उपसभामुखको प्रस्ताव आएपनि स्वीकार्दैनौं : सिंह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेललाई उपसभामुख बनाउन पार्टीले पहल गरेको हल्लामा कुनै सत्यता नरहेको बताउनुभएको छ ।

बिहीबार एक टेलीभिजनलाई दिनुभएको अन्तर्वार्तामा महामन्त्री सिंहले उपसभामुखको प्रस्ताव कसैले लिएर आएपनि त्यसलाई अस्वीकार गर्ने स्पष्ट पार्नुभयो । सिंहले भन्नुभयो, ‘उपसभामुखको पद एउटा सम्मानित पद हो । हाम्रा ५/७ जना साथीहरु संसदमा भएको भए त्यो पद लिन त्यति बेठिक हुनेथिएन । तर संसदमा एक जना मात्रै भएको अवस्थामा उपसभामुख हुन उचित हुँदैन । किनभने उपसभामुख भइसकेपछि संसद वा बाहिर पनि बोल्न पाईँदैन ।’

महामन्त्री सिंहले संसदमा पार्टीका विचार राख्न उपसभामुख पदले बाधा हाल्ने स्पष्ट पार्नुभयो । महामन्त्री सिंह विरुद्ध विभिन्न सञ्चार माध्यममा पौडेललाई उपसभामुख बनाउन प्रचण्ड–ओलीलाई भेट गरेको भन्ने समाचारमा कुनै सत्यता नरहेको पनि सिंहले प्रष्ट पार्नुभएको छ । ‘मेरो प्रचण्ड वा ओलीसँग लामो समयदेखि भेट वा फोनमा समेत कुरा भएको छैन । उपसभामुख बनाइदिन प्रताव गर्नु भनेको त धेरै परको विषय हो ।’

केही समय यता महामन्त्री सिंह र नेकपा (मसाल) का विरुद्ध लगातार विभिन्न अफवाह फैलाइने गरिएको छ । त्यसैमध्येको एक हो, दुर्गा पौडेललाई उपसभामुख वा मन्त्री बनाउन पहल गरेको भन्ने हल्ला । यस विषयलाई भने राष्ट्रिय जनमोर्चाले अस्वीकार गरेको छ भने दुर्गा पौडेलले समेत खण्डन गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार