एमएससी नेपालको लागि अभिशाप हुनेछ : खनाल

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष ठाकुर खनालले एमएससी नेपालको लागि अभिशाप हुने बताउनु भएको छ । खनालले एकता समाज अन्तर्गत अखिल भारत नेपाली विद्यार्थी संघ मध्य पश्चिमोत्तर क्षेत्रीय संगठन समितिको दोस्रो भेलामा प्रमुख अतिथिको आसनबाट मन्तव्य दिंदै सो धारणा व्यक्त गर्नुभएको हो । भेला १२ जनवरी २०२० का दिन जयपुरमा सम्पन्न भएको हो ।

प्रमुख अतिथि खनालले विद्यार्थीहरुको समस्याको बारेमा बोल्दै विद्यार्थी समाजको सचेत वर्ग भएको हुनाले उनीहरुले समाज र राष्ट्रमा हुने विभिन्न किसिमका गतिविधि बारे छिट्टै सही र गलतको पहिचान गरी आफ्नो धारणा व्यक्त गर्छन् । जसले गर्दा आम जनमानसलाई विषय वस्तु बुझ्न सजिलो हुने बताउनु भयो ।

देशको वर्तमान परिस्थिति बारे बोल्दै अहिले चर्चित विषय एमएससी नेपालको लागि अभिशाप हुने र त्यसको हरेक तह र तप्काबाट विरोध गर्नु पर्ने बताउनु भयो । कृष्टी राईको सञ्चालन, विशाल खड्काको अध्यक्षता ग्रहण, निकिता थापाको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य मोहन गिरी, नारायण शर्मा, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष अजय रेश्मी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष बेल बहादुर रजाली, सचिव नारायण ग्वाली, केन्द्रीय महिला विभागकी हुमा रजाली, रक्तिम केन्द्रीय विभाग सचिव रिम राना, केन्द्रीय खेल विभागका टंक बहादुर थापा, महिला विभाग मध्य पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष कल्पना थापा, जनजाति क्षेत्रीय विभागबाट बल बहादुर खासु, रक्तिम क्षेत्रीय विभागबाट नारायण पौडेल हुनु हुन्थ्यो ।

भेलाले कृष्टी राईको अध्यक्षतामा ९ पूर्ण सदस्य र ३ सल्लाहकार रहेको अखिल भारत नेपाली विद्यार्थी संघ मध्य पश्चिमोत्तर क्षेत्रीय संगठन समिति चयन गरेको छ । जसको घोषणा अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष अजय रेश्मीले गरनु भएको थियो । जसमाः सचिव– निकिता थापा (जयपुर दक्षिण), कोषाध्यक्ष– सृष्टी राई (भिवाडी), सदस्यहरु पूरण बगाले (भिवाडी), निकिता परियार (जयपुर दक्षिण), विजय खड़का (जयपुर उत्तर), मुस्कान भण्डारी (रेवाडी), सिन्धु शर्मा (जोधपुर), नितिन थापा (जयपुर दक्षिण), सल्लाहकार विशाल खड़का (जयपुर उत्तर), पुष्पा गुरुंग (जयपुर उत्तर) र एक स्थान रिक्त राखिएको छ ।

नयाँ समितिलाई बधाई दिने क्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष बेल बहादुर रजालीले विद्यार्थी देशको कर्णधार भएकोले देशको भविष्य कस्तो बनाउने भन्ने कुरा धेरै हदसम्म विद्यार्थी वर्ग माथी निर्भर रहने बताउनु भयो । आफु स्वयं अखिल भारत नेपाली विद्यार्थी संघबाट सांगठनिक जीवनको शुरुवात गरेको बताउँदै विद्यार्थी संघको गौरवमय इतिहासलाई कायम राख्ने जिम्मा नयाँ पुढस्तामा आएकाले उनीहरुले सफलतापूर्वक यो जिम्मेवारी पूरा गर्नु पर्ने बताउनु भयो ।

त्यसैगरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य नारायण शर्मा, महिला विभाग मध्य पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष कल्पना थापा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जोधपुर नगर समितिका अध्यक्ष याम बहादुर नेपालीले नयाँ समितिलाई बधाई एवं शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार