. सन्तबहादुरहरूले वर्तमान वुर्जुवा गणतन्त्रको रक्षा गर्ने काम पुँजीवादीहरूको हो । यसको रक्षा गर्ने कुरा गरेर मसाल दक्षिणपन्थी लाइनमा गयो भनेर आरोप लगाउने गर्दै आउनुभएको छ । यस अन्तर्वार्तामा पनि का. नेपालीले गणतन्त्रको रक्षा तथा प्रतिगामी चलखेलको विरोधमा एक शब्द पनि बोल्नुभएको छैन । जबकि गणतन्त्र र धर्म निरपेक्षतासमेतको रक्षाको प्रश्न आज देशको समसामयिक राजनीतिको प्रधान पक्ष बनेर आएको छ ।

यसरी प्रष्ट छ, उहाँहरू नेकपा (मसाल) भन्दा अलग र क्रानितकारी देखिने नाउँमा वामपन्थी कोणबाट प्रतिगमनको पक्षमा उभिन पुग्नुभएको छ । उहाँहरूले नेकपा (मसाल) ले लगातार चुनावको उपयोग गर्ने नीति अख्तियार गर्दा पार्टी दक्षिणपन्थी भयो भन्ने आरोप त स्वयम् उहाँहरूले नै स्थानीय निर्वाचन–२०७९ उपयोग गरेबाट स्वतः खण्डित हुन्छ ।

उहाँहरूले नेकपा (मसाल) ले नयाँ जनवादी क्रान्तिको लाइन छोड्यो भन्ने आरोप लगाउँदै आउनुभएको छ । यसबारे नेकपा (मसाल) का दस्तावेजहरू प्रष्ट बोल्छन् कि हाम्रो देश अहिले पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको छ । त्यसकारण नयाँ जनवादी क्रान्ति नै आजको न्यूनतम कार्यक्रम हो । यसका विपरीत सन्तबहादुरहरूले भन्नुहुन्छ– आजको नेपाली जनताको प्रधान अन्तरविरोध सामन्तवादसँग होइन, दलाल पुँजीवादसँग छ ।

कम्युनिस्ट आन्दोलनको सामान्य ज्ञान भएको मानिसलाई पनि थाहा भएको कुरा हो कि नयाँ जनवादी क्रान्ति सामन्तवादका विरुद्ध गरिने क्रान्ति हो तर का. सन्तबहादुरहरूको निष्कर्ष नेपाली जनताको प्रधान अन्तरविरोध सामन्तवादसँग नभएर दलाल पुँजीवादसँग हो भन्ने छ । यसबाट नयाँ जनवादी क्रान्तिको लाइन कसले छाड्यो ? प्रष्ट हुँदैन र ?

उक्त अन्तर्वार्तामा प्रश्नकर्ताले का. नेपालीलाई प्रश्न गर्दछन् : तपाईंहरूको राजनीतिक कार्यदिशा वा एजेन्डा के हो ?
तर उक्त प्रश्नको सिधा जवाफा नदिएर का. सन्तबहादुर नेपालीले अन्य प्रसङ्गविहीन टालटुले कुरा गर्नुभएको छ । यसरी प्रष्ट हुन्छ, उहाँहरूसँग आगामी कुनै ठोस कार्यक्रम वा कार्यदिशा छैन । उहाँहरू मसाल र यसको नेतृत्वको विरोध गर्दै जाँदा अँध्यारोमा छामछुम गरिरहनुभएको छ । होइन भने गोयल्बस शैलीमा एकोहोरो मसाललाई दक्षिणपन्थी भएको आरोप लगाइरहँदा आफ्नो आगामी कार्यदिशा के हो ? बताउनुपर्दैन ?

अन्तर्वार्तामा उहाँले कैयौँ झुट र हावादारी कुरा गर्नुभएकोछ; जस्तै : बागलुङमा करिब ९० प्रतिशत नेकपा (मसाल) का कार्यकर्ताहरू हाम्रो पक्षमा छन् आदि तर भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा उहाँहरूले प्राप्त गरेको मत परिणाम नै उहाँको कुरा कति असत्य हो भन्ने कुराको प्रमाण हो ।

द्वितीय का. नेपालीहरूले पटक पटक लगाउने गरेको आरोप हो : दुई लाइनको सङ्घर्षलाई पार्टीभित्र ठिक ढङ्गले सञ्चालन गरिएन । फरक मत राख्नेलाई पार्टीबाट निष्काशन गरियो । यस अन्तर्वार्तामा पनि उहाँले यो कुरा उठाउनुभएको छ ।
कुरा स्पष्ट छ कि एउटा कम्युनिस्ट पार्टीले आफ्ना जिम्मोवारीहरू पूरा गर्नका लागि एउटा सुदृढ, बलियो र अनुशासित सङ्गठनात्मक प्रणालीलाई अपनाउनुपर्दछ । त्यो भनेको लेनिनवादी सङ्गठनात्मक प्रणाली नै हो । लेनिनवादी सङ्गठनात्मक प्रणालीको मूल आत्मा भनेको जनवादी केन्द्रियताको सिद्धान्त हो । एउटा कम्युनिस्ट पार्टीभित्र जनवादको उपयोग पूर्ण रूपमा गर्न पाइन्छ तर त्यस प्रकारको जनवादको प्रयोग अराजकतावादी प्रकारले होइन, पार्टीको विधान र अनुशासनमा रहेर गर्नुपर्दछ । जनवादका साथै केन्द्रियतालाई पनि पालना गर्नुपर्ने हुन्छ । यदि पार्टीका कुनै जिम्मेवार पदमा रहेका व्यक्तिले मात्र होइन, एउटा साधारण सदस्यले पनि पार्टीको विधान वा अनुशासन विपरीत काम गरेमा अनुशासनको कारबाही गरिने व्यवस्था गरिएको हुन्छ । त्यसकारण एउटा कम्युनिस्ट पार्टीका लागि अनुशासन महत्त्वपूर्ण कुरा हुन्छ ।

का. सन्तबहादुर नेपाली स्वयम्ले पनि लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई अपनाउने कुरा गर्नुहुन्छ । सोहीअनुसार एउटा पार्टीको जिम्मेवार पदमा रहेको व्यक्तिले असन्तुष्टिहरू प्रकट गर्दा वा लेखहरू लेख्दा पाटीृको नीतिअनुसार नै गर्नुपर्दछ । पार्टीका महत्त्वपूर्ण पदहरूमा बस्ने, अनि पार्टीनीतिसित मेल नखाने खालका अभिव्यक्तिहरूले पनि दिने यो अराजकतावादी सोचाइ हो । अराजकतावादको जोड बढीभन्दा बढी स्वतन्त्रतातिर हुन्छ । व्यक्तिको स्वतन्त्रतामा कुनै पनि प्रकारले आँच आउने वा नियन्त्रण गर्ने सोचाइ उनीहरूलाई मन पर्दैन । यो लेनिनवादी सङ्गठनात्मक प्रणाली विरुद्धको कुरा हो । जान वा अन्जानमा गल्ती गर्दा सामान्य आलोचना वा कारबाही हुनु स्वाभाविक कुरा हो । त्यही कुरालाई तिलको पहाड बनाएर पार्टीबाट अलग हुने वा पार्टीमा फुट पार्ने का. सन्तबहादुरहरूको प्रवृत्तिलाई कदपि सही मान्न सकिन्न ।

तेस्रो कुरा, अन्तर्वार्तामा उहाँले विशाल पार्टी बनाउने आफूहरूको लक्ष्य रहेको बताउनुभएको छ । त्यो विशाल पार्टी बनाउने श्रोतको रूपमा उहाँले नेकपा (मसाल) भित्र रहेका क्रान्तिकारीहरूका साथै क्रान्तिकारी माओवादी, विप्लव, वैज्ञानिक समाजवादी पार्टी आदिलाई लिनुभएको छ र आफूहरू उहाँहरू (विप्लव, वैद्य) सँग निकै नजिक रहेर काम गरिरहेको कुरा बताउनुभएको छ । जबकि उहाँहरू धेरै नजिक रहेको नेकपा (क्राीन्तकारी माओवादी) पक्ष जातीय सङ्घीयताको पक्षमा छ ।

वर्तमान बहुदलीय व्यवस्था र गणतन्त्रप्रति पनि उनको दृष्टिकोण सकारात्मक छैन । विप्लवले नयाँ जनवादी क्रान्ति होइन, सिधै समाजवादको कुरा गर्दछ । त्यो पनि जनमत सङ्ग्रहबाट समाजवाद स्थापना गर्ने कुरा गर्छ । पछिल्लो समय उनका (विप्लवका) अभिव्यक्तिहरू प्रतिगमनलाई पृष्ठपोषण गरिरहेको एमालेको नजिक रहेका छन् । नेकपा (मसाल) बाट उहाँहरूको पक्षमा लागेका र उहाँहरूको नजरमा क्रान्तिकारी देखिएका धेरैजसो उहाँहरूलाई छोडेर एमाले र माओवादीमा प्रवेश गरिसकेका छन् र बाँकी रहेकामध्ये पनि अत्यन्तै अस्थिर अवस्थामा छन् । यस्तो अवस्थामा जातिवादी सङ्घीयताको पक्षधर क्रान्तिकारी माओवादी, दिशाविहीन बनिरहेको विप्लव पक्ष र केही अराजकतावादीलाई लिएर उहाँहरूले कस्तो विशाल क्रान्तिकारी बनाउँदै हुनुहुन्छ ? सहजै अनुमान गर्न सकिन्छ ।

अन्तर्वार्तामा उहाँले कैयौँ झुट र हावादारी कुरा गर्नुभएकोछ; जस्तै : बागलुङमा करिब ९० प्रतिशत नेकपा (मसाल) का कार्यकर्ताहरू हाम्रो पक्षमा छन् आदि तर भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा उहाँहरूले प्राप्त गरेको मत परिणाम नै उहाँको कुरा कति असत्य हो भन्ने कुराको प्रमाण हो ।

त्यसकारण अन्तर्वार्तामा प्रश्नकर्ताले प्रश्न सोधे जस्तै का. सन्तबहादुरहरू क्रान्तिकारी पार्टी बनाउने होइन कि जति सकिन्छ, भत्काउनेतिर नै लागिरहनुभएको कुरा निश्चित छ । यसरी विचारविहीन, दिशाविहीनहरूको झुन्ड बनाएर क्रानितकारी पार्टी निर्माण कदापि हुने छैन । उहाँहरूको कार्य विशेष महाधिवेशनको भ्रम फैलाएर नेकपा (मसाल) मा अझै फुट पार्न प्रयत्न गर्ने षड्यन्त्र हो भन्ने कुरामा कुनै शङ्का छैन तर हामीलाई विश्वास छ, विगतका विभिन्न भ्रम र षड्यन्त्रहरूलाई चिर्दै पार्टीको रक्षा गर्न सफल नेकपा (मसाल) का सदस्यहरूले का. सन्तबहादुर नेपालीहरूको फुटपरस्त क्रियाकलापलाई प्नि सजिलै परास्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार