गिरीप्रसाद बुढा, अध्यक्ष, रक्तिम सांस्कृतिक अभियान
० सर्वप्रथम त रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएकोमा युगदर्शनको तर्फबाट यहाँलाई धन्यवाद ।
– मेरोतर्फ बाट पनि तपाईंलगायत युगदर्शन पत्रिकाका सबै साथिहरूलाई हार्दिक धन्यवाद ।
० साहित्यको क्षेत्रमा साधनारत तपाईंलाई एकाएक कला क्षेत्रको साङ्गठनिक जिम्मेवारी आइपर्दा अप्ठ्यारो त महसुस भइरहेको छैन ?
– साहित्य मेरो रुचिको विषय हो । साङ्गठनिक जिम्मेवारी पार्टी सङ्गठनको आवश्यकताको विषय हो । कुनै पनि व्यक्तिलाई पार्टी सङ्गठनले आवश्यक ठानेको सन्दर्भमा उक्त व्यक्तिलाई कुनै पनि खालको साङ्गठनिक जिम्मेवारी दिन सक्छ । अहिले मलाई पार्टी सङ्गठनले विश्वास गरेर वा यस सङ्गठनका लागि आवश्यक ठानेर यो साङ्गठनिक जिम्मेवारी सुम्पेको हो भन्ने लाग्छ । तसर्थ कुनै पनि साङ्गठनिक जिम्मेवारीले मेरो साहित्यको रुचिलाई कम गर्छ भन्ने मलाई लाग्दैन । यसमा पनि कला क्षेत्र भनेको साहित्यकै एउटा महत्वपुर्ण पाटो भएकाले मेरो साहित्यको रुचिलाई यसले झन् मदत गर्ने छ भन्ने लागेको छ । अहिले ममा आइपरेको जिम्मेवारीलाई अप्ठ्यारो विषयभन्दा पनि काम गर्ने अवसरको रूपमा लिएको छु ।
० अब तपाईंको प्राथमिकता के हुन्छ : साहित्य कि कला ?
– मैले माथि नै भनिसकेँ, कला साहित्यको एउटा महत्वपुर्ण पाटो हो । तसर्थ साहित्य र कलालाई सँगसँगै जोडेर लैजानुपर्दछ । यस्तो भन्दै गर्दा यो कुरालाई मैले साङ्गठनिक जिम्मेवारीको आधारमा पनि हेर्नुपर्ने हुन्छ । यसरी हेर्दा अहिले मैले सम्हालेको सांस्कृतिक सङ्गठनकै कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने हुन्छ । यो सङ्गठनका लागि गर्नु पर्ने थुप्रै काम छन् । एकातिर, यो सङ्गठनको संस्थागत तथा वैचारिक विकासमा ध्यान दिनुपर्ने छ भने अर्कातिर, यो सङ्गठनको साङ्गठनिक विकासका लागि देशभरि र विश्वका विभिन्न भागमा छरिएर रहेका हजारौँहजार नेपाली जनकलाकारलाई सङ्गठित गर्ने, एकताबद्ध बनाउने, नयाँ पुुस्ताका कलाकारलाई प्रगतिशील तथा जनवादी सांस्कृतिक आन्दोलन र विचारतर्फ आकर्षित गर्नेलगायतका कार्यलाई तीव्रता दिनुपर्ने छ । मेरो कार्यकालमा यिनै विषयलाई नै प्राथमिकता दिइने छ ।
० नेपालको वर्तमान प्रगतिशील वा जनवादी कलाको स्थितिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ।
– नेपालको वर्तमान प्रगतिशील वा जनवादी कलाको स्थिति अत्यन्तै कमजोर र चिन्ताजनक अवस्थामा छ । प्रगतिशील तथा जनवादी कलालाई डोर्याउने मुख्य कला सिद्धान्त भनेकै मार्क्सवादी-लेनिनवादी सौन्दर्यशास्त्र हो । आज नेपालको प्रगतिशील तथा जनवादी कला विस्तारै मार्क्सवादी-लेनिनवादी सौन्दर्यशास्त्रको दर्शनबाट विमुख भइरहेको छ । जनताका मन र संवेगमा कलाको माध्यमबाट द्वन्द्वात्मक भौतिकवादी चेतना जागृत बनाउने कार्य अत्यन्तै पछाडि परेको छ । आजको सामन्ती तथा पुँजीवादी समाज र यसको सामाजिक, सांस्कृतिक तथा आर्थिक संरचनाबाट नेपाली समाजलाई मुक्त बनाउन र नेपाली समाजलाई भोलिको सुन्दर समाज हेर्न र साम्यवादका सामाजिक सौन्दर्यपरक ज्ञान प्रदान गर्नका लागि प्रगतिशील तथा जनवादी कलाले जुन हस्तक्षेपकारी भूमिका खेल्नुपथ्र्यो, त्यो खेल्न सकिरहेको छैन ।
खासमा भन्नुपर्दा नेपालको प्रगतिशील वा जनवादी कला सामन्तवादी रूढिवाद र साम्राज्यवादी तथा पाश्चात्य संस्कृतिको दमनको सिकार भइरहेको छ । हिजोआज पाश्चात्य संस्कृति तथा कलाले स्थान नपाएको कुनै ठाउँ छैन । ठुला ठुला मेला महोत्सवदेखि प्रत्येक जनताको घरको चुलोसमेत पाश्चात्य संस्कृतिवाट मुक्त छैन । अर्कोतिर, प्रगतिशील तथा जनवादी कला भने कम्युनिस्ट पार्टीका कार्यक्रममा मात्र सीमित हुन पुगेको छ । ती पनि अधिकांश मार्क्सवादी-लेनिनवादी सौन्दर्य चिन्तनवाट विचलित अवस्थामा छन् । वर्गस्वार्थ र वर्गसङ्घर्षलाई उपेक्षा गर्दै वर्गसमन्वयको बाटोमा अगाडि बढ्न उद्यत चिन्तन प्रवृत्तिले प्रगतिशील तथा जनवादी कलामा प्रशस्त भ्रम सिर्जना गरिरहेको अवस्था छ । यसरी नेपालको जनवादी तथा प्रगतिशील कला सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ । तैपनि जनवादी तथा प्रगतिशील कलामा देखा परेको यो सङ्कट सधैँका लागि होइन भन्ने कुरामा हामी स्पष्ट हुन जरुरी छ किनकि प्रगतिशील तथा जनवादी कला कुनै पनि आदर्शवादी र रहस्यवादी कलाका लक्षणबाट मुक्त कला हो । सच्चाइ र वैज्ञानिक विचार प्रगतिशील तथा जनवादी कलाको मूल आधार भएकाले पनि अन्ततः प्रगतिशील तथा जनवादी कलाको विकास तथा विजय निश्चित छ ।
० रक्तिम नेपालको प्रगतिशील वा जनवादी सांस्कृतिक आन्दोलनको स्थापित नाम हो तर पछिल्लो समयमा यो सङ्गठन सुस्ताएको देखिन्छ । यस्तो हुनुका पछाडि के कस्ता कारण थिए ?
– मुख्य कारण त रक्तिम सांकृतिक अभियानमा काम गर्नका लागि पेसेवर कार्यकर्ताको अभाव हो भन्ने लाग्दछ । रक्तिम जस्तो सांस्कृतिक सङ्गठनलाई गतिशील बनाउन कुनै एक दुईओटा कार्यकर्ता मात्र भएर हुँदैन । यसका लागि सिङ्गै पेसेवर टिमको आवश्यकता पर्दछ । अहिले पनि हाम्रो रक्तिमभित्र यस खालको पेसेवर टिमको अभाव यथावत नै छ । अर्को कुरा, उत्पादित रक्तिमका कलाकारहरू विभिन्न समस्याका कारण लामो समयसम्म टिक्न र क्रियाशील रहन नसक्नुले पनि सङ्गठनको गतिमा सुस्तता आएको देखिन्छ । त्यसैगरी सङ्गठनभित्र अनुशासनहीन तथा फुटपरस्त प्रवृत्तिको प्रभाव बढ्नु अर्को कारण हो । लामो समय रक्तिमको नेतृत्वमा रहेर स्थापित भएका जीवन शर्मामा विचलन आउनु र उनले सिङ्गो रक्तिमलाई सङ्गठनको लागि भन्दा पनि आफ्नो निजी फाइदाका लागि उपयोग गर्न खोज्नुले पनि रक्तिममा केही निराशा र सुस्तता आएको देखिन्छ । त्यसैगरी पछिल्लो समयमा देखिएको सुविधाभोगी राजनीतिक प्रवृत्ति, कोरोना महामारी तथा लकडाउनको प्रभाव आदि धेरै कारणले रक्तिम सांस्कृतिक अभियानमा शिथिलता आएको हो भन्ने लाग्छ ।
० रक्तिम र जीवन शर्मालाई एकार्काको पर्याय ठान्नेहरू पनि छन् हामीकहाँ । यसबारे के भन्नुहुन्छ ?
– कुनै पनि आन्दोलनमा कैयौँ व्यक्तिहरूको महत्वपुर्ण भूमिका हुनु स्वभाविक छ तर त्यहीँ भूमिकाको आधारमा त्यो व्यक्तिलाई नै सबथोक हो भनी सर्वेसर्वा ठान्ने कुरा नितान्त व्यक्तिवादी चिन्तन प्रवृति हो । हामीले के बुझ्न जरुरी छ भने कुनै एक समयमा कुनै एक व्यक्तिले निर्वाह गरेको भूमिका उसले सधैँभरि कायम नराख्न पनि सक्दछ । जस्तै कि जीवन शर्मा कै उदाहरण हामीले देख्न सक्छौँ । हिजो रक्तिममा जीवन शर्माले जुन भूमिका निर्वाह गरेका थिए, त्यो भूमिकालाई आज उनले निरन्तरता दिन सकेनन् । उनी रक्तिमको आन्दोलन, अनुशासन र नैतिकताबाट विचलित हुन पुगे । यसैले कुनै निश्चित कालक्रममा कुनै व्यक्तिले खेलेको भूमिकाको आधारमा उसलाई देवत्वकरण गर्ने कुरा सही हुन सक्दैन । यस अर्थमा रक्तिम र जीवन शर्मालाई पर्यायको रूपमा हेर्ने दृष्टिकोण सही छैन ।
जीवन शर्मा एक व्यक्ति हो । क्रान्तिकारी आन्दोलनको बाटोमा कुनै व्यक्ति सधैँभरि रहन पनि सक्छ, नरहन पनि सक्छ तर रक्तिम एक आन्दोलन हो । कुनै व्यक्ति रहनु र नरहनुले यसलाई कुनै फरक पर्दैन । विचार पक्ष जीवित रहुञ्जेल यसलाई गतिशील बनाउन एकपछि अर्को हुँदै अनेक व्यक्तिको जन्म भइरहन्छ । यसैले हामी यो बुझ्न जरुरी छ कि कुनै व्यक्तिलाई विशेष भूमिकामा पुर्याउन उसको अगाडि पछाडि रहेको शक्ति, उसलाई मार्गदर्शन गर्ने विश्व दृष्टिकोण अर्थात् विचारतत्व आदि चिजले काम गरेको हुन्छ ।
यो कुरा स्पस्ट छ कि रक्तिम सङ्गठन स्थापनाका लागि पार्टीको राजनीतिक विचारले काम गरेको थियो । यसै विचारको प्रभावले रक्तिमभित्र जीवन शर्मा मात्रै होइन, अरू सयौँ कलाकारको प्रवेश भएको छ । रक्तिमको प्रवाहलाई अगाडि बढाउन तिनै सयौ कलाकारले पसिना बगाएका छन् । रक्तिमको यो सामूहिक विकास पद्धतिको इतिहासमा यदि कसैले रक्तिम र जीवन शर्मालाई पर्याय ठान्छ भने उसले रक्तिमको अवमूल्यन गरिरहेको छ भन्ने बुझ्नुपर्दछ । रक्तिमभित्र पसिना बगाउने सयौँ कलाकर्मीको अवमूल्यन गरिरहेको छ भन्ने बुझ्नुपर्दछ । पार्टीको वैचारिक आलोकले जीवन शर्मालाई निर्देशित गरेकै कारण र त्यो आन्दोलनमा समाहित थुप्रै कलाकारको योगबाट जीवन शर्मा जीवन शर्मा बन्न सफल भएका हुन । यस्तो अवस्थामा रक्तिम र जीवन शर्मालाई एकार्काको पर्याय ठान्नुको कुनै औचित्य छैन । भोलिका दिनमा पनि हामीले सङ्गठन र कुनै एक व्यक्तिलाई पर्याय जस्तो हुन नदिन सतर्क हुनुपर्दछ ।
० रक्तिमकै नामबाट अर्को सङ्गठन अस्तित्वमा छ भनिन्छ । उनीहरू र तपाईंहरूमाझको भिन्नता के हो ?
– जुन उद्देश्य र लक्ष्य बोकेर रक्तिमको स्थापना भएको थियो, त्यही उद्देश्य र लक्ष्य पूरा गर्न हामी कटिबद्ध छौँ । हामी सामन्तवादी तथा साम्राज्यवादी संस्कृतिको विरोधमा र सर्वहारावादी संस्कृतिको पक्षमा सङ्घर्षरत छौँ । हामी मार्क्सवादी-लेनिनवादी सौन्दर्य कलाको सिद्धान्तलाई सशक्त ढङ्गले माथि उठाएर अगाडि बढिरहेका छौँ । हामी रक्तिमको गौरवपुर्ण इतिहासलाई रक्षा गर्दै यसलाई झन् बलियो र धारिलो बनाउनका लागि कम्मर कसिरहेका छौँ । हाम्रो रक्तिम सङ्गठन पार्टी नीति र सिद्धान्तप्रति कतिबद्ध छ । यो सङ्गठन पार्टीको राजनीति र अनुशासनसँग जोडिएको छ तर हाम्रो सङ्गठन रक्तिमबाहेकको अर्को रक्तिम सङ्गठन भनेको हाम्रो सङ्गठनबाट भागेका अनुशासनविहीन र फुटपरस्त भगौडा तत्वको झुटको खेती मात्रै हो । त्यसलाई हामी खासै महत्व दिइरहेका छैनौँ किनकि त्यो रक्तिमकै नाम भजाएर बनाइएको जुन सङ्गठन छ नि, त्यसको कुनै उद्देश्य, लक्ष्य र औचित्य पनि छैन । त्यसको एक मात्र उदेश्य रक्तिमको क्रान्तिकारी धारलाई भुत्ते पार्नु रहेको छ । यो सङ्गठन केवल रक्तिम सङ्गठनभित्रका फुटपरस्त तथा अनुशासनविहीन तत्वले रक्तिमको गौरवपुर्ण इतिहासलाई भजाएर आफ्नो फुटपरस्त तथा अनुशासनविहीन चरित्रलाई ढाक्ने उदेश्यका साथ बनाइएको एउटा रक्तिमरूपी मुकुन्डो मात्रै हो । छिट्टै उनीहरूले बनाएको रक्तिमरूपी मुकुन्डो च्यातिने छ र उनीहरूको असली चेहरा देखा पर्ने छ ।
० प्रगतिशील वा जनवादी सांस्कृतिक आन्दोलनमा संयुक्त मोर्चाको आवश्यकता छ कि छैन ? भए यस्तो संयुक्त मोर्चा कसरी कुन आधारमा निर्माण हुन सक्छ ?
– प्रगतिशील वा जनवादी सांस्कृतिक आन्दोलनमा संयुक्त मोर्चाको आवश्यकतासम्बन्धी जुन प्रश्न उठाउनुभयो, यो हाम्रा लागि अत्यन्तै महत्वपुर्ण प्रश्न हो । हामी सबैलाई स्पस्ट नै छ कि हाम्रो साहित्य र कला राजनीतिको मातहतमा छ । अझ स्पस्ट रूपमा भन्ने हो भने हाम्रो रक्तिम सङ्गठन त झन् कम्युनिस्ट राजनीतिको मातहतमा छ । त्यसैले कम्युनिस्ट पार्टीले प्राप्त गर्ने राजनीतिक उद्देश्यका खातिर सांस्कृतिक आन्दोलन अगाडि बढाउनु रक्तिमको उद्देश्य रहनु स्वभाविक छ । तसर्थ हाम्रो विचारसँग सहमत हुने सबै गैरपार्टी लेखक र कलाकारसँग, पार्टीका शुभचिन्तक, निम्न पुँजीवादी लेखक र कलाकारदेखि लिएर सबै सामन्तवाद तथा साम्राज्यवाद विरोधी लेखक, कलाकारसँग हामी एकताबद्ध हुने कोसिस जारी राख्नुपर्दछ । यति मात्रै होइन, हाम्रो वरिपरि हाम्रो विचारसँग असहमत हुने अर्थात् हामीसँग विमति राख्ने अरू पनि कैयौँ लेखक कलाकार र उनीहरूका सङ्घसंस्थाहरू रहेका छन्, उनीहरूसँग समेत एजेन्डा मिल्ने सवालमा संयुक्त रूपमा मिलेर जाने हाम्रो प्रयत्न हुनुपर्दछ भने एजेन्डा नमिल्ने विषयमा उनीहरूको विरुद्ध वैचारिक सङ्घर्ष र आलोचनाको पद्धति अपनाउन बिर्सनु हुँदैन अर्थात् संयुक्त मोर्चा निर्माणको सन्दर्भमा हामी कामरेड माओले भने जस्तै आत्मसमर्पणवादी र पुच्छरवादी हुनुहँदैन । सँगसँगै वामपन्थी एकलकाँटे र सङ्कीणर्तावादी पनि हुनुहुँदैन । देश र जनताको हितलाई विशेषतः श्रमिक जनताको हितलाई ध्यानमा राखेर नै हामीले प्रगतिशील तथा जनवादी सांस्कृतिक आन्दोलनको क्षेत्रमा संयुक्त मोर्चा निर्माण गर्नुपर्दछ ।
० देशको राजनीतिक क्षेत्रमा तमाम प्रकारका विकृति छन् । कम्युनिस्ट भनिएका नेताहरूमा नै सांस्कृतिक रूपमा धार्मिक आचरण देखिन्छ । यस्तो परिघटनालाई कसरी लिनुभएको छ ?
– देशको राजनीतिक क्षेत्रमा देखा परेका तमाम प्रकारका विकृति, विसङ्गतिमध्ये भ्रष्टाचार सर्वत्र मौलाइरहेको एउटा मुख्य विकृति हो भन्ने लाग्छ । आज भ्रष्टाचार नगरी कुनै पनि मानिस बाँच्न र टिक्न पनि नसक्ने बाटोमा नेपाली समाजलाई अगाडि दोर्याउन खोजिँदै छ । भ्रष्टाचार मानिसको नैतिक आचरणसँग जोडिएको विषय भएकाले यो कुनै विकास निर्माणमा गुणस्तरहीन कार्य गर्नु, फर्जी कागज बनाउनु, कमिसन खानु, घुस लेनदेन गर्नु जस्ता आर्थिक विषयसम्म मात्र सीमित छैन, यो भ्रष्टाचारको हाँगो मानिसहरूको आस्था, विश्वास, नीति, सिद्धान्त र कार्यक्रमसम्म पनि फैलिएको छ । त्यसैले कम्युनिस्ट भनिएका नेताहरूमा नै सांस्कृतिक रूपमा धार्मिक आचरण देखिएको जुन प्रश्न तपाईंले उठाउनुभएको छ, यो भनेको उनीहरूमा विकास भएको भ्रष्ट आचरण हो । माक्र्सवादी सिद्धान्तप्रति उनीहरूले अपनाएको गद्दारी हो किनभने धर्ममा रूढिवाद घोलिएको छ । यही रूढिवादले जनताका अवचेतन मनलाई लठ्ठ बनाइराख्न सक्षम हुन्छ । यसैले त मार्क्सले धर्मलाई अफिमको सङ्ज्ञा दिएका छन् । यो भनेको कम्युनिस्टले जनताको अवचेतन मनलाई धार्मिक रूढिवादबाट मुक्त बनाउनुपर्छ भनेको हो ।
जनतालाई रूढिवादबाट मुक्त नगरेसम्म सांस्कृतिक रूपान्तरणको लक्ष्य प्राप्त गर्न असम्भव छ । यस्तो विषयमा आफूलाई कम्युनिस्टको नेता ठान्नेहरू नै धार्मिक आचरणमा लीन हुन पुग्नु भनेको उनीहरूमा आएको घोर सांस्कृतिक विचलन हो । अब नेपालमा आफूलाई कम्युनिस्ट भन्ने नेताहरूका लागि सांस्कृतिक रूपान्तरणको विषय गौण भइसकेको छ । उनीहरूका लागि सत्तामा पुग्नु, सरकार चलाउनु प्रमुख विषय बनेको छ । सत्ता टिकाउनका लागि, सरकार जोगाउनका लागि उनीहरू जस्तोसुकै मूल्यमान्यता पनि त्याग्न तयार भइरहेका छन् । आफ्नो स्वार्थका लागि जस्तोसुकै भ्रष्टाचार गर्न पनि तयार भइरहेका छन् । यसरी आफूलाई कम्युनिस्ट भन्ने कतिपयले सांस्कृतिक रूपमा नै धार्मिकलगायतका जुन पतनशील आचरण देखाइरहेका छन्, यसले उनीहरू असल कम्युनिस्ट होइनन् । ती केवल नक्कली कम्युनिस्ट हुन् भन्ने कुरा सिद्ध भइरहेको छ र पनि उनीहरूले आफूलाई परिवर्तनको पहरेदार भनेर भ्रम दिन कहिल्यै थाक्दैनन् । यस्तो अवस्थामा सांस्कृतिक रूपान्तरणका लागि गरिने सङ्घर्षलाई उचाइमा उठाउन हामी प्रगतिशील तथा जनवादी संस्कृतिकर्मीको दायित्व झन् बढेर गएको छ ।
० रक्तिम सांस्कृतिक अभियानका आगामी कार्यक्रमहरू के कस्ता छन् ?
– रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको २०७९ साउन १६ गते बुटवलमा सम्पन्न तेस्रो राष्ट्रिय भेलाले आगामी दिनका लागि थुप्रै कार्यक्रम तय गरेको छ । त्यसानुसार मुख्य गरी प्रदेश, जिल्ला हुँदै गाउँ, नगर र टोलसम्म सङ्गठन विस्तार गर्ने, सांस्कृतिक टोली बनाउने, विधागत प्रशिक्षण सञ्चालन गर्ने, रक्तिमको मुखपत्र र गीतिएल्बमलाई निरन्तरता दिने, प्रदेश स्तरमा नाट्य, नृत्य र सङ्गीत प्रशिक्षण केन्द्र स्थापना गर्ने, २०७९ चैत २४, २५ र २६ गते बुटवलमा चौथो राष्ट्रिय सम्मेलन गर्ने आदि रहेका छन् ।
० देशको राजनीतिक परिस्थितिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
– देशको राजनीतिक परिस्थिति निकै जटिल मोडबाट गुज्रिरहेको छ । आज नेपालको राजनीतिले गणतन्त्रको झन्डा बोकेको छ तर जनताको अवस्थामा खासै परिवर्तन आउन सकेको छैन । विदेश पलायन हुने युवाको लर्को झन् बढेको छ । श्रमजीवी जनताको अवस्था झन् झन् दयनीय बन्दै गइरहेको छ । महङ्गीले सीमा नाघेको छ । भ्रष्टाचार संस्थागत हुँदै गइरहेको छ । शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत कुरामा गरिब जनताको पहुँच छैन । सरकार राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा जिम्मेवार देखिँदैन । उसलाई विदेशी साम्राज्यवादको इसारामा चल्न ठिक्क भइरहेको छ । परिणामस्वरूप अहिलेको राजनीति पनि उनै सामन्त दलाल पुँजीति वर्गको हित गर्ने राजनीति बनेको छ । यसरी सरकारमा जाने राजनीतिक दल र यसको नेतृत्वले पुँजीवादी गणतन्त्रको न्यूनतम मान्यतालाई समेत आत्मसात गर्न नसक्दा अहिलेको गणतन्त्रले समेत गरिब वर्गको वर्गस्वार्थलाई सम्बोधन गर्ने कुरा आकाशको फल जस्तै बनेको छ ।
यसरी २०६२-६३ सालको आन्दोलनपश्चात देखा परेको राजनीतिक अवस्थाबाट जनताले जुन अपेक्षा गरेका थिए, त्यो अपेक्षाको न्यूनतम अंशसमेत पूरा नभएपछि नेपाली जनतालाई वर्तमान राजनीतिक परिस्थितिले निरास बनाउँदै लगिरहेको छ र यसले गणतन्त्रप्रति नै जनताको वितृष्णा पैदा हुने वातावरण सिर्जना हुँदै गइरहेको छ ।
ठिक यसैबेला वर्तमान राजनीतिप्रति देखापरेको जनताको मनोविज्ञानलाई मौकाको रूपमा लिँदै राजावादी तथा प्रतिगामी तत्वले गणतन्त्रकै विरुद्धमा उभिएर देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयत्न गरिरहेका छन् । यसरी जनताको आन्दोलनबाट प्राप्त गणतन्त्र खतरामा परिरहेको छ । गणतन्त्र सँगसँगै हाम्रो राष्ट्रियता पनि झन् झन् खतरामा पर्दै गइरहेको छ । अमेरिकाको दबाबमा राष्ट्रघाती एमसिसी सम्झौता पास भएको छ । विदेशीहरू, विशेषगरी साम्राज्यवादी देश भारतको स्वार्थानुकूल हुने गरी राष्ट्रघाती नागरिकता विधेयक पास भएको छ । नेपालको भूमि कालापानी क्षेत्रमा भारतीय सेना बस्दै आएको छ । भारतद्वारा सीमा अतिक्रण रोकिएको छैन ।
त्यसैगरी देशको शासन सङ्घीय प्रणालीअन्तर्गत भएको हुँदा यसले पनि हाम्रो देशको राष्ट्रियतालाई झन् झन् कमजोर बनाउँदै लगिरहेको छ । सङ्घीयताकै कारण हाम्रो देश आर्थिक रूपले टाट पल्टिदै छ । यसरी समग्रमा भन्नुपर्दा वर्तमान देशको राजनीतिक परिस्थिति देश र जनताको हितमा छैन । यस्तो अवस्थामा तत्काल नेपाली जनताले वर्तमान राजनीतिभित्र मौलाइरहेको विकृति र विसङ्गति विरुद्ध जागृत हुँदै गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयताको खारेजीका लागि सङ्घर्ष गर्नु आजको आवश्यकता रहेको छ ।
० देशको राजनीतिमा वामपन्थी समर्थनको बाहुल्यतामा रहेका बेला जनवादी सांस्कृतिक आन्दोलन कसरी अगाडि बढाउनुपर्दछ भन्ने लाग्दछ यहाँलाई ?
– पक्कै पनि तपाईंले भने जस्तै हाम्रो देशको राजनीतिमा वामपन्थी विचार र आस्थाप्रति नेपाली जनताको ठुलो समर्थन रहेको छ तर दुःखका साथ भन्नुपर्दछ कि जनताको यो समर्थनलाई नेपालका ठुला भनिने वामपन्थी शक्तिले सही धारमा हिँडाउन नसकिरहेको अवस्था छ । स्वयम् वामपन्थी शक्तिहरू कम्युनिस्ट मूल्यमान्यताबाट विचलित भई दक्षिणपन्थी भासमा फसिरहेको अवस्था छ । अब उनीहरूका लागि वर्गसङ्घर्ष र जनवादी सत्ता स्थापना गर्ने कुरा विस्तारै टाढा हुँदै गइरहेको छ । यसरी नेपालका आफूलाई वामपन्थी भन्ने शक्तिहरू पुँजीवादी वर्गस्वार्थानुरूप स्थापित राज्यसत्ताको इमानदार कारिन्दा बनेका छन्, जसले गर्दा देशमा एकातिर पाश्चात्य पुँजीवादी संस्कारले विस्तारै बलियो जरा गाड्दै गइरहेको छ भने अर्कोतिर जनवादी सांस्कृतिक आन्दोलन र यसको साङ्गठनिक पक्ष कमजोर हुँदै गइरहेको छ । यस्तो अवस्थामा जनवादी सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउनु भनेको चुनौतीपूर्ण विषय बनेको छ । तैपनि यो चुनौतीलाई सामना गर्दै जनवादी सांस्कृतिक आन्दोलनलाई सशक्त बनाउन हामी सबै अगाडि बढ्नुपर्दछ । यसका लागि जनवादी सांस्कृतिक आन्दोलनको साङ्गठनिक पक्षलाई व्यापक र मजबुत बनाउनु आजको मुख्य आवश्यकता हो ।
यसका साथै वामपन्थीको नामबाट देखा परेका दक्षिणपन्थी संशोधनवादी विचारलाई परास्त गर्न दक्षिणपन्थी संशोधनवादी तत्वसँगको विचारधारात्मक सङ्घर्षलाई जनवादी सांस्कृतिक आन्दोलनको माध्यमबाट घनीभूत ढङ्गले अगाडि बढाउनु अर्को आवश्यकता रहेको छ । वर्तमान परिवेशमा जनवादी सत्ता स्थापना गर्नका लागि चल्ने राजनीतिक लडाइँलाई मदत पुग्ने संस्कार र संस्कृति निर्माण गर्नु जनवादी सांस्कृतिक आन्दोलनको मुख्य उदेश्य हुनुपर्दछ । जनतालाई पुराना सामन्ती तथा रूढिवादी संस्कार र संस्कृतिबाट मुक्त बनाउन र जनवादी संस्कार र संस्कृतिप्रति आस्थावान् गराउन वर्तमान जनवादी सांस्कृतिक आन्दोलनको भूमिका हुनुपर्दछ । यसका लागि आम जनताको बिचमा जनवादी संस्कृतिको प्रचार प्रसारलाई व्यापकता दिन जरुरी छ । यसरी वर्तमानमा सर्वहारा वर्गको जनवादी सत्ता स्थापना गर्नका लागि र भविष्यमा जनवादी सत्तालाई जोगाउन पनि जनवादी सांस्कृतिक आन्दोलनको महत्वपूर्ण भूमिका रहने भएकाले हामीले जनवादी सांस्कृतिक आन्दोलनलाई यही रूपमा सङ्गठित गर्दै अगाडि बढ्नुपर्दछ ।
० प्रगतिशील साहित्य र कलामाझको सम्बन्धलाई सामञ्जस्यतापूणर् तरिकाले अगाडि बढाउन के गर्नुपर्ला ?
– हामीले साहित्य र कलालाई दुई फरक फरक कोणबाट हेर्नुहुँदैन । कलासम्बन्धी सम्पूर्ण विषयवस्तु साहित्यअन्तर्गतकै बहुरूपी पक्ष हुन् । तसर्थ साहित्य र कला एकआपसमा कुनै न कुनै कोणबाट अन्तरसम्बन्धित हुन्छन् । साहित्य र कलालाई सँगसँगै जोडेर अगाडि हिँडाउनुपर्दछ । प्रगतिशील साहित्य र कला दुवैलाई एउटै उद्देश्य र एउटै वैचारिक पक्षले निर्देशित गर्दै भोलिको सुन्दर समाजको तत्वबोध गराउने सशक्त हतियारको रूपमा विकसित गरेर लैजानुपर्दछ ।
० प्रगतिशील वा जनवादी अभियानमा लागेका कलाकर्मीमा आधारभूत रूपमा के कस्ता तत्व हुनुपर्दछ भन्ने लाग्दछ यहाँलाई ?
– बुर्जुवा कलाकर्मीको मुख्य विशेषता कलाको माध्यमबाट नाफा आर्जन गर्नु हो । कस्तो खालको कलाबाट बढीभन्दा बढी सम्पत्ति आर्जन हुन सक्छ । त्यस आधारमा उनीहरूले आफ्नो कलालाई बेच्दछन् । उनीहरूले कला कलाको लागि मात्र हुनुपर्छ; कला मनोरञ्जनका लागि हुनुपर्छ; कलामा राजनीति हुनुहुँदैन भन्छन् तर उनीहरूले नै सबैभन्दा बढी कलाको माध्यमबाट पुँजीवादी वर्गस्वार्थको रक्षा गर्ने राजनीतिलाई मलजल गरिरहेका हुन्छन् । मुख्यगरी यसै विषयमा नै प्रगतिशील वा जनवादी अभियानमा लागेका कालाकर्मीले आफुलाई भिन्न देखाउन सक्नुपर्दछ । प्रगतिशील तथा जनवादी कलाकर्मीहरू आफ्नो कलालाई नाफा आर्जन गर्न तथा सम्पत्ति आर्जन गर्ने कुरासँग कहिल्यै जोड्नु हुँदैन । यसका साथै कलालाई केवल कलाको रूपमा मात्रै वा मनोरञ्जनको साधनको रूपमा मात्रै नभएर मानव जीवनका लागि र राजनीतिक उदेश्य पूर्तिका लागि समेत अगाडि बढाउनुपर्दछ । बिनाहिचकिचाहट सर्वहारा वर्गको वर्गस्वार्थलाई सेवा गर्ने राजनीतिक उद्देश्यसँग प्रगतिशील तथा जनवादी कलाकर्मी एकाकार हुनैपर्दछ । यसका अतिरिक्त प्रगतिशील वा जनवादी अभियानमा लागेका कलाकर्मीमा अरू पनि आधारभूत मान्यतालाई आफ्ना दैनिक जीवनशैली बनाउन जरुरी छ । जस्तो कि श्रमप्रति आस्था र विश्वास गर्नु, अध्ययनशील तथा चिन्तनशील हुनु, क्रान्तिकारी आन्दोलन र सङ्घर्षमा भाग लिनु, वर्गिय पक्षधरता लिनु, अनुशासित र नैतिकवान हुनु, जनताको बिचमा गएर सिक्नु र सिकाउनु आदि गुणले प्रगतिशील तथा जनवादी कलाकार लैस हुँदै जानुपर्दछ ।
० अन्तमा, युगदर्शन मिडियामार्फत जोड दिनुपर्ने केही विषय छन् कि ?
– रक्तिम सांस्कृतिक अभियानसँग जोडिएका जति पनि कलाकर्मी कामरेडहरू हुनुहुन्छ, सबैसँग म के भन्न चाहान्छु भने हामी प्रत्येकसँग कुनै न कुनै विशिष्ट कला हुन सक्छ । हामीसँग नाच्न गाउन सक्ने कला, अभिनय गर्ने सक्ने कला, सङ्गीत भर्न सक्ने कला, बाजा बजाउन जान्ने कला, साहित्य लेख्न सक्ने कला, चित्र कोर्न सक्ने कला आदि अनेक कला हुन सक्छ तर हामी पार्टी प्रतिबद्ध जनकलाकारसँग यी कला भएर मात्र पुग्दैन, हामीसँग पार्टी अनुशासन र नैतिकता पालना गर्ने कठोर जीवनशैली पनि हुनु जरुरी छ । हामीभन्दा अगाडिका नेतृत्वले अपनाएका राम्रानराम्रा सबै कार्यशैलीबाट पाठ सिक्दै हामी अगाडि बढ्नुपर्छ । सबै संस्कृतिकर्मी कामरेडले आआफ्नो ठाउँबाट पार्टी अनुशासन र नैतिकतालाई कडाइपूर्वक पालना गर्दै प्रगतिशील तथा प्रगतिवादी सांस्कृतिक आन्दोलनको झन्डालाई माथि उठाउन यो युगदर्शन मिडियामार्फत आह्वान गर्न चाहान्छु ।
अन्त्यमा, यो लोकप्रिय मिडिया युगदर्शनमार्फत मेरा विचार जनतामाझ पुर्याउने अवसर प्रदान गर्नुभएकोमा पुनः युगदर्शन मिडिया र यससँग सम्बन्धित सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।