गठबन्धनमा इमान्दारिताको प्रश्न

English English Nepali Nepali

गठबन्धन गर्नुपर्छ तर सबैभन्दा पहिले गठबन्धन केका लागि गर्ने, कसकाे विरूद्धमा र को-कोसँग गर्ने भन्नेबारे योजना पनि बनाउनुपर्छ। दलहरूको बीच छलफल गरेर मात्र गर्नुपर्ने हुन्छ । गठबन्धन भनेको त चुनावी तालमेल हो, जसले सरकार बनाउँदासम्म एकअर्कालाई सहयोग पुगोस्। तर यहाँ त कतिपय अवस्थामा अरूसँग मिलेर गठबन्धनका घटक दलहरूलाई नै हराइयो भने त्यसलाई गठबन्धन भन्न मिल्दैन।

हचुवाकाे भरमा गरेको गठबन्धनबाट केही सिटको लाभ भएपनि मुख्य रूपमा नैतिकता र उदेश्यमा फाइदाको सट्टा नोक्सान नै हुने गर्छ। विगतमा भएको गठबन्धनका केही दलहरूलाई मौका प्रशस्त भएको कुरा सत्य हो।

माओवादी केन्द्रले प्युठानमा नेकपा मसाल वा राष्ट्रिय जनमोर्चालाई सखाप पार्न एमालेसँग गरेको तालमेलले यसबारे पुष्टि गरेकै छ । माओवादीले अहिले पनि नेपाली कांग्रेसले आफ्नो भनाइ नमाने एमालेसँग पनि गठबन्धन गर्न सकिन्छ भन्दै आएका छन्। उनीहरूले भन्दै आएको कुरा यदि कांग्रेसले मानेन भने राप्रपासँग भएपनि उनीहरूको तालमेल हुनेछ।

आखिर प्रतिगन कोबाट हुँदैछ? प्रतिगमन भनेको कस्तो खालको हो त? माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनको विरोधमा गठबन्धन गरेकै छैनन्। बरू कताबाट, कुन चरणबाट सरकारमा पुग्न सकिन्छ, प्रधानमन्त्री वा राष्ट्रपति बन्न सकिन्छ भन्नेमा छन्।

प्रचण्डले अहिले पनि भन्दै हिंडेका छन्, ‘चुनावपछि हामी सडकमा जान्छौं।’ आखिर सडकमा उनीहरू कुन उदेश्यले जान्छन्र भन्ने कुरा गठबन्धन घटकहरूले जान्नै पर्ने हो, तर त्यसबारेमा कसैलाई थाहा छैन। माओवादी केन्द्रको उदेश्य थाहा छैन भने उनीहरू अग्रगामी कसरी भए? प्रचण्ड र केपी ओलीमा के फरक भयो? वास्तविक रूपमा भन्नुपर्दा फरक केही पनि छैन।

उनीहरूको सत्ता संघर्षमा हामीले आफ्नो नैतिकता गुमाउने किन? बरू सबै जिल्लाबाट चुनाव लडेर राजमोले जे जति सिट ल्याए पनि कम्तिमा आफ्नो नैतिकता र क्रान्तिकारी छवि जोगाउनुपर्छ। उनीहरूले कहिलेकाहीँ इमानदारिता देखाए पनि धेरैजसो बेइमानी गर्दै आएका छन्।

यो अवस्थामा राजमोसँग फेरि पनि धोका नहोला भन्न गाह्रै छ। उनीहरूले नेकपा मसाललाई सखाप पार्न आपसमा अघोषित एकता त गरेका छैनन्? यसबारे पनि सङ्का गर्न सकिन्छ उनीहरूको व्यवहारबाट। कुनैताका प्युठानमा नेकपा मसालको गड थियो। तर उनीहरूले जहाँ राजमो र मसालको गड देख्छन्, त्यो गडको विरूद्धमा भित्रभित्रै योजनाबद्ध रूपबाट लागेका हुन्छन्। उनीहरूले अहिले पनि प्युठानलाई निशाना बनाउने षड्यन्त्र गर्ने छन्।

हामीले बुझ्नै पर्ने कुरा के हो भने गठबन्धन सकभर वामपन्थीहरूको बीचमा हुनुपर्दछ। अहिले सबै पार्टी समग्रमा एकैनासे देखिन्छन्। तर एउटा क्रान्तिकारी जसले देशको गरीब, श्रमजीवी वर्गको प्रतिनिधित्व गर्छ, त्यस्तो पार्टीले राष्ट्रियता, गणतन्त्र र नैतिकतालाई सर्वोपरि राखेर मात्र गठबन्धन गर्नुपर्ने हुन्छ।

यदि राजमोले ७७ जिल्लामा नै उम्मेदवार उठाए पनि हार होला, भनेको जस्तो जित नहोला तर नैतिकताको रक्षा अवश्य पनि हुन सक्छ। बागलुङ र प्युठानमा बिना गठबन्धन पनि राजमोले जित्न सक्छ। अन्य दलहरूसँग गठबन्धन पनि गर्ने र हार पनि बेहोर्नुपर्छ भने किन गठबन्धन गर्ने? कांग्रेस र प्रचण्डको दोहाेराे चरित्र, उता माधवकुमार नेपालको अविश्वासिलो व्यवहारले गर्दा आउने दिनहरूमा राजमोलाई समस्या पर्न सक्छ।

राजमोले राजावादीहरूसँग एकता नगर्ने र प्रतिगमनको विरोधमा, गणतन्त्रको हितमा सहकार्यको नीति अगाडि सारेको छ, त्यो स्पष्ट छ। संघीयताको जन्मकालदेखि प्रष्ट रूपमा संघीयताको विरोध गर्दै आएको छ। बरू राजमोलाई प्रदेशस्तरिय निर्वाचनको महत्व गोण नै हुनुपर्छ।

हुन त एउटा क्रान्तिकारी पार्टीको लागि संसदीय निर्वाचनले त्यति महत्व हुँदैन, जति उसका लागि क्रान्तिको महत्व हुन्छ। राजमोले भन्दै पनि आएको छ, चुनाव भनेको उपयोग गर्ने माध्यम नै हो। जसले क्रान्तिकारी आधार बनाउन सक्छ।

विगतमा केपी ओलीले गरेको प्रतिगामी पाइलाकै परिणाम यो पाँच दलीय गठबन्धनको जन्म भएको हो। तर देशमा प्रतिगमनको खतरा अहिले पनि ज्यूँका त्यूँ छ, साथै जुन डर थियो त्यही हुन गयो। संसदले एमसीसीलाई पारित गरायो र अहिले नागरिकता विधेयक पनि पारित गराएको छ।

अहिले देशले विदेशी हस्तक्षेपको झटारोसमेत झेल्नु परेको छ। यस्तो विषम परिस्थितिमा राजमोले आफ्नो नैतिकताको रक्षा पनि गर्न सक्नुपर्छ। प्युठान र बागलुङमा तीन वटै पार्टीले राजमोलाई दुश्मन शक्तिको रूपमा दृष्टीगत गर्दछन्। त्यो हिसाबले दुश्मनको दुश्मन दोस्त भएझैं उनीहरूको बीच अघोषित एकता हुनसक्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न।

राजमो त्यसबारेमा अलि बढी नै चिन्तित हुनुपर्दछ भन्ने लाग्दछ। अहिले दलहरूले सत्ताको लागि गरेको गठबन्धन हो। प्रतिगमनको विरूद्धमा ल्याएको मात्र आवरण हो। तर राजमोले सत्ताको लागि होइन गणतन्त्र र देशको रक्षाको लागि गरेको एकता हो, त्यो व्यवहारले प्रष्टाएको छ।

विगतका अवस्थाबाट शिक्षा लिएर अहिलेको निर्वाचनमा जानुपर्ने हुन्छ। जुन राजनीतिक पार्टी देश र जनताको हितमा संघर्ष गर्दै आएको छ, त्यो पार्टीको लागि संसदीय चुनाव सामान्य एउटा संघर्षको माध्यम मात्र हुने भएकोले संसदीय अखडाले उसलाई प्रभाव पार्ने गर्दैन। अहिले पनि राजमोलाई आफ्नो नैतिकताको चिन्ता छ। साथै देश र जनताको हितविपरीत राजमो जान सक्ने छैन।

अन्य ठुला दलहरू संसदीय रङ्गमञ्चमा भास्सिएका हुन्छन्। उनीहरूको लागि देश र जनताभन्दा पनि पद, प्रतिष्ठा, सत्ता र भत्ताको चिन्ता हुन्छ। यस्ता पार्टीहरू जो नैतिक रूपमा पतन भएका छन्। ती पार्टीहरूसँग इमानदारिताको विश्वास गर्नु भनेको मुर्खता नै हो।

अब दलहरूले देश जनताको हितमा र व्यवस्थाप्रति चिन्तित भएर समस्याको सहि विश्लेषण गर्दै ठोस र ऐतिहासिक निर्णय गर्न सक्नुपर्छ। पार्टीको चिन्ता दुश्मनले गर्दैन। पार्टीको चिन्ता परिवारले गर्छ, शुभ चिन्तकले गर्छ र सकेसम्म पार्टीले आफ्नो क्रान्तिकारी छविलाई जोगाउने प्रयत्न गर्नुपर्छ।

चुनाव जितेर देश र जनताको समस्या अहिले समाधान हुने छैन, केवल चुनावलाई क्रान्तिकारी आधार तयार पार्ने उदेश्यले उपयोग गरिन्छ।राजमोले सधैँ एमाले-कांग्रेससँग र विगतमा माओवादीसँग पनि धोका खाएकोले अहिलेको निर्वाचनमा सचेत बनेर पाइला चाओस् भन्ने मात्र यो लेखकको सुझाव हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार